Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चौथो पल्ट रोनाल्डो फिफा वर्ष खेलाडी

ज्युरिच, पुस २६ (एजेन्सी)  आफ्नो कट्टर प्रतिद्धन्द्धी बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीलाई पछि पार्दै क्रिस्टियानो रोनाल्डोले फिफा वर्ष खेलाडीको सम्मान प्राप्त गरेका छन् ।  गत वर्ष आफ्नो क्लब म्याड्रिडलाई च्याम्पियन्स लिग र आफ्नो देश पोर्चुगललाई पहिलो पल्ट युरो कपको उपाधि दिलाउन उनले गरेको योगदानको फिफाले उच्च मूल्याङ्कन गरेको थियो।

रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकरलाई सन् २०१६ को सिजनमा उनले गरेको उत्कृष्ट प्रदर्शनका लागि विश्व फुटबलको उच्च निकाय फिफाले सोमबार राती स्विट्जरल्यान्डको ज्युरिचमा आयोजित विशेष कार्यक्रममा सम्मान गर्यो । ‘मैले धेरै पल्ट बताइसकेको छु, २०१६ मेरो खेल जीवनको स्वप्निल समय हो,’ एक महिनाअघि मात्र बालोन डि’ओरबाट चौथो पल्ट सम्मानित भएका ३१ वर्षीय रोनाल्डोले प्रतिक्रिया दिए।

६ वर्ष फ्रान्सको फुटबल पत्रिकासँग सहकार्य गरेको फिफाले बालोन डि’ओरलाई नै फिफा वर्ष खेलाडीको रुपमा प्रदान गर्दै आइरहेको थियो। तर, यस वर्षदेखि फ्रेन्च पत्रिकासँग सम्झौता भंग गरेको फिफाले आफैले वर्ष खेलाडी चयन गरेर ज्युरिचमा सम्मान गरेको हो। रोनाल्डोले वर्ष खेलाडीको रुपमा सम्मान पाउदा कूल ३४ दशमलव ५४ मत प्राप्त गरेका थिए। जुन मेसीभन्दा करिब ८ प्रतिशत बढि थियो। मेसीले २६ दशमलव ४२ प्रतिशत मत प्राप्त गरे।

रोनाल्डोे सन् २००८, २०१३, २०१४ गरि यसअघि तीन पल्ट सम्मानित भइसकेका थिए। ‘म यस कार्यक्रममा मेसीको पनि उपस्थिति चाहन्थे। तर, बुधबार अर्को महत्वपूर्ण खेल खेल्नु पर्ने कारण उनी सहभागी हुन सकेनन,’ मध्य ज्युरिचको कंग्रेसहाउसमा आयोजित पुरस्कार कार्यक्रममा फिफा अध्यक्ष गियानी इन्फान्टिनोले सबैलाई जानकारी दिए।

सन् २००९ देखि २०१२ र २०१५ मा मेसीले फिफा वर्ष खेलाडीको सम्मान पाउदा २०१० लाई छोडेर सबै पल्ट रोनाल्डो दोस्रो स्थानमा आएका थिए। त्यसैले सन् २००८ देखि नै रोनाल्डो र मेसीबीच यो पुरस्कारका लागि प्रतिस्पर्धा हुने गरेको छ।

प्रकाशित मिति: Jan 10, 2017

प्रतिक्रिया दिनुहोस्