Logo
१५ चैत्र २०८०, बिहीबार
(February 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१७ देखि २७ फागुनसम्म चीन-नेपाल सैन्य अभ्यास 

काठमाडौं, फागुन ४  । चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच गर्ने भनिएको १० दिने संयुक्त सैन्य अभ्यास यही फागुन १७ देखि २७ गते अर्थात् २८ फेब्रुअरी देखि १० मार्चसम्म हुने भएको छ। नेपाली सेनाले पहिलो पटक चिनियाँ सेनासँग गर्ने संयुक्त सैन्य अभ्यासका लागि सैन्यवृत्तमा जारी गरिएको गोप्य ‘सर्कुलर’का आधारमा सो मिति खुलेको हो ।

‘सर्कुलर’मा संयुक्त सैन्य अभ्यासको मिति तोकिएको भए पनि यता, नेपाली सेनाका प्रवक्ता सहायक रथी तारा बहादुर कार्की भने चिनियाँ सेनासँगको सैन्य अभ्यासको मिति तय भइनसकेको बताउँछन् । ‘चिनियाँ सेनाका अधिकारीसँग प्रारम्भिक(इनिसियल) बैठकमा दुवै पक्षले एजेण्डा राख्ने काम भएको छ। कसरी, कहिले, कहाँ र कति संख्यामा सैन्य अभ्यास गर्ने भन्ने बारेमा भने फाइनल मिटिङ बसेर तय हुन्छ’ उनले भने, ‘चाँडै चिनियाँ सैन्य अधिकारीसँग बैठक हुँदैछ।’ तर नेपाली सेनाको उच्च स्रोतले भने संयुक्त सैनिक अभ्यास १७ फागुनदेखि हुने दाबी गरेको छ ।

काठमाडौंको वरिपरि हुने भनिएको संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाको भैरव गण सहभागी हुने जनाइएको छ। ‘प्रतिकार‘नाम दिइएको संयुक्त सैन्य अभ्यास प्रतिविद्रोह, जंगल वारफेयर, सैनिक कूटनीति, नागरिक–सैनिक सम्बन्ध, पेसागत क्षमता अभिवृद्धिलगायत विषय समेटिने छन् ।  चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले पुस १४ गते पत्रकार सम्मेलन गरी नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच सन् २०१७ भित्र सैन्य अभ्यास हुने घोषणा गरेका थिए। त्यसपछि चिनियाँ सैनिक अधिकारी संयुक्त सैनिक अभ्यासको प्रारम्भिक छलफल गर्न नेपाल आए।

नेपाल आएका चिनियाँ जनमुक्ति सेनाका सिनियर कर्णेल लियो ज्याम्लिनयाङको टोलीले माघ २८ गतेबाट सैन्य अभ्यास गर्ने प्रस्ताव नेपाली सेना समक्ष राखेका थिए। तिब्बत कमाण्ड अन्तरगत तालिम शाखाका स्टाफ निर्देशक समेत रहेका लियोले राखेको प्रस्ताव भन्दा २० दिन पछि संयुक्त सैन्य अभ्यास गर्ने टुंगो लागेको छ। यद्यपी सैन्य अभ्यासको बारेमा भारतीय चासो बढेपछि त्यसको मिति अहिलेसम्म औपचारिक रुपमा सार्वजनिक गरिएको छैन।

सैनिक प्रवक्ता कार्कीले आपसी समझदारीबाट ‘फाइनल प्लानिङ कन्फ्रेन्स’ बैठक बसेपछि तालिमसम्बन्धी विस्तृत जानकारी बाहिर ल्याउने जनाए।  त्यस्तै चिनियाँ सेनाका मेजर जनरल ली उ चुनको नेतृत्वमा अर्को टोलीले पनि माघ ९ गते प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई भेटेर सैन्य अभ्यास सम्बन्धी छलफल गरेको थियो। यी प्रारम्भिक बैठकपछि सैन्य अभ्यासको एजेण्डा तय भइसकेको प्रवक्ता कार्कीको भनाइ छ।

नेपालखबरलाई प्राप्त नेपाली सेनाले पत्राचार गरेको एक सर्कुलरमा भने फागुन १७–२७ गतेसम्म १० दिने संयुक्त सैन्य अभ्यासका लागि एयरपोर्टमा पास उपलब्ध गराउन भनिएको छ। नेपाली सेनाले यसअघि भारतीय सेना र अमेरिकी सेनासँग मात्र सैन्य अभ्यास गर्दै आएको थियो। सडक निर्माणमा भने बेलायती सेनासँग पनि नेपाली सेनाले संयुक्त अभ्यास गरेको प्रवक्ता कार्कीले उल्लेख गरे।

चिनियाँ सेनासँगको संयुक्त सैन्य अभ्यासपछि नेपाली सेना विश्वका शक्तिशाली मुलुकका दक्ष सेनाको अनुभव र प्रविधिसँग मात्र जानकार हुने मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा अझै व्यवसायिक हुँदै जाने नेपाली सेनाको विश्वास छ। नेपाल र चीनबीच दौत्य सम्बन्ध कायम भएको ६३ वर्षको अवधिमा पहिलो पटक हुन लागेको संयुक्त सैन्य अभ्यासलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा पनि महत्वका साथ हेरिएको छ ।

भारतसँग ‘सूर्यकिरण’
नेपाली सेनाले सबैभन्दा बढी भारतीय सेनासँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ। नेपाल–भारतका सेनाबीच सन् २०११ देखि संयुक्त सैन्य अभ्यास हुँदै आएको हो। गत अक्टोबर ३१ देखि नोभेम्बर १३ सम्म रूपन्देहीको सालझण्डीमा नेपाल र भारतका सैनिकबीच ‘सूर्यकिरण १०’ नामक सैन्य अभ्यास सम्पन्न भएको थियो ।

सुरुमा भारतीय सेनाको काउन्टर इन्सर्जेन्सी एण्ड जंगल वारफेयर स्कूल मेजोरममा मार्च २०११ मा संयुक्त अभ्यास भएको थियो। त्यसयता हरेक बर्ष नेपाल–भारत सेनाबीच संयुक्त सैन्य अभ्यास आयोजना हुँदै आएको छ। सन् २०१२ जुनमा भारतको चौवत्तिया उत्तराखण्डमा यस्तै सैन्य अभ्यास भएको थियो।

त्यसपछि भारतको पिथौरागढमा सेप्टम्बर–अक्टोबर २०१३ मा संयुक्त अभ्यास भएको थियो। नेपालले प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालय, अमलेखगंजमा डिसेम्बर २०११ र डिसेम्बर २०१२ मा पनि संयुक्त अभ्यास आयोजना गरेको थियो। भारतीय सेनासँग नेपाली सेनाले आधा दर्जनभन्दा बढी संयुक्त सैन्य अभ्यास गरिसकेको छ। भारतीय सेनासँग अर्को सैन्य अभ्यास केही महिनापछि भारतमा हुने प्रवक्ता कार्कीले बताए।

अमेरिकी सेनासँग ‘ब्यालेन्स नेल’
नेपाली सेनाले अमेरिकी सेनासँग ‘ब्यालेन्स नेल’नामक संयुक्त सैन्य अभ्यासमा सहभागी हुँदै आएको छ। गत माघ १८ गते ‘ब्यालेन्स नेल १७–३०११’ नाम दिइएको संयुक्त अभ्यासमा नेपाली सेनाको महावीर गण (रेन्जर) र अमेरिकी सेनाको प्यासिफिक कमान्ड सहभागी भएको थियो । त्यसअघि नेपाल र अमेरिकाबीच सन् २०१५ नोभेम्बर ३ देखि १७ दिनसम्म काठमाडौंको छाउनी, पोखरा, लुक्ला र सगरमाथाको आधारशिविरमा संयुक्त सैन्य अभ्यास सम्पन्न भइसकेका छन् । @नेपालखबरमा समाचार छ ।

प्रकाशित मिति: Feb 15, 2017

प्रतिक्रिया दिनुहोस्