Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मध्यरातमा महिला सांसदलाई फोन गर्ने एसपी तानिए

काठमाडौं, २७ माघ । प्रहरी आईजीपी उपेन्द्रकान्त अर्यालको नातेदार भएकै कारण क्षमता नभएर पनि महोत्तरी जिल्लाको प्रहरी प्रमुख बन्न पुगेका एसपी नलप्रसाद उपाध्याय मदिराले मातेर मध्यरातमा महिला सांसदलाई फोन गरेपछि मुख्यालय तानिएका छन् । उनलाई जगेडापुलमा थन्क्याइएको छ ।

एसपीको सरुवा निस्कँदैमा नलप्रसाद उपाध्यायलाई महोत्तरीजस्तो जिल्ला दिएपछि धेरै एआइजी र सिनियनर डिआइजीहरु नै चकित परेका थिए । महोत्तरीबाट एसपी उपाध्यायलाई मुख्यालय तानिनुलाई त्यहाँका प्रहरी कर्मचारीहरु र उनलाई नातेदार भएकै कारण महत्वपूर्ण ठाउँमा पठाउनु हुँदैन भन्ने वरिष्ठ अधिकारीहरुले आश्चर्य मान्नुपर्ने केही छैन भन्ने प्रतिक्रिया दिएका छन् ।

डिएसपीका रुपमा मनाङमा कार्यरत रहँदादेखि नै र नवलपरासी या चापागाउँ वृत्तमा कार्यरत रहँदा होस् उनी सधैं विवाद र बद्नाम भएका प्रहरी अधिकृत हुन् । पैसाका लागि उनी निकृष्ट निर्णय र पदीय दरिद्रता देखाउँछन् भन्ने कुरा उनले यी तीन ठाउँमा गरेका हर्कत र भएका बदनामहरुले पुष्टि गर्दछ ।

चापागाउँमा हाजिर भएको चौथो दिनमा नै पेशेवर जुवा खेलाउने रमेश महर्जनले उनलाई नीलो रंगको पल्सर मोटरसाइकल किनिदिएका थिए । यो घटनाको जानकारी चापागाउँका त्यति बेलाका प्रहरीहरुमात्र नभएर जावलाखेलका प्रहरी अधिकृतहरुलाई पनि थाहा पाए पनि आईजीपीको नातेदार भएको कारण उनको सिकायत कसैले गर्न सकेका थिएनन् ।

रमेश महर्जन चापागाउँ क्षेत्रमा पेशेवररुपमा जुवा खेलाउने ठूला जुवा सञ्चालक हुन् । उनको जुवा सञ्चालनलाई सहज र पक्राउ नगरिदिएबापत ठूला रकम तत्कालीन डिएसपी नलप्रसाद उपाध्यायले लिने गरेको कुरा त्यतिबेला छापाहरुमा प्रकाशित भएका थिए ।त्यसपछिका डिएसपी प्रमोद खरेलले त आफ्नै सरकारी निवासमा नै जुवाडेहरु बोलाएर पेशेवररुपमा जुवा खेलाउँथे । यो कुरा पनि प्रहरी मुख्यालयसम्म नआएको होइन तर, यतिबेला कसैले ती जुवा अखडाहरु नियन्त्रण गर्न चाहेनन् ।

यसरी खुलेआम जुवा सञ्चालन गराएर रकम असुल्ने उपाध्याय र खरेलजस्त अधिकृतहरु प्रहरीमा अन्य धेरै नभएका पनि होइनन् । आइजी हुन् वा राजनीतिक नेता तिनको आड भरोसा पाएपछि यस्ता अधिकृतहरु बढुवा हुने मात्र होइन कार्यालय प्रमुख पनि निरन्तर भइरहन पाउँछन् ।

त्यसको उदाहरण यिनीहरु बनेका छन् । एसपी भएलगत्तै उपाध्यायलाई हेटौंडा गणको गणपति बनाइयो भने त्यसपछि एकाध महिना मेट्रोमा कार्यरत उनी तस्करीको अखडा मानिने नवलपरासी जिल्लाको एसपी बन्न पुगे । त्यतिबेला उपाध्यायले तस्करीको लाइन चलाएर प्रहरी संगठनकै बदनाम गराउँदै तस्करहरुसँगको रकम उनले चितवनमा आफ्ना भान्जा पर्ने व्यक्रिलाई बुझ्न लगाउँने, खबर गोलमेचमा छ ।

नवलपरासीमा रकम बुझ्दा अरुले थाहा पाउने र तस्कर एवम् व्यापारीहरुले अख्तियारलाई गुहारेर आफू घुस लिँदालिँदै रंगेहात पक्राउ पर्न सक्ने भन्दै उनले तस्करहरुलाई चितवन पठाउन लगाई भान्जालाई तस्कर र व्यापारीहरुबाट रकम लिन लगाउँथे । यो तथ्य अहिले पनि नवलपरासीका व्यापारीहरु र तस्करहरुले कुरा गर्छन् ।

यस्ता बद्नाम एसपीलाई आइजिपी अर्यालले फेरि पहरा गणको एसपी बनाएर अर्को बद्नामी अर्यालले बोक्ने जमर्को गर्दैछन् । पहरा गणको एसपी भएकै अवस्थामा उनलाई पुनः महोत्तरीको प्रहरी प्रमुख बनाएर पठाइएको थियो । सरुवा भएको केही महिनामा आर्थिक र फोन काण्ड लागेर मुख्यालय तानिनु पर्यो ।

प्रकाशित मिति: Feb 9, 2017

प्रतिक्रिया दिनुहोस्