Logo
८ बैशाख २०८१, शनिबार
(February 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जर्वजस्ती भएपनि स्ववियु निर्वाचन गराउन प्रधानमन्त्री तयार

काठमाडौं , फाल्गुण ४ । बिभिन्न राजनीतिक संगठनहरुले स्वयू निर्वाचन सार्नुपर्ने र उमेरहदमा पुर्नरविचार गर्नुपर्ने माग गरिरहका बेला बल प्रयोग गरेर भए पनि स्ववियु निर्वाचन गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार देखिएका छन् ।  बुधबार बिहानै प्रधानमन्त्री दाहालले तीन प्रमुख पार्टीका शीर्ष नेता र विद्यार्थी संगठनका नेताहरूलाई समेत छलफलका लागि बोलाएका थिए ।

छलफलमा प्रधानमन्त्रीले तालाबन्दी र विद्यार्थीबीच असहमति दीर्घकालीन समस्या भएको बताउँदै यसैको बहानामा निर्वाचन सार्न नहुने तर्क गरेको अनेरास्ववियुका प्रचार विभाग प्रमुख सुदीप शर्माले जानकारी दिए । नेकपा माओवादी विप्लव निकट विद्यार्थी समूह तथा नेवि संघको असन्तुष्ट पक्षले क्याम्पसमा तालाबन्दी गरेर निर्वाचन कार्यतालिका प्रभावित पारेपछि प्रधानमन्त्रीको यस्तो धारणा आएको हो ।

“जस्तोसुकै अवरोध हटाएर स्ववियु निर्वाचन गराउन प्रधानमन्त्री तत्पर देखिनुभएको छ,” उनले भने, “निर्धारित मिति १४ फागुनमै निर्वाचन गर्ने गरी कार्यतालिका हेरफेर गर्न उहाँले निर्देशनसमेत दिनुभएको छ ।” विप्लव निकट माओवादीको थवाङमा बन्दसत्र चलिरहेको र २८ वर्षे उमेर हदको विरोध गर्दै नेवि संघको एक समूहले क्याम्पसमा ताला लगाएका कारण चुनाव अनिश्चित बनेको थियो ।

त्यस्तै, मंगलबार त्रिभुवन विश्वविद्यालयअन्तर्गत उपत्यकाभित्रका आंगिक क्याम्पस प्रमुखहरूले पनि तालाबन्दीका बीच निर्वाचन गर्न नसक्ने त्रिविलाई जानकारी गराएका थिए । विप्लव निकट विद्यार्थी संगठनले आफूहरू स्ववियु चुनावको विरोधी नरहेको र निर्वाचन कार्यतालिका एक हप्ता पर सारे ताला खोलिदिने बताएकाले विद्यार्थी संगठनहरू पनि एक हप्ता निर्वाचन पर सार्न लचिलो भएका थिए ।

तर, प्रधानमन्त्री जसरी पनि तोकिएकै मितिमा निर्वाचन गराउन तत्पर देखिएपछि निर्वाचन हुने वातावरण बनेको शर्माको भनाइ छ । उमेदवार मनोनय, दाबी विरोध लगायत निर्वाचन कार्यतालिका तीन– चारदिन पर सारेर १४ गते नै निर्वाचन गराउन प्रधानमन्त्रीले निर्देशन दिएपछि नेवि संघले ताला खोलेको संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।

“नेवि संघको समूहले लगाएको ताला खोलिसकेको छ । मलाई लाग्छ, अरु साथीहरूले पनि ताला खोल्नुहुन्छ । निर्वाचन फागुन १४ भित्रै हुन्छ,” उनले भने । नेविसंघका सबै नेता कार्यकर्तालाई निर्वाचनमा खटिन निर्देशन दिइसकेको भन्दै उनले निर्वाचन हुनेमा शंका नगर्न आग्रहसमेत गरे ।  त्यस्तै, अखिल क्रान्तिकारीका महासचिव वीरेन्द्र बस्नेतले स्ववियु निर्वाचनका लागि सरकारले सम्पूर्ण सहयोग गर्ने बचन दिइसकेकाले निर्वाचन हुनेमा आफूहरु ढुक्क भएको बताए ।

प्रकाशित मिति: Feb 15, 2017

प्रतिक्रिया दिनुहोस्