Logo
१३ बैशाख २०८१, बिहीबार
(December 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जागिरको लोभ देखाएर मृगौला चोरी

काठमाडौं । गोरखा स्थायी घर भई चितवन गीतानगर बस्ने दीपक नेपाली मंसिर अन्तिम साता मुटु दुखेर औधी छटपटाए । छिमेकीको सहयोगमा भरतपुरस्थित पुरानो मेडिकल कलेज पुर्‍याएर चेकजाँच गरेपछि डाक्टरले भने, ‘बिरामीको शरिरबाट एउटा मृगौला झिकिएको छ ।’ जवाफ सुनेर दीपक र उनका बाबु कुमार झसंग भए । दीपकले त्यसपछि पो पत्तो पाए, तस्करको फन्दामा पुगेर भारत पुर्‍याइएका उनको मृगौला झिकेर अवैध कारोवार गरिएको रहेछ ।

प्रहरीका अनुसार अवैध मृगौला कारोवारको कथा जान्न गत साउनको घटना बुझनुपर्ने हुन्छ । चितवनबाट कामको खोजीमा पोखरा पुगेका १९ वर्षीय दीपकको सम्पर्क अमित गुरुङसँग भयो । अमितले नै उनलाई प्लाई फ्याक्ट्रीमा काम लगाइदिने आश्वासन दिएर काठमाडौं ल्याए । यो खबर आजको कान्तिपुरमा छ

काठमाडौंमा दीपकको भेट भयो, विकास भन्ने बिनुबहादुर तिमल्सेनासँग । यिनै विकासले गत असार ६ गते दिपकलाई खाजा खुवाए र बेहोस पार्ने औषधी मिसाएको मदिरा पिलाए । होसमा आउँदा दीपक भारतको कुनै अस्पतालमा थिए । होस आएपछि विकासले भने, ‘तिमीलाई गुण्डाहरुले चक्कु प्रहार गरे । त्यसैले अस्पतालमा उपचार गराउन ल्याएको ।’

केही दिनको उपचारपछि विकासले २८ हजार रुपैँया दिएर भने, ‘अब घर जाउ । त्यतिबेलासम्म दीपकलाई आफ्नो मृगौला झिकेर बेचिएको कुरा थाहा थिएन ।’

दीपकलाई जस्तै आधा दर्जनभन्दा धेरैलाई जागिरको लोभमा भारतको गाजियाबाद, फरिदाबादलगायत शहरमा पुर्‍याएर मृगौला झिक्ने अवैध धन्दामा लागेका तीन जनालाई महानगरिय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । प्रहरीले विकास, प्रकाश बस्नेत र भिम न्यौपानेलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार अवैध मृगौला कारोवारमा संग्लन अन्य दुईको पनि पहिचान भईसकेको छ । उनले भने, ‘प्रहरीले खोजी जारी राखेको छ ।’

प्रहरीका अनुसार काठमाडौंमा बस्ने विकास र प्रकाशले अन्य दुई जनालाई गाँउ गाँउ पुगेर प्रलोभन देखाई मान्छेलाई काठमाडौंसम्म ल्याउथे । एसएसपी खनालका अनुसार यो समूहले दुई लाख रुपैयाँमा पाँच जना भन्दा धेरैको मृगौला झुक्काएर बेचीसकेको खुलेको छ । प्रहरीका अनुसार कारोवारीहरूले भारतको गाजियाबाद र फरिदाबाद पुर्‍याएको देखिन्छ ।

‘मानव अंग कारोवारीको संगठित संजाल नै यसमा प्रयोग भएको देखिन्छ’, खनालले भने, ‘भारतका अस्पतालको पनि यसमा मिलेमतो देखिन्छ । उभियुक्तहरुले पीडितहरुलाई जागिर लगाइदिने वा घुमाउने बहानामा भारत लगेर मृगौला झिक्ने गरेको बताएका छन् ।’

कान्तिपुरसँग कुरा गर्दै दीपकका बाबु कुमार नेपालीले भने, ‘मेरो छोराको भविष्य नै खत्तम पारिदिए । अब यसले कसरी काम गरी खान्छ रु’ मानव बेचविखन तथा ओसारपसार ऐन २०६४ ले मानिसको कुनै अंग झिक्नेलाई दस वर्ष कैद र दुई लाखदेखि पाँच लाख रुपैँयसम्म जरीवाना तोकेको छ ।

त्यस्तै शोषण गर्ने उद्धेश्यले नेपालको एक ठाउँबाट अर्को ठाउँमा लैजानेलाई एक बर्षदेखि दुई बर्षसम्म कैद र विदेश लगेको भए दुई वर्षदेखि पाँच बर्षसम्म कैद सजाय तोकेको छ ।

प्रकाशित मिति: Dec 29, 2016

प्रतिक्रिया दिनुहोस्