Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकमान प्रकरणको अन्त्य: अख्तियार हेडक्वार्टरमा लोकमानका साढे तीन बर्ष

काठमाडौं, पुस २४ । सर्वोच्च अदालतले आज गरेको फैसला लगतै लोकमान सिंह कार्की प्रकरणको अन्त्य भएको छ । लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको हैसियतमा २०७० वैशाख २५ गते टंगाल छिरेका थिए । नेपालको अन्तरिम संविधान २०६३ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनले ६ बर्षका लागि प्रमुख आयुक्तमा नियुक्ती पाएका थिए ।

त्यतिबेला राजनितीक दलहरु सत्ता बाहिर थिए, पुर्व प्रधान न्यायाधिश खिलराज रेग्मी मन्त्रीपरिषद्को अध्यक्ष बनेका थिए । आईतबार सर्वोच्चका न्यायाधिशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको ईजलाशले अख्तियार प्रमुखमा नियुक्तिका लागि लोकमानसिंह कार्किको योग्यता नपुगेको ठहर गर्दै अर्को प्रमुख आयुक्त नियुक्त गर्न आदेश दिएसँगै ‘लोकमान प्रकरण’ को अध्याय समाप्त भएको छ ।

प्रमुख आयुक्तको हैसियतमा कार्कीले करिब ३ बर्ष ६ महिना अख्तियार हेड्क्वार्टर टंगालमा बिताए । अख्तियारको बागडोर सम्हालेको केही महिनादेखि नै ‘साना माछा समातेर ठुलालाई उम्काएको’ आरोपले लोकमानलाई कहिल्यै पछ्याउन छाडेन् । ब्यवस्थापिका संसदको अर्थ समितिमा उपस्थित भएका बेला उनलाई सांसदहरुले सोधेका थिए, ‘सिपाही र हवल्दारलाई समातेर ठुला माछा किन उम्काएको ?’

त्यतिबेला लोकमानले जवाफ दिए, ‘ठुला माछा समुन्द्रमा बस्छन्, कसरी समात्नु ?’ हक्कि स्वभावका लोकमान त्यसपछि कहिल्यै संसदीय समितिले बोलाएको बैठकमा गएनन्, समितिहरुले बोलाउँदा पनि बोलाएनन् । राजाको प्रत्यक्ष शासनकालमा मुख्य सचिव भएका कार्कीले कर्मचारी प्रशासन राम्रोसँग बुझेका थिए । त्यसैको परिणाम उनको कार्यकालमा अख्तियार प्रशासन निकै टाईट थियो ।

उप–सचिव र सह–सचिवहरु साँझ सात बजेसम्म कार्यालयमा बसेर काम गर्थे । तीन बर्षको अवधीमा अख्तियारमा छिर्न पनि जो–कसैलाई हम्मे पथ्र्यो । उनको उदयपछि गेटमा वाक थ्रु मेशिन जडान गरियो, मोबाईल–पर्स निकालेर शरिर स्क्यानिङपछि मात्रै अख्तियारमा छिर्ने सिस्टमको शुरुवात भयो ।

लगातार ठुला माछालाई छाडेको आरोप लागेपछि उनले नेपाल पर्यटन बोर्डका तत्कालिन सिईओ सुवास निरौला र शसस्त्र प्रहरी बलका आईजिपीहरुमाथि अनुसन्धान थाले । सशस्त्रका पुर्व आईजिपीहरु कोषराज वन्त, सनत कुमार बस्नेत, शैलैन्द्र श्रेष्ठ तथा वासुदेव ओलिको मुद्दा अहिले विशेष अदालतमा विराचाधिन छन् । लोकमानको उदयपछि अख्तियारको सक्रियता बढेको थियो । घुस लिने कर्मचारीहरु लगातार रंगेहात समातिन थालेका थिए । तर पछिल्लो समय राज्यका हरेक निकायमा हात हालेको भन्दै कार्कीको आलोचना बढ्न थाल्यो ।

साझा यातायातका अध्यक्ष कनकमणी दिक्षितलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेपछि कार्कीको कुर्सी हल्लिएको थियो । त्यसबीचमा डा. गोविन्द केसी कार्कीको बर्खास्तीको माग गर्दै अनसन बसे । माओवादी शिवीरमा भएको भनिएको अनियमितताको छानबिन, प्रधानन्यायाधिश शुसिला कार्कीसँगको खटपट जस्ता कारणले विस्तारै लोकमान कमजोर हुँदै गएका थिए । पछिल्लो पटक संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेका कार्कीलाई अन्तत अदालतले अयोग्य ठहर गरेसँगै अख्तियारमा लोकमान युगको समाप्त भएको छ । #रातोपाटी

प्रकाशित मिति: Jan 8, 2017

प्रतिक्रिया दिनुहोस्