नहुने भयो फागुन १४ मा स्ववियुको निर्वाचन
काठमाडौं, फागुन ५ । फागुन १४ मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नहुँने भएको छ । समाचार श्रोतले निर्धारित मिति परिवर्तन हुनसक्ने बताए । त्रिभुवन विश्वविद्यालयले बिहीबार दिउँसो दुई बजे प्रमुख विद्यार्थी संगठनका नेताहरुलाई छलफलमा बोलाएको छ ।
स्ववियू निर्वाचन स्थगनको माग गर्दै आएका असन्तुष्ट विद्यार्थी संगठनलाई चुनावमा सहभागी गराउन निर्वाचन पाँच दिन पछि सार्ने सहमति प्रमुख दल निकट विद्यार्थी संगठनका नेताहरुबीच भएको छ । त्यहीँबाट त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको नयाँ तालिका सार्बजनिक गर्नेछ ।
त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका यसअघि नै सार्बजनिक गरेको थियो । विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले त्यसको विरोध गर्दै आएको थियो । शिक्षाअध्यक्ष डा. सुधा त्रिपाठीको गाडीमा आगजनी नै भएको थियो । प्रमुख दलका नेताहरुले समयमै चुनाव गर्न सहमति गरेका थिए ।
प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने बताए । न्यौपानेका अनुसार असन्तुष्टपक्ष चुनावमा सहभागी हुने सुनिश्चता गरेपछि मात्र निर्धारित मितिको चुनाव सार्ने सहमति बनेको हो ।
यद्यपी यसको अन्तिम निर्णय भने त्रिभुवन विश्वविद्यालयले गर्नेछ । नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने र विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने सहभागी थिए ।
हिजो मात्र केन्द्रिय क्याम्पस किर्तिपुरका विद्यार्थी संगठनका नेताहरूले तोकिएको समयमा स्ववियू निर्वाचन नभए उप–कुलपतिको गाडी जलाउने चेतावनी दिएका थिए । बुधबार पत्रकार सम्मेलन गरेर विभिन्न विद्यार्थी संगठनका नेताहरूले यस्तो चेतावनी दिएका थिए ।