Logo
१२ बैशाख २०८१, बुधबार
(January 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उल्टियो कामदारसँग लेबी नलिने मलेसियाली निर्णय

काठमाडौं । मलेसिया सरकारले विदेशी कामदारसँग लिँदै आएको लेबी रोजगारदाता कम्पनीबाटै उठाउने गरी लागू गरेको नयाँ व्यवस्था १० दिन पछि नै उल्ट्याएको छ । गएको डिसेम्बर ३१ तारिकमा मलेसिया सरकारले जनवरी १ तारिकबाट लागू हुने गरी कामदारले तिर्दै आएको लेबी रोजगारदाताले नै तिर्नुपर्ने नयाँ व्यवस्था गरेको थियो।

कामदारले तिर्दै आएको लेबीसमेत आफूहरुले तिर्न सुरु गरे बिदेशी कामदार महँगो पर्ने र त्यसले समग्र मलेसियाको पूर्वाधार विकास तथा आर्थिक विकासमै नकारात्मक असर पर्ने तर्कका साथ व्यवसायीहरुले निर्णय फिर्ता लिन सकारलाई दबाब दिँदै आएका थिए। रोजगारदाता कम्पनी र मलेसियाली रोजगार एजेन्टहरुको चर्को विरोधलाई थेग्न नसकेर मलेसियाको मन्त्रिपरिषद्ले बुधबार (जनवरी ११) को बैठकबाट उक्त व्यवस्था उल्ट्याएको जानकारी आफूहरुले पाएको वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले बताए।

‘मलेसियाले बुधबार क्याबिनेटबाट निर्णय गरेर नयाँ नियम उल्ट्याएको हामीले जानकारी पाएका छौं,’ उनले भने, ‘नेपालका तर्फबाट रोजगारदातालाई नै लेबी तिराउनका लागि कुटनीतिक पहल आवश्यक छ।’ रोजगारदाताहरुको चर्को दबाबपछि मलेसियाली सरकारले उक्त निर्णय एक वर्षपछि अर्थात सन् २०१८ बाट लागू गर्ने गरी उक्त नयाँ व्यवस्था तत्कालका लागि स्थगित गरेको उनले बताए।

 

 

नयाँ नियम स्थगित भएसँगै सरकारले ल्याएको नयाँ नियमअनुसारका न्यूनतम तलब ग्यारेन्टी, कामदारको आवासको गुणस्तरलगायतका सुविधाहरु समेत मलेसिया जाने नेपाली तथा विदेशी कामदारले तत्काल नपाउने भएका छन्।

मलेसियाली सरकारकाे पछिल्लाे निर्णयसँगै राेजगारीका लागि नेपालकाे प्रमुख गन्तव्य मुलुककाे रूपमा रहँदै अाएकाे मलेसिया पुगेका नेपाली कामदार थप सेवा र सुविधाबाट बञ्चित हुने भएका छन्।

प्रकाशित मिति: Jan 12, 2017

प्रतिक्रिया दिनुहोस्