Logo
७ बैशाख २०८१, शुक्रबार
(February 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्कमा भारतीय दादागिरी अन्त्य गराउने ओलीको घोषणा

काठमाडौं, ५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिण एसियामा भारतीय दादागिरी अन्त्य गर्नुपर्ने बताएका छन् ।पार्टी मुख्यालयमा सुरु भएको एमालेको पोलिटब्यूरो बैठकमा प्रस्तुत आफ्नो १० पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा ओलीले सार्कसहित अन्तर्राष्ट्रिय फोरममा पाकिस्तानलाई एक्ल्याउने भारतीय नीतिको विरोध गर्दै यसलाई रोक्ने उल्लेख गरेका छन् ।

पाकिस्तानलाई अलग–थलग पार्ने उद्देश्यका साथ भारतले अन्य छिमेकीलाई पनि गोलबन्द गर्ने प्रयास गरिरहेको टिप्पणी गर्दै ओलीले यस्तो अवस्थामा नेपालले कुनै पनि शक्ति राष्ट्रहरुको स्वार्थको सहयोगी नबनी स्वतन्त्र विदेशनीति अवलम्बन गर्ने तथा सबै छिमेकी तथा मित्र राष्ट्रहरुसँग स्वतन्त्र र पारस्परिक समझदारीयुक्त सम्बन्धलाई अगाडि बढाउनुपर्ने भनेका छन् ।

सार्क, बिमस्टेकजस्ता संगठनलाई भारतीय स्वार्थ पूरा गर्ने साधन बनाउन खोजिएको विश्लेषण गर्दै उनले नेपालले त्यस्तो स्वार्थ पूरा हुन नदिने स्पष्ट रुपमा उल्लेख गरेका छन् ।

‘भारतको रुची सार्कलाई प्रभावकारी बनाउनुको साटो विमस्टेक तथा बीबीआइएन जस्ता उपक्षेत्रीय संगठनहरुलाई प्रोत्साहन गर्नेमा देखिएको छ,’ ओलीद्वारा प्रस्तुत प्रतिवेदनको छैठौं पृष्ठमा भनिएको छ- ‘यसभित्र पाकिस्तानलाई सबैतिरबाट अलग गर्ने भारतीय उदेश्य रहेको महसुस गर्न सकिन्छ ।’  साथै सार्क, बिमस्टेकजस्ता मञ्चहरुलाई ठूला मुलुकहरुको स्वार्थ साधनको माध्यम बन्नबाट रोक्ने दिशामा हरसम्भव प्रयास गर्नुपर्नेमा ओलीले जोड दिएका छन् ।

प्रकाशित मिति: Feb 16, 2017

प्रतिक्रिया दिनुहोस्