Logo
१२ बैशाख २०८१, बुधबार
(December 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोडसेडिङ अन्त्य गर्न शनिबार रातिदेखि भारतबाट बिजुली आयात हुने

काठमाडौं, १५ पुस। शनिबार राति १२ बजेदेखि भारतबाट थप ८० मेगावाट बिजुली आयात हुँदैछ । मुलुकलाई लोडसेडिङमुक्त बनाउन नेपाल विद्युत प्राधिकरणले थालेको भारतबाट थप बिजुली ल्याउन लागेको हो । नदीमा जलस्तर घट्दै गएर विद्युत उत्पादनमा कमी आएपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट थप बिजुली आयात गर्न लागेको हो । जलप्रवाह कम भएपछि कालिगण्डकी, मध्यमर्स्याङ्दी , मर्स्याङ्दी र खिम्तीलगायत ठुला आयोजनाबाट विद्युत उत्पादन आधा घटेको छ ।

भारतको मुज्जफपुर–ढल्केबर अन्तरदेशीय प्रसारणलाइनबाट थप बिजुली आयात हुन लागेको हो । यो बिजुली थप भएपछि भारतबाट विद्युत आयात बढेर ३५५ मेगावाट पुग्नेछ । हाल भारतबाट ३१५ मेगावाट हाराहारीमा बिजुली आयात भइरहेको छ । लोडसेडिङ हटाउन विद्युत प्राधिकरणले भारतबाट ५६० मेगावाटसम्म बिजुली आयातको तयारी गरेको छ ।

अघिल्लो साता थप विद्युत आयात गर्ने विषयमा दुई मुलुकका सरकारी संस्थाबीच भारतको नयाँदिल्लीमा विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) भएको छ । अन्तरदेशीय प्रसारणलाइन अन्तर्गत भारतको मुज्जफपुरमा थप १ सय एमबीएको ट्रान्सफर्मर राख्ने काम सम्पन्न भएपछि विद्युत प्राधिकरण र भारतको एनभीभीएन विद्युत् व्यापार निगमबीच नेपालमा थप बिजुली आयातका लागि पीपीए भएको छ ।
पीपीएअनुसार अन्तरदेशीय प्रसारणलाइनबाट जनवरीमा थप ४० र हालको ८० समेत गरी सो प्रसारणलाइनबाट १२० मेगावाट बिजुली आयात हुनेछ । यस्तै थप ४० गरी फेब्रुअरीदेखि अन्तरदेशीय लाइनबाट १६० मेगावाट बिजुली आयात हुनेछ ।

जनवरीदेखि आउदो मेसम्म ५ महिनाका लागि प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा (३ रुपैयाँ ६० पैसा भारु) मा पीपीए भएको छ । यस्तै अन्य प्रसारणलाइन निर्माण र स्तरोन्नतिको काम भइरहेकाले सम्पन्न भएपछि मात्र थप बिजुली आयातका लागि पीपीए हुनेछ । अहिले भारतबाट आइरहेको बिजुलीमा २२० मेगावाट थप गर्दा देशभर लोडसेडिङ् नहुने प्राधिकरणको अनुमान छ । भारतबाट गतवर्षसम्म ३४७ मेगावाटसम्म बिजुली आयात भएको थियो ।

प्रकाशित मिति: Dec 30, 2016

प्रतिक्रिया दिनुहोस्