Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समझदारी पत्रमा हस्ताक्षर: ‘काठमाडौंमा मेट्रो रेल नचल्ने, स्काइ मोनोरेलको सम्भावना ’

गुगल तस्विर, स्कार् माेनाेरेलकाे नमुना

काठमाडौं, २६ माघ । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकामा मेट्रो रेलको सम्भावना नरहेको भन्दै ‘स्काइ मोनोरेल’को सम्भावना अध्ययन गर्ने भएको छ । स्काइ मोनोरेलको सम्भाव्यता अध्ययनका लागि महानगरपालिकाले चिनियाँ कम्पनी बाइबिडी साइमेक्ससँग समझदारी पत्रमा बुधबार हस्ताक्षर गरेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए।

‘साँघुरा गल्लीहरु भएको बस्ती ,अतिघना भौतिक आवादी र भूकम्पीय जोखिमका कारण काठमाडौंमा मेट्रो रेलको सम्भावना देखिएन,’ कार्कीले भने, ‘स्काइ ब्रिजका जस्ता करिब ४० फिट अग्ला पोलहरुमा ट्रयाक बिच्छ्याएर चलाउन सकिने मोनोरेलको सम्भाव्यता अध्ययनलाई अघि बढाइएको हो ।’

कम्पनीले आफ्नै काठमाडौंको कुनै १० किलोमिटरको दूरीको सडक छनोट गरी स्काइ मोनोरेलको सम्भाव्यता अध्ययन गरी ३ महिनाभित्र प्रतिवेदन बुझाउने समझदारी भएको छ । त्यसपछि कम्पनीले काठमाडौंका कुन कुन स्थानमा स्काइ मोनोरेल गुडाउन सकिन्छ भन्ने विषयमा करिब १ वर्षभित्र सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पार्ने छ ।

उनका अनुसार साइमेक्सले आफ्नो चिनियाँ ज्वाइन्टभेन्चरको कम्पनी वाइबीडीमार्फत स्काइ मोनोरेलको सम्भाव्यता अध्ययन गर्ने छ । साइनेक्सका तर्फबाट अध्यक्ष प्रबलजंग पाण्डेले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । सम्भाव्यता अध्ययनपछि सम्भवन हुने ठाउँमा तत्कालै स्काई मोनोरेल निर्माण कार्यअघि बढाइने र २ वर्षभित्रै रेल कुदाउने गरी महानगरले तयारी गरिहेको पनि उनले बताए ।

‘काठमाडौंमा करिब ३० देखि ४० फिट अग्ला खम्बाहरुमा जडित मोनोरेल ट्रयाकमा १ सय २० किलोमिटर प्रतिघण्टाका दरले कुद्ने रेल डिजाइन गर्न सकिने प्रारम्भीक अध्ययनहरुले देखाएका छन्,’ कार्कीले भने, ‘मेट्रो रेलको कुरा गरिए पनि काठमाडौंको जमीनमुनी रेल कुदाउन हरेक हिसाबले जोखिमपूर्ण र गाह्रो देखिएको छ।’ काठमाडौंभित्र भएर बग्ने नदी किनारका रुटहरुमा जमीनकै सतहमा कुद्ने रेल भने निर्माणका लागि सम्भव रहेको उनको भनाई छ ।

प्रकाशित मिति: Feb 8, 2017

प्रतिक्रिया दिनुहोस्