Logo
८ बैशाख २०८१, शनिबार
(February 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लापरबाहीबारे गुनासो पोख्दा नापी कर्मचारीद्धारा सेवाग्राही कुटपिट

जनकपुरधाम, माघ २७  । घरको नक्सा सम्बन्धी काम गराउन नापी कार्यालय धनुषा पुगेका दुईजना सेवाग्राहीमाथि कुटपिट भएको छ। नक्सा सम्बन्धी कामका लागि नापी कार्यालय पुगेका जनकपुर उपमहानगरपालिका–१२ कुवाका ५५ वर्षीय ललनप्रसाद साह र उनका छोरा अमितमाथि कार्यालयका प्रमुखसहितका कर्मचारीहरुले कुटपिट गरेका हुन् ।

लगातार चार दिनदेखि नक्सा सम्बन्धी काम गराउन कार्यालय धाइरहेका साहले कर्मचारीको लापरबाहीबाट दिक्क भएर गुनासो पोख्दा उल्टै कुटिएका हुन् ।  नक्सा लिन कार्यालय पुगेका साहलाई कर्मचारीहरुले काम गरिदिनुको साटो उल्टै विभिन्न बहाना गरेर आलटाल गर्न खोजेपछि उनी केही कर्मचारीप्रति आक्रोशित भएका थिए ।

कर्मचारीको लापरबाहीबारे गुनासो पोख्दै गर्दा नापी कार्यालयका प्रमुखसहितका कर्मचारीले साहलाई निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । कार्यालय सहयोगी मोहन यादवले प्रहार गर्दा साहको घुँडामा चोट लागेको छ । साहलाई कुटपिट भइराख्दा उनका छोरा अमित बुवालाई बचाउने प्रयास गरेका थिए । सोही क्रममा उनलाई पनि कुटपिट गरिएको छ ।

तर, कार्यालय प्रमुख जोशीले आफूले सेवाग्राहीमाथि हातपात नगरेको प्रतिक्रिया दिएका छन्। घटनापछि तनावग्रस्त बनेको नापी कार्यालयमा प्रहरी टोली तत्काल पुगेर अवस्थालाई साम्य बनाएको थियो । घाइते साहलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ। उनका छोरा अमितलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको छ ।

घटनामा संलग्न कर्मचारीहरुलाई भने प्रहरीले नियन्त्रणमा लिएको छैन । सेवाग्राहीलाई कुटपिट गर्ने कर्मचारीलाई प्रहरीले सोधपुछ गर्न समेत नियन्त्रणमा नलिँदा अन्य सेवाग्राही र स्थानीयहरुले आक्रोश व्यक्त गरेका छन्।

प्रकाशित मिति: Feb 9, 2017

प्रतिक्रिया दिनुहोस्