Logo
११ बैशाख २०८१, मंगलबार
(January 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३३ दिनदेखि नेपाली ग्यास बुलेट यसकारण रोकिए नाकामै !

काठमाडौं ।  नेपाली लगानीका बुलेटमार्फत पहिलोपटक ग्यास भित्र्याउने प्रयास अन्तरसरकारी समन्वय अभावका कारण झमेलामा परेको छ । नेपाल भित्रन लागेका नेपाली नम्बरका ग्यास बुलेट एक महिनादेखि  वीरगन्ज भन्सार नाकामा  अलपत्र परेका छन् ।

कागजपत्र नमिलेको भन्दै भन्सार कार्यालयले बुलेट पास नगर्दा ३३ दिनदेखि नेपाली बुलेट नाकामै रोकिएर अलपत्र परेका हुन् । विगतमा भारतीय बुलेटहरूले मात्र ग्यास आयात गर्दै आएकोमा सरकारले गतवर्ष नेपाली बुलेटलाई पनि अनुमति दिएपछि पहिलोपटक उद्योगीले बुलेट ग्यास लिएर आएका थिए । तर, अलपत्र परेपछि व्यवसायीहरू निराश बनेका छन् ।

नेपाली नम्बरका ग्यास बुलेट ल्याउन बजेटमा दुईतिहाई कर छुट पाइने व्यवस्था भए पनि प्रक्रिया नमिलेको भन्दै भन्सार कार्यलयले नछुटाउदा लामो समय देखि बुलेट नाकामै अलपत्र परेका थिए । भन्सार विभागले बुलेट छुटाउनका लागि प्रक्रिया अगाडि बढाए पनि ग्यास भने अझै नेपाल भित्रिएको छैन ।

नेपाल एलपी ग्यास उद्योग संघका महासचिव दिवान चन्दले लामो समयदेखि नाकामा रोकिएका ग्यास अझै नछुटेको बताए । “बुलेट छुटाउनका लागि पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउदा पनि भन्सार पास नहुँदा नाकामै रोकिएको छ,” उनले भने, “अर्थमन्त्रालय, भन्सार विभाग र वीरगन्ज भन्सार कार्यलयको समन्वय नहुँदा महिना दिनदेखि ग्यास नाकामा रोकिनु परेको हो ।”

बैंकबाट व्याजमा रकम निकालेर ६० देखि ७० लाख रुपैयाँको लागतमा ग्यास बुलेट निर्माण गरेकाले पनि यसबाट उद्योगीलाई धेरै नोक्सानी भएको बताएका छन् ।

“भारतीय नम्बरका बुलेटले ग्यास बोक्दा नेपालबाट वर्सेनि साढे तिनदेखि चार अर्ब रुपैयाँ बाहिरिने गरेको छ,” महासचिव चन्दले भने, “थप तीन सय संख्यामा बुलेट निर्माण सम्पन्न गरी ल्याउनका लागि तयारी अवस्थामा भारतमै राखिएको अवस्था छ ।” समयमा बुलेट ल्याउन नपाउदा उद्योगीले धेरै घाटा बेहोर्नुपरेको उनको भनाइ छ ।

सरकारी अधिकारीहरू भने बुलेट रोकिएको स्वीकार्दै छुटाउनका लागि प्रक्रिया अघि बढाएको बताउँछन् । भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले भने भन्सार छुटाउनका लागि प्रक्रिया अगाडि बढेको बताए ।

“बुलेटलाई भन्सार पास गराउनका लागि विभागले शुक्रबार नै पत्राचार गरिसकेको छ,” महानिर्देशक ढुंगानाले भने, “रोकिएका बुलेट जतिसक्दो छिटो भन्सार छुट भई नेपाल भित्रनेछन् ।”

सरकारले नेपाली नम्बरका ग्यास बुलेट राख्नका लागि अनुमति दिएपछि उद्योगीले भारतका विभिन्न ठाउँमा बुलेट निर्माण गरेका थिए ।

नेपाल आयल निगमले बुलेट खरिद गर्नका लागि व्यवसायीलाई सूचना सर्वजनिक गरेको थियो । सोहीअनुसार निगमले सात सय ७५ वटा बुलेट निर्माणका लागि अनुमति दिएको छ ।

नेपालमा रहेका ५५ वटा ग्यास उद्योगले  क्षमताअनुसार बुलेट खरिद गरेका छन् ।  उद्योगीका  अनुसार एउटा बुलेट निर्माण गर्न ६० देखि ७० लाख रुपैयाँ पर्ने गर्दछ ।

तीन सय दुई संख्यामा नेपाली बुलेट निर्माण गरिसकेको र अन्य प्रक्रियामा रहेको व्यवसायीले बताएका छन् । नेपाली नम्बरका ग्यास बुलेट नहुँदा अहिलेसम्म भारतीय नम्बरका बुलेटमार्फत ग्यास आयात गरिँदै आएको छ ।

कारोबारका अनुसार,निगमका प्रवक्ता खनालले ग्यास ढुवानीमा  लागि वर्सेनि अर्बौं रुपैयाँ बाहिरिने गरेकोमा अब भने रोकिने बताए  । “ग्यास ढुवानी गर्ने बुलेटसँगै चालक र सहचालकसमेत भारतीय नै प्रयोग हुने गर्छ,” प्रवक्ता  खनालले भने, “ग्यास आयातबापत ढुवानी रकम धेरै बाहिर जाने भएकाले नेपाली नम्बर सञ्चालनमा ल्याइएको हो ।”

निगमका अनुसार सरदर ४ सय ५० बुलेटले ग्यास ल्याउने गर्छन् । चिसोको समयमा ग्यासको खपत धेरै हुँदा ६ सय बुलेटसम्म ग्यास नेपाल आउने गर्छ । नेपाली बुलेटबाट ग्यास आयात गर्दा ढुवानी  रकम बचतसँगै  स्थानीयस्तरमा रोजगारीका साथै सरकारलाई राजस्वसमेत उठ्ने हुँदा थप फाइदा हुनेगर्छ ।

निगमका अनुसार एक बुलेट ग्यास नेपाल ल्याउँदा ९६ हजार रुपैयाँ खर्च हुन्छ । प्रतिबुलेट १८ मेट्रिक टन ग्यास भित्रन्छ ।

एउटा बुलेट ग्यास ट्यांकरले नेपालमा महिनामा तीन पटकसम्म ग्यासको ढुवानी गर्नसक्छ । निगमका अनुसार भारतको बरौनीदेखि काठमाडौंसम्म प्रतिसिलिन्डर १४.२ किलो ग्यास ढुवानी गर्न ८२ रुपैयाँ  लागत पर्दछ ।

प्रकाशित मिति: Jan 8, 2017

प्रतिक्रिया दिनुहोस्