Logo
२२ बैशाख २०८१, शनिबार
(December 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई छिमेकी बहस: जबर्जस्त तानिँदै चीन

काठमाडौं, १६ पुष  । नेपालका राजनीतिज्ञ ‘भारतसँगको सम्बन्ध’ का विषयमा बोल्दा कुनै न कुनै रुपमा चीनलाई जोड्न छुटाउँदैनन्। भारतको विषयमा बोल्दा अनावश्यक रुपमा चीनलाई तान्नु र चीनका विषयमा बोल्दा भारतलाई जोड्ने प्रवृत्ति नयाँ भने होइन।

यस्तो अभ्यास नेपालमा मात्र होइन, भारतमा पनि छ। भारतमा पनि राजनीतिज्ञले ‘नेपाल सम्बन्ध’ का विषयमा बोल्दा चीनलाई कुनै न कुनै रुपमा जोड्ने गर्छन्। भारतीय सञ्चार माध्यममा आएका पछिल्लो समाचारले त्यहाँका संसद्मा उठ्ने नेपाल सम्बन्धका प्रश्नहरुमा सांसदहरुले चीनलाई जबर्जस्त जोड्ने गरेका छन्।

‘सुरक्षा सतर्कता’ का नाममा होस् या ‘छिमेकीप्रतिको चासो’, कुनै न कुनै बहानामा नेपाललाई चीनसँग जोडेर सवालजवाफ हुने गरेको छ भारतीय संसद्मा। चाहे त्यो राज्यसभा होस् या लोकसभा, नेपालको विषयमा बोल्ने अधिकांश सांसदले सँगै चीनको नाम उच्चारण गर्न भुल्दैनन्। पछिल्ला केही महिना भारतको संसद् राज्यसभा र लोकसभा सांसदहरुले उठाएको प्रश्न नियाल्दा यो प्रस्ट हुन्छ– भारतीयहरु नेपालमा चीनको बढ्दो प्रभावप्रति निकै चिन्तित छन्।

‘चीनले रेल सेवा नेपाल हुँदै बिहार सीमासम्म ल्याउने योजना बनाएको बारे सरकार जानकार छ? सीमा क्षेत्रमा यस्तो पूर्वाधार निर्माण हुँदा भारतको सुरक्षा प्रणालीमा कस्तो प्रभाव पार्छ?,’ सन् २०१६ नोभेम्बर १६ का दिन भारतको लोकसभामा सांसद चिन्तामणि माल्भिया र रविन्द्रकुमार रायले विदेशराज्यन्त्रीसँग जवाफ मागे।

संसद्मा सरोकारवाला मन्त्रीले स्पष्ट रुपमा जवाफ दिए पनि यस्ता प्रश्न पटकपटक दोहोरिने गरेका छन्। सांसद माल्भिया र रायको प्रश्नको जवाफ दिँदै विदेश राज्यमन्त्री एमजे अकबरले भनेका थिए, ‘चीनबाट नेपाल हुँदै भारतीय सीमासम्म रेलसेवा जोड्ने परियोजनाका विषयमा भारत सरकार जानकार छैन। भारतको सुरक्षाका लागि हामी सधैँ सचेत छौं।’

लोकसभामा नेपाल–चीन विषय उठान भएको भोलिपल्ट राज्यसभामा पनि प्रश्न उठ्यो। नोभेम्बर १७ का दिन सांसद परवेज हासमीले राज्यसभामा चीनले नेपाल हुँदै भारतको सीमासम्म आइपुग्ने गरी ठूला राजमार्ग निर्माण गर्ने योजना बुनेकोमा चिन्ता व्यक्त गरे। ‘चीनको नेपाल हुँदै भारतको सीमा जोड्ने गरी राष्ट्रिय राजमार्ग बनाउने योजनाबारे जानकारी हामीलाई छैन,’ हासमीको चिन्ता हटाउने प्रयास गर्दै भारका विदेश राज्यमन्त्री अकबरले राज्यसभामा जवाफ दिएका थिए।

नेपालले २०७२ असोज ३ गते जारी गरेको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा भारतको राज्यसभामा ‘नेपाल सम्बन्ध’ मा व्यापक छलफल भएको थियो। गत बर्षको मंसिर २१ गते नेपालसँगको सम्बन्धलाई लिएर मात्र छलफल भए पनि अन्य दिनमा भने राज्यसभा र लोकसभामा सांसदहरुले फाट्टफुट्ट रुपमा नेपालको विषय उठाउने गरेको पाइन्छ। यस्ता प्रश्न चीनसँग पनि जोडिने गरेका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारले गत वर्ष चीनसँग पारवहनलगायत महŒवपूर्ण सम्झौता गरेपछि झन् भारतीय संसद्मा नेपाल र चीनलाई जोडेर प्रश्न गर्ने सिलसिला बढेको छ।

‘के नेपालसँग भारतको सम्बन्ध नराम्रोबाट अझ नराम्रो हुँदै गएको हो? के पछिल्ला दिन नेपालले चीनतर्फ झुकाव बढाएको हो?,’ भारतको राज्यसभाका सांसद नरेश अग्रवालले विदेश राज्यमन्त्रीसँग जवाफ मागे। जवाफमा विदेश राज्यमन्त्री विजयकुमार सिंहले भने, ‘नेपालसँग हाम्रो सम्बन्ध बिग्रेको छैन। र, रह्रयो चीनतर्फ नेपालको झुकाव बढेको भन्ने कुरा, चीन र नेपालबीच लामो समयदेखि सुमधुर सम्बन्ध रहिआएको छ। तर नेपालसँग भारतको सम्बन्ध आफ्नै गुणका आधारमा हुँदै आएको छ।’

भारतीय सांसदहरुको सबैभन्दा बढी चिन्ता र चासो चीनले नेपालमा सडक र रेलसेवा विस्तार गर्देला कि भन्नेमा देखिन्छ। उनीहरुको प्रश्नमा चिनियाँ रेल र सडक विस्तार कुनै न कुनै रुपमा जोडिएको हुन्छ। ‘चीनले नेपाललाई रोड र रेलसेवाले जोड्ने प्रयास गर्नु भारतका लागि चासोको विषय होइन? के नेपालमा भइरहेको बढ्दो चिनियाँ लगानीले नेपाल र भारतबीचको आत्मीय सम्बन्ध कमजोर बन्दै गएको भन्ने सत्य हो?,’ गत अगस्ट ११ मा राज्यसभामा सांसद परवेज हासमीले सरकारसँग जवाफ मागेका थिए। नागरिकमा समाचार छ ।

प्रकाशित मिति: Dec 30, 2016

प्रतिक्रिया दिनुहोस्