Logo
१२ बैशाख २०८१, बुधबार
(February 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मधेस र थरुहट’ उच्चस्तरीय जाँचबुझ आयोग टीकापुरमा

धनगढी, माघ २६ । तराई मधेस र थरुहट क्षेत्रमा संविधान जारी हुँदाताका भएका घटना छानबिन गर्न गठित उच्चस्तरीय तराई मधेस थरुहट जाँचबुझ आयोगको टोली आइतबार टीकापुर पुगेको छ । टोलीका सदस्य खुसीबहादुर चौधरीले न्यायाधीश नियुक्त भएपछि आयोगको सदस्यबाट राजीनामा दिएकाले आयोगमा अहिले ६ सदस्यमात्र छन् ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल अध्यक्ष रहेको ६ सदस्यीय जाँचबुझ आयोगको टोलीमा अध्यक्ष लालसहित राष्ट्रिय अनुसन्धान विभागका पूर्वडीआईजी सुखचन्द्र झा, नेपाल प्रहरीका पूर्वएआईजी नवराज ढकाल, पूर्वसरकारी वकिल सूर्यलाल कोइराला र सदस्यसचिव गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी छन् ।

टोलीले आइतबार नै टीकापुर घटनामा मारिएका अढाइबर्से टेकबहादुर साउदको परिवारसँग भेटेर घटनाबारे सोधपुछ गरेको छ । ‘हामीले बालकको घरमा गएर सोधपुछ गर्‍यौं’, आयोग अध्यक्ष लालले भने । टोलीले भदौ ७ गते घटना भएको पशुहाटबजार र टीकापुर नगरपालिका आसपासका क्षेत्रको पनि अनुगमन निरीक्षण गरेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित अन्य प्रहरी मारिएको घटनास्थल पशुहाटबजार आसपासको अनुगमन निरीक्षण गरेको, स्थानीयसँग सोधपुछ र भेटघाट गरेको अध्यक्ष लालले बताए । आयोगलाई तराई मधेस र थरुहट आन्दोलनमा भएका मानवअधिकार उल्लंघनका ११७२ उजुरीको जाँचबुझ गरी ६ महिनाभित्र प्रतिवेदन पेस गर्ने म्यान्डेट दिइएको छ । भदौ ४ गते टीकापुर नजिकैको दुर्गौलीमा अखण्ड सुदूरपश्चिम पक्षधर र थरुहट पक्षधरबीच झडप भएको थियो भने भदौ ७ गते टीकापुरमा अढाइबर्से टेकबहादुर र ८ जना प्रहरी मारिएका थिए ।

टीकापुर अनुगमन निरीक्षणपछि दुई खालका भनाइ देखिएका छन् । अखण्ड सदूरपश्चिम पक्षधरको र थरहट पक्षधरले बेग्लाबेग्लै भनाइ राखेका छन् । ‘हामीले दुवै पक्षका भनाइ टिपेका छौं’, लालले भने । आयोगले छानबिनपछि सबै तथ्य प्रतिवेदनमा उल्लेख गर्ने भन्दै आयोगका अध्यक्ष लालले सर्सर्ती हेर्दा टीकापुर घटना आक्रोशमा भएको देखिएको बताए । ‘टीकापुर घटना जानीजानी गराएजस्तो छैन, आक्रोशपूर्ण घटना देखिन्छ’, उनले भने, ‘यसमा दुवै पक्षबीच आक्रोश रहेकोजस्तो देखियो ।’

टोली बुधबारसम्म टीकापुरमा बस्नेछ । टोलीले बुधबार नागरिक समाजसँग पनि अन्तरक्रिया गर्ने भएको छ । ‘टीकापुरको नागरिक समाजद्वारा आयोजित कार्यक्रममा हामी पनि सहभागी हुन्छौं’, अध्यक्ष लालले भने । ‘टीकापुर घटना जानीजानी गराएजस्तो छैन, आक्रोशपूर्ण घटना देखिन्छ’, आयोग अध्यक्ष लालले भने, ‘यसमा दुवै पक्षबीच आक्रोश रहेकोजस्तो देखियो ।’

आयोगलाई ६ महिनामा प्रतिवेदन बुझाउन भनिए पनि छानबिनका लागि समय छोटो हुने अध्यक्ष लालले बताए । ‘अब ११७२ मुद्दाको छानबिन गरी प्रतिवदेन तयार पार्न तोकिएको समयमा सकिँदैनजस्तो लागिरहेको छ’, उनले भने । आयोग गठनको सूचना असोज २ गते राजपत्रमा प्रकाशित भएको थियो ।

आयोगलाई कात्तिक २ गतेदेखि जाँचबुझ गरी चैत मसान्तभित्र प्रतिवेदन बुझाउने समय दिइएको थियो । यसअघि सरकारले टीकापुर घटना छानबिन गर्न राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले तोकेकै समयमा प्रतिवेदन बुझाइसकेको भए पनि सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन ।

सरकारले देवीराम शर्मा नेतृत्वको छानबिन प्रतिवेदन सार्वजनिक गरे दुई समुदायको सद्भावमा नकारात्मक असर पर्ने भन्दै प्रतिवेदन सार्वजनिक नगरेको दाबी गर्दै आएको छ । टीकापुर घटनामा संलग्न रहेको भन्दै फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारू, तत्कालीन थारू कल्याणकारिणी सभा कैलालीका अध्यक्ष भानुराम चौधरीसहित २० जना थारू नेता, अगुवा र कार्यकर्ता कैलाली कारागारमा छन् ।

प्रकाशित मिति: Feb 8, 2017

प्रतिक्रिया दिनुहोस्