Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनसेलले मिनेन्द्र रिजाललाई किनेकै हो त ?

काठमाडौं, १२ माघ । पछिल्लो समय नेपाली कांग्रेसका नेता एवं पूर्व संचारमन्त्री मिनेन्द्र रिजाल एनसेलको प्रवक्ता जस्तै बनेका छन् ।

यसको पछिल्लो उदाहरण हो, व्यवस्थापिका संसद् सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा उनी प्रवक्ताको ढंगले प्रस्तुत भए । बैठकमा एनसेललाई कर तिराएर मात्र थप सेवाका अनुमति दिने विषयमा छलफल चल्दा उनले एनसेलको पक्षमा चर्को कुरा गरे ।

पूर्वसूचना तथा सञ्चारमन्त्री एवं कांग्रेस सांसद रिजालले एनसेलको पक्ष लिँदै कर तिराएर मात्र थप सेवा निर्णय गर्नु नहुने बताएपछि बैठकमा उनकै पार्टीका अरू सांसदहरू उनीविरुद्ध खनिएका थिए । रिजालले एनसेलबाट नभई सरकारले टेलियाबाट कर असुल गर्नुपर्ने बताएका थिए ।

उनले टेलिया नेपालबाट उम्किसकेकाले एनसेललाई ‘प्यानलाइज’ गर्न नमिल्ने दाबी गरे । ‘टेलिया हाम्रो हातबाट बाहिर गइसक्यो,’ रिजालले बैठकमा भने, ‘वास्तवमा उसबाट हामीले पुँजीगत लाभकर लिनुपर्ने हो, त्यो हाम्रो ‘सिनारियो’ भन्दा बाहिर गइसक्यो, जोसँग हामीले असुल गर्नुपर्ने त्यो गइसक्यो, जोसँग असुल्नु नपर्ने त्यसलाई समाएर बसेका छौं ।’

गत वर्ष एनसेलको मुख्य सेयरहोल्डर रेनोल्ड होल्डिङमा रहेको टेलिया कम्पनीको सेयर आजियटाले खरिद गरेपछि उत्पन्न कर विवाद हालसम्म सकिएको छैन । कर असुल गर्न संसदीय समितिहरूले निर्देशन दिए पनि त्यसको पूर्ण पालना भने भएको छैन । कर निर्धारणमा संलग्न अधिकारीहरूका अनुसार एनसेलले आफ्नो सेयर बिक्रीबापत करिब ३३ अर्ब पुँजीगत लाभकर तिर्नुपर्ने देखिन्छ ।

एनसेलले हालसम्म टेलियाका तर्फबाट भन्दै करिब १० अर्ब राजस्व दाखिला गरे पनि अरू कर भने टेलियाले तिर्नुपर्ने बताउँदै आएको छ । यसरी एनसेलको प्रवक्ता जस्तै रिजाल प्रस्तुत भएपछि एनसेलले लगाएको भाग उनमा पनि पुगि सकेको आकलन गर्न सकिने जानकारहरु बताउँछन् ।

प्रकाशित मिति: Jan 25, 2017

प्रतिक्रिया दिनुहोस्