मलेसियासँग श्रम सम्झौता कहिले हुने ?
काठमाडौं, १८ माघ । पटकपटक सरकार फेरिन्छन् । मन्त्रीहरु आउँछन्, आफ्नो योजनामा विभिन्न देशसँग श्रम सम्झौता गर्ने भन्दै कार्ययोजना बनाउँछन् तर कामै नगरी जान्छन् ।
सरकारले छिट्टै मलेसियासँग श्रम सम्झौता गर्ने भनेको धेरै बर्ष भयो तर अझै गर्न सकेको छैन् । पछिल्लो समय श्रम सम्झौता नभएका देशसँग सरकारले छिट्टै अहिले श्रम सम्झौता गर्न तदारुपता देखाएको छ ।
आगामी फेबु्रअरी २३ र २४ गते श्रम सम्झौता सम्बन्धि वार्ताकोे लागि सह–सचिवस्तरिय मलेसियाको टोली नेपाल आउने तयारीमा रहेको स्रोतले बतायो ।
श्रम तथा रोजगार मन्त्रालयका अनुसार ५ सदस्यीय टोली नेपाल आउने बताइएको छ । मलेसियाबाट ३ जना प्रतिनिधि आउने छन् भने नेपालस्थित मलेसिया दूतावासबाट २ जना प्रतिनिधि उक्त वार्तामा सहभागी हुनेछन् ।
मलेसियाले श्रम सम्झौता सम्बन्धि पहिलो चरणको बार्ता भनेको भएतापनि यस भन्दा अगाडी तयार भएका विषयबस्तुलाई पनि आधार मानिने जनाइएको छ ।
रोजगारीको लागि आकर्षक गन्तव्य मानिएको मलेसियासँग श्रम सम्झौता गर्ने चर्चा लामो समय सम्म चलिरहेका भएतापनि हालसम्म उक्त योजनाले मुर्त रूप पाउन सकेको छैन । हाल मलेसियामा करिब पाँच लाख नेपाली कामदारहरू वैधानिक रूपमा कार्यरत रहेका छन् ।