Logo
१३ बैशाख २०८१, बिहीबार
(February 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा बम विष्फोट गराउने कमाण्डर नेपालमा पक्राउ

पवनेश्वर तिवारी, वीरगन्ज । नेपाल भारत सिमा स्थित बारा जिल्लासँग सिमाना जोडिएको घोडासन रेल्वे ट्रयाकमा बम विष्फोट गराउने समसुल होदालाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौंको महाराजगञ्जमा लुकिछिपी बसेको अवस्थामा होदालाई नियन्त्रणमा लिइएको बारा प्रहरीले जानकारी दिएको छ । भारतका प्रहरी खोजीमा रहेको होदा गिरोह नाइकेसहित प्रहरी फन्दामा परेको हो । नेपाल प्रहरीले उक्त गिरोहका नाइके समसुल होदासहित चार जनालाई नियन्त्रणमा लिएको हो ।

बारा, कलैया–८ का होदाले साउदी अरेबियाको दुबईमा बसेर नेपाली र भारतीयको गिरोह चलाउँदै आएका थिए। होदा गिरोहमाथि नेपालमा हत्या र भारतमा आतंकवादी गतिविधि सञ्चालन गरेको आरोप छ। दुबई प्रहरीको सहयोगमा मध्यक्षेत्रीय प्रहरी कार्यालय, हेटौंडाको विशेष टोलीले होदालाई दुबईबाट झिकाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका अन्यमा गढीमाई नगरपालिका–८ का ‘बाबा’ भनिने बृजकिशोर गिरी, कलैया नगरपालिका–४ का आशिष सिंह र उमेशकुमार कुर्मी छन्। प्रहरीस्रोतका अनुसार होदालाई फन्दामा पार्न नेपाल प्रहरीको उक्त टोली दुबई नै पुगेको थियो। गत मंसिर ५ मा भारतीय रेलवेको पटना–इन्दौर एक्सप्रेसमा भारतको उत्तरप्रदेश प्रान्तको कानपुर क्षेत्रको पुखराया रेल स्टेसननजिक रेल दुर्घटना हुँदा १ सय ५० जना यात्रुको ज्यान गएको थियो।

भारतीय सुरक्षा एजेन्सीले उक्त घटनामा पाकिस्तानी गुप्तचर संस्था आइएसआईको हात रहेको दाबी गरेका थिए। चलिरहेको एक्सप्रेस रेल लिकबाट उछिट्टिएर दुर्घटना भएजस्तो ठानिएकोमा घटना योजनाबद्ध गराइएको खुलेपछि भारतीय प्रहरीले यसमा संलग्नको खोजी थालेको थियो। यसैबीच, बारामा भएको एउटा हत्या घटनाको अनुसन्धानको फेरो कानपुर रेलकाण्डसँग जोडिन गएपछि प्रहरीले यसमा विशेष अनुसन्धान अघि बढाएको थियो।

बारा पर्शुरामपुर–४ स्थायी घर भएका होदा २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सभाषद्को उम्मेद्वार थिए । चुनवाको बेला खर्च भएको साँढे २ करोड ऋण तिर्न नसकेपछि आतंकबादी गतिवीधीमा लागेका होदाले गत अक्टोबर १ तारिखका दिन बाराको सीमासंग जोडिएको भारतको घोडासहनस्थित रेल्वे ट्रयाकमा बम विष्फोट गराउने असफल प्रयत्न गरेका थिए ।

गएको नोभेम्बर २० मा कानपुरको पुखराया नकिज गाराईएका विष्फोटमा समेत होदाको हात रहेको भारतीय पक्षले दावी गरेको थियो । चुनाव हारेपछी शुरुमा जाली नोटको कारोवार शुरु गरेका होदापछि बम विष्फोट गराउने कार्यमा संलग्न भएका थिए । पाकिस्तानी आईएसआईसँगको मिलेमतोमा बम विष्फोट गराउने कार्यमा संलग्न होदाले प्रहरीसँगको प्रराम्भिक बयानका क्रममा जाली नोट कारोवारमा खासै कमाई नभएकोले बम विष्फोटको योजना बनाएको बताएका छन् ।

जाली नोटको कारोवार गर्दागर्दै दुबईको आपराधिक गिरोसँग भेटेका होदाले केही भारतीय र नेपाली युवाहरु प्रयोग गरेर नेपाल भारत सिमानको रेल्वे ट्रयाकमा बम राख्न लगाएका थिए ।

यसरी खुल्यो कनेक्सन

गएको पुस १३ मा बाराको करैया जंगलमा सहजनाथ महादेव मन्दिरनजिक दुई पुरुषको शव फेला पर्‍यो। जंगलमा फेला परेको शव भारत, पूर्वीचम्पारण आदापुरनजिकको पोखरिया गाउँ घर भएका दीपक राम र अरुण रामको रहेको अनुसन्धानमा खुल्यो। प्रहरीले अनुसन्धान क्रममा मुजाहिर अन्सारी नामका व्यक्तिलाई नियन्त्रणमा लिएपछि खुल्दै गएको घटना विवरणले प्रहरी छक्कै पर्‍यो।

उक्त जंगलमा मारिएका ती दुई व्यक्तिले नै ‘बाबा’ भनिने बृजकिशोर गिरीमार्फत भारतीय रुपैयाँ ३ लाखका दरले ६ लाख पेस्की लिएर रक्सोल दरभंगा रेललाइनमा विस्फोट गराउने जिम्मा लिएको अनुसन्धानमा खुल्यो। योजना सफल हुन नसकेपछि सर्तअनुसार दीपक र अरुणले पैसा फर्काएनन्। त्यो पैसा दुबईबाट मुख्य योजनाकार समसुलले पठाइदिएको पनि खुल्यो।

पछि, उक्त योजना र त्यससँग जोडिएका व्यक्तिको जानकारी दीपक र अरुणबाट फुत्किन सक्ने देखेर उनीहरुको हत्या गरिएको रहस्य प्रहरीले खोतलेरै छाड्यो। हत्या अनुसन्धानका दौरान पक्राउ परेकाबाट यस्तो सूचना मिलेपछि प्रहरीले गिरीको खोजतलास सुरु गरेको थियो। गिरी पर्सामा बसेको थाहा पाएपछि बारा प्रहरी यहाँ आउनुभन्दा मध्यक्षेत्रीय प्रहरी कार्यालयको एउटा विशेष टोली उनको खोजीमा परिचालन गरियो।

सीमावर्ती गाउँ पर्साको बिजबनियाबाट पुस २५ मा दोहोरो मुठभेडपछि गिरीलाई खुट्टामा गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको थियो। गिरी समातिएपछि समग्र सञ्जालबारे प्रहरीलाई थप जानकारी आएको थियो। कानपुर घटनामा पनि यसै गिरोहको हात देखिएपछि मामिला थप गम्भीर देखिएको थियो। यसैबीच, भारतीय सञ्चार माध्यमले यसलाई प्राथमिकतासाथ खबर बनाए।

त्यसपछि नेपाल प्रहरीको परिचालित टोलीले मुख्य योजनाकार होदालाई दुबईबाट झिकाएको हो। पक्राउ परेका मध्ये आशिष इन्जिनियरिङका विद्यार्थी हुन् भने उमेश सामान्य नागरिक। उनीहरुले सहजै मोटो पैसा कमाउने लालचमा होदाका लागि परिचालित भएको बुझिएको एक प्रहरी अधिकृतले बताए। उनीहरुमाथि केके आरोप रहेको भन्ने मंगलबार पत्रकार सम्मेलनमा खोलिने उनले जनाए।

दुबईमा रहनुभन्दा नेपालमा कानुनअनुसार कारबाही भोग्नु सुरक्षित देखेर आत्मसमर्पण गरेको प्रारम्भिक बयानमा होदाले बताएको प्रहरीस्रोतले जनाएको छ । वैदेशिक रोजगारीमा करिब १० वर्ष मलेसिया बसेर फर्केपछि होदा केही दिन राजनीतिमा बारामै सक्रिय भए। पछि एक जना पकिस्तानी एजेन्टमार्फत उनले पछिल्ला गतिविधि सञ्चालन गरेको खुलेको छ।

प्रकाशित मिति: Feb 7, 2017

प्रतिक्रिया दिनुहोस्