Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘संविधान संशोधन प्रस्तावको पक्षमा राप्रपा जाँदैन्’

काठमाडौं, २४ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारमा आफ्नो पार्टीको उपस्थितिको औचित्य सकिएकोले छिट्टै मन्त्रीहरुलाई फिर्ता बोलाउने बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राष्ट्रिय अध्यक्ष लोहनीले सरकारमा राप्रपाको उपस्थिति भएपनि कुनैपनि कुरामा साझेदारी नभएको गुनासो पोखे।

उनले भने,‘सरकारको महत्वपूर्ण काम तथा निर्णयहरुमा राप्रपाको कुनै साझेदारी देखिएन्, त्यसैले सरकारमा रहीरहने कुरा अब स्विकार गर्न सकिँदैन्, यसबारेमा पार्टीभित्रपनि गम्भिर कुरा उठेको छ।’ डा. लोहनीले आफ्नो पार्टी अब सरकारमा रहने कि नरहने भन्नेबारेमा पार्टीभित्रको कार्य सम्पादन समितिको बैठकले निर्णय गर्ने जनाए। उनले थपे,‘यो सरकारको तौर/तरिका हेर्दा अब हाम्रो पार्टी सरकारमा बस्ने औचित्य समाप्त भयो।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको नियत नै चुनाव गर्ने खालको नभएको आरोप लगाए। डा. लोहनीले थपे,‘संवैधानिक आयोगले अघि सारेको प्रतिवेदनको निहुँ निकालेर अहिले विभिन्न बखेडा झिक्ने काम भैरहेको छ, यो चुनाव पन्छ्याउने काम हो।’ उनले संसदमा टेबुल भएको संविधान संशोधन विद्येयकको कुनै औचित्य नै नरहेको दाबी गरे। लोहनीले थपे,‘अहिले अघि सारिएको संशोधनले मुलुकको हित गर्दैन्, संशोधनमा उल्लेख गरिएको कतिपय विषयहरुले देशको राष्ट्रिय हित गर्दैन्।’ उनले ५ नम्बर प्रदेशको सिमांकन हेरफेरको विषय र नागरिकताको प्रावधान गलत भएको टिप्पणी गरे।

उनले आफ्नो पार्टी संविधान संशोधनको विपक्षमा नरहेको जिकिर गर्दै भने,‘हामी पनि संविधान संशोधन गर्नुहुँदैन भन्ने पक्षमा छैनौं, तर अहिले संशोधन प्रस्तावलाई एक ठाउँमा थाँती राखेर निर्वाचनमा जानुपर्छ, अहिले जनताको माँग भनेको नै चुनाव हो।’ उनले मधेश र पहाडलाई अलग पार्ने कुरा कुनै हालतमा स्विकार्य नहुने समेत जिकिर गरे। उनले थपे,‘यस्तो प्रस्तावको पक्षमा हामी छैनौं।’

उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई चुनाव गराउँदा आफूले छोड्नुपर्ने हो कि भन्ने पीर देखिएको आशंका व्यक्त गर्दै भने,‘सरकारको यो प्रवृत्ति दुर्भाग्यपूर्ण छ।’ डा. लोहनीले पछिल्लो समय सरकारी अक्षमता बढिरहेको समेत गुनासो पोखे। उनले भने,‘जनताले कर तिरेको पैसाबाट दुई खर्ब पैसा ढुकुटीमा बसिरहेको छ, खर्च गर्न नसक्दा बैंकमा व्याज बढिरहेको छ।’ उनले सरकारसँग विकासका योजना नहुँदा सुशासनको ठाउँमा कुशासन र ईमानको सट्टा बेईमान बढेको बताए।

प्रकाशित मिति: Feb 6, 2017

प्रतिक्रिया दिनुहोस्