Logo
२६ बैशाख २०८१, बुधबार
(January 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अप्रेशन KU: उपकूलपति नियुक्तिको भित्रि कुरा यस्तो ?

काठमाडौं, २१ पुस । काठमाडौं विश्वविद्यालय उपकूलपति विहिन भएको एक महिना पुगिसक्दा सरकारले नयाँ उपकूलपति नियुक्त गर्न सकिरहेको छैन । गत मसिर २६ बाट चारवर्षे कार्यकाल सकिएका रामकण्ठ माकाजुको स्थानमा नयाँ उपकूलपति नियुक्तिका लागि शिक्षामन्त्री धनिराम पौडेलको संयोजकत्वमा वोर्ड अफ ट्रष्टिजका सदस्यद्वय डा. सुरेश राज शर्मा र दमननाथ ढुङ्गाना सदस्य रहेको समिति गठन गरेर प्रक्रिया अगाडी त बढाईयो तर, समितिका सदस्य र शिक्षामन्त्री विच नै कुरा नमिल्दा उपकूलपति नियुक्ति लम्बिदै गएको हो ।

शिक्षामन्त्री पोडेलले तीन जनाको नाम सिफारिस गर्न चाहेपनि शर्मा र ढुङगानाले माकाजुको विकल्पमा जान नमानेकाले विवाद बढ्दै गएको हो । मन्त्री पौडेल भने वरिष्ठताका आधारमा विश्वविद्यालयका प्राध्यापक जनार्दन लामिछानेलाई सिफारिस गर्नुपर्ने अडानमा छन् ।

मंसिर १३ गते शिक्षामन्त्री पौडेलको संयोजकत्वमा सिफारिस छनोट समिति गठन गरेपछि विभिन्न चरणमा बैठक र छलफल भएपनि निर्णय हुन सकेन । व्यक्ति छनोट गर्न नसकेपछि गत मंसिर २६ गते उपकुलपति डा. रामकण्ठ माकाजु श्रेष्ठको पदावधि समाप्त भयो र नयाँ नियुक्ति पनि नहुँदा विश्वविद्यालय उपकुलपति विहिन भयो । विश्वविद्यालयको इतिहासमा उपकूलपति विहिन भएको यो पहिलो घटना हो ।

विएण्डसीको सम्बन्धन
उपकूलपतिका लागि छनौट सिफारिस समितिका सदस्यद्वय शर्मा र ढुङ्गानाले निवर्तमान उपकूलपति माकाजुलाई नै निरन्तरता दिनुपर्ने अडान लिनुमा विर्तामोड स्थित विएण्डसी अस्पताल जोडिएको छ । तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई मार्फत शर्माले देवदह र विराट मेडिकल कलेजलाई सम्बन्धन दिलाउने शर्तमा माकाजुलाई उपकूलपति नियुक्ति गर्न सफल भएका थिए ।

र, माकाजुले पनि नियुक्ति वित्तिकै देवदह र विराटलाई सम्बन्धन दिए । अहिले विएण्डसीको हकमा सोहि कुरा लागू गर्न खोजिँदै छ । विश्वविद्यालय श्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री प्रचण्डको अधिकांश शेयर रहेको विएण्डसीलाई सम्बन्धन दिनका लागि शर्मा र ढुङ्गानाले माकाजुलाई समर्थन गरेका हुन् ।

विर्तामोडका ब्यापारी दुर्गा प्रसाईको नेतृत्वमा विएण्डसी अस्पताल सञ्चालनमा आएपनि त्यसको भित्री हर्ताकर्ता भने प्रधानमन्त्री प्रचण्ड रहेका छन् । उनको विएण्डसीमा अधिकांश शेयर रहेको श्रोतको दावि छ । प्रसाई स्वयम् आफुलाई प्रचण्डको ‘छोरा’ भन्दै हिड्नुको कारण त्यो पनि हो ।

शर्मा–प्रसाई कनेक्शन
सिफारिस समितिका सदस्य शर्मा र विएण्डसीका दुर्गा प्रसाई विच ब्यक्तिगत कुनै सम्बन्ध नदेखिए पनि शर्माकी छोरी डा.कञ्चन शर्मा (अधिकारी) र भाई डा. उमेश शर्मा विएण्डसीमा कार्यरत रहेकोले उनिहरुलाई स्थापित गराउनका लागि शर्माले माकाजुको काँध थापेका हुन् ।

नत्र विश्वविद्यालयकै इतिहासमा विवादित, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानमा राखेको ब्यक्तिलाई शर्मा जस्तो निश्कलंक ब्यक्तिले बोक्नुको आधार के ? माकाजूले धुलिखेल अस्पताललाई मुलुककै उदाहरणीय अस्पताल बनाएपनि कलेजलाई ध्वस्त बनाएका छन् । केयूको एमविविएस तहमा भएको चलखेल थामिन सक्नुको छ ।

वीपी दासको लविङ
यता वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकूलपति प्रा.डा. बलभद्रप्रसाद दासले प्रतिष्ठानमा आफ्नो पाँच वर्षे कार्यकाल पुरा गरेर सरकारलाई जानकारी समेत दिइसकेका छन् । अहिले प्रतिष्ठान पनि उपकूलपति विहिन भएको अवस्था छ ।

डा. दास प्रतिष्ठानमै दोहोरिने चक्करमा विभिन्न लविङ गरिरहेको अवस्थामा उनले केयू प्रवेशको बाटो समेत समातेका छन् । माकाजु नभएको अवस्थामा डा.दास प्रधानमन्त्री प्रचण्डको आर्शिवादमा केयू प्रवेश गर्ने तयारीमा छन् । यसका लागि उनले ठूलो लविङ गरिरहेको मन्त्रालय श्रोतले बतायो ।

शिक्षामन्त्रीका खास मान्छे एमाओवादीका नारायणकाजी श्रेष्ठले उपकूलपति नियुक्तिमा चलखेल गर्ने गरेकोले दासले प्रधानमन्त्री, नारायणकाजी मार्फत मन्त्री पौडेललाई रिजाउने बाटो तय गरेका छन् ।

दास पनि विवादित ब्यक्ति नै हुन् । उनले प्रतिष्ठानमा अस्पताल निर्देशक देखि उपकूलपति हुँदासम्म गरेका गरेका अधिकांश काममा अख्तियारमा उजुरी परेको छ । यता विश्वविद्यालयका प्राध्यापकहरुले माकाजु भन्दापनि प्रा. डा. जनार्दन लामिछाने, प्रा. डा. कन्हैया झा र प्रा. डा. भूपेन्द्र विमल क्षेत्री मध्येबाट छनौट गरिनुपर्ने बताएका छन् ।

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले लामिछाने, क्षेत्री र झाको नाम सिफारिस गर्दै तीन जनामध्येबाट एक जनालाई उपकुलपति बनाउन माग गरेको छ । सिफारिस समितिले दिने सम्भावित नामहरु मध्येबाट प्रधानमन्त्री एवम् केयूका कुलपतिले उपकुलपति नियुक्त गर्ने प्रचलन छ ।

प्रकाशित मिति: Jan 5, 2017

प्रतिक्रिया दिनुहोस्