Logo
७ बैशाख २०८१, शुक्रबार
(January 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सम्पत्ति र व्यवसाय छोराहरुलाई जिम्मा लगाउने ट्रम्पको घोषणा

एजेन्सी । जनवरी २० देखि कार्यभार सम्हाल्न लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नाममा रहेको सम्पूर्ण सम्पत्ति र व्यवसायको सञ्चालन उनका दुई छोराहरुले गर्ने बताएका छन्। झण्डै ६ महिनामा गरेको पहिलो पत्रकार सम्मेलनमा उनले यस्तो घोषणा गरेका हुन्।

यद्यपि ट्रम्पकी छोरी इभान्का भने व्यापारमा संलग्न नहुने बताइएको छ। ट्रम्पकी वकिलका अनुसार ट्रम्प अर्गनाइजेसनले उनको कार्यकालभरी कुनै पनि विदेशी सम्झौता गर्ने छैन। पत्रकार सम्मेलनको धेरैजसो समय ट्रम्पले हालै सञ्चारमाध्यममा आएको एक अपुष्ट समाचारको आलोचनामा खर्चिएका थिए।

विगत पाँच वर्षदेखि ट्रम्पलाई रुसी गुप्तचर सँस्थाहरुले प्रयोग गरिरहेको र रुससँग ट्रम्पलाई ब्ल्याकमेल गर्नका लागि पर्याप्त यौन सामग्री रहेको दाबी गरिएको समाचार बजफिड र सिएनएनले प्रकाशन/प्रसारण गरेका थिए। पत्रकार सम्मेलनअघि नै ट्रम्पले ट्वीटरमार्फत सो समाचारको खण्डन गरिसकेका थिए। पत्रकार सम्मेलनमा उनले यदि पुटिनले आफूलाई मन पराएमा त्यो दायित्व नभई सम्पत्ति भएको बताए।  उनले गुप्तचर निकायले यति झुटो समाचार चुहाएकोमा त्यसको आलोचना गरे।

पत्रकार सम्मेलनमै समाचार सँस्थाको आलोचना गर्न पनि उनले बाँकी राखेनन्। उनले भने, ‘बजफिडको कुरा गर्ने हो भने त्यो फोहोरको थुप्रो हो। मलाई लाग्छ, उनीहरुले यसको परिणाम भोग्नेछन् र भोगिरहेका पनि छन्।’  त्यसैगरी ट्रम्पले सिएएनका पत्रकारलाई प्रश्न सोध्ने मौका दिएनन्। उनले तिमी झुठो समाचार हौ, भन्दै पत्रकारलाई प्रश्न गर्नबाट रोकेका थिए। प‍त्रकार सम्मेलनमा पहिलोपटक ट्रम्पले डेमोक्र्याटिक इमेल ह्ययाक प्रकरणमा रुसको हात रहेको स्वीकार गरे।

उनले भने, ‘मलाई लाग्छ यसो गर्ने रुस नै थियो।’ तर उनले चीनतिर लक्षित गर्दै अमेरिकामा साइबर आक्रमण गर्ने रुस एक्लो नभएको बताए। त्यसैगरी मेक्सिकोको पर्खाल, ओबामाकेयरको उन्मुलन, अहिलेसम्मकै धेरै रोजगारी सिर्जना गर्ने काम भएरै छोड्ने प्रतिबद्धता पनि उनले जनाए।

प्रकाशित मिति: Jan 12, 2017

प्रतिक्रिया दिनुहोस्