Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबभन्दा ठूलो शक्ति, शास्वत् स्वतन्त्रता: महन्थ ठाकुर

काठमाडौं, १३ पुस । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आजको सबभन्दा ठूलो शक्ति, शास्वत् सत्य स्वतन्त्रता नै रहेको बताएका छन् । ठाकुरले भने, ‘आजको सबभन्दा ठूलो शक्ति कम्युनिज्म होइन, क्याप्टलिज्म होइन, आजको सबभन्दा ठूलो शक्ति टु बी फ्रि अर्थात् स्वतन्त्र हुनु हो ।’

उनले मानव सभ्यता यसकै लागि आजसम्म संघर्ष गर्दै आएको जिकिर गरेका छन् । उनले यो शास्वत् शक्तिलाई आजसम्म कसैले रोक्न नसकेको र रोक्न पनि नसक्ने दाबी गरेका छन् । तमलोपाको ९औं वार्षिकोत्सवको अवसरमा बुधबार बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा आयोजित ‘संकल्प कार्यक्रम’मा ठाकुरले यस्तो अभिव्यक्ति दिएका हुन् ।

ठाकुरले सरकारमा नहुँदा प्रचण्डले मधेसमा जाँदा आफूलाई माइती फर्केर आएको जस्तो महसुश हुने बताएर मधेसीलाई झुटो आश्वासन दिएको भन्दै ठाकुरले सरकारमा गएपछि त्यही माइतीलाई हेला गरेको आरोप लगाए ।  ‘माओवादी केन्द्रका र सो पार्टीका अध्यक्ष प्रचण्ड मधेसीको माग सम्बोधन गर्न सकारात्मक हुनुहुन्छ जस्तो लागेको थियो तर पछिल्लो गतिविधिले धोका दिन खोजेको जस्तो देखिन्छ’, मधेसी मोर्चाका प्रभावशाली नेता तथा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले बुधबार भने, ‘आफूलाई मधेस चाहिँदा उहाँले माइती भन्दै मधेसीलाई फकाउन खोज्नु हुन्छ, सरकारमा जाँदा चाहिँ माइतीलाई धोकादिन खोज्नु हुन्छ ।’

मधेसीको माग संशोधन प्रस्ताव पारित गराउनु भएपनि प्रचण्डले अहिले आएर संशोधनलाई भन्दा चुनावलाई प्राथमिकता दिएर माइतीलाई धोका दिन खोजेको उनको आक्रोश छ । पार्टी कार्यालय बिजुलीबजारमा तमलोपाको नवौं वार्षिक उत्सवको अवसरमा बोल्दै ठाकुरले तीन दल नेपाली कांग्रेस, नेकपा एमाले तथा माओवादी केन्द्र मिलिसकेको र अब आफूलाई पेलेर चुनाव घोषणा गर्ने तयारीमा जुटेको आरोप लगाए । तर, आफूहरुलाई त्यो अस्वीकार्य हुने उनले बताए ।

यसअघि मंगलबार साँझ बसेको सत्तारुढ दल र मधेसी मोर्चाबीचको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाबाट संशोधनलाई थाती राखेर चुनावमा जाने प्रस्ताव आएपछि मोर्चाको तर्फबाट ठाकुरको यो प्रतिक्रिया आएको हो । मंगलबारको बैठकमा देउवाको प्रस्तावमा प्रम प्रचण्डसमेत सकारात्मक बनेका थिए भने मोर्चाले सो प्रस्तावलाई अस्वीकार गरिदिएको थियो ।

मोर्चाले चुनावको प्रस्ताव अस्वीकार गर्दा बैठक निश्कर्षविहिन मात्रै बनेको थिएन् चुनाव पक्षधर सत्तारुढ दल र संशोधनलाई पहिलो प्राथमिकता दिने मोर्चाका नेताहरुबीच चर्काचर्की नै भएको थियो । उनले तीन ठूला दलहरु मधेशी थारुको मागलाई बेवास्ता गर्दै एक हातमा संविधान र दोस्रो हातमा बन्दुक लिएर बसेको आरोप लगाए । उनले यदि माग पूरा नभएसम्म अथवा संविधान संशोधन प्रस्ताव परिमार्जन भएर नआए आफूहरुसँग संघर्षबाहेक अन्य कुनै विकल्प नरहेको स्पष्ट पारे ।

तमलोपाले आफ्नो ९ औं वार्षिकोत्सवको अवसरमा मधेशी थारु लगायत उत्पीडित समुदायले अधिकार नपाएसम्म संघर्ष जारी राख्ने संकल्प लिएको वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले बताएका छन् । वार्षिकोत्सव कार्यक्रममा तमलोपाका केन्द्रीय पदाधिकारीहरु, सांसदहरु, विभिन्न भ्रातृ संगठनका प्रतिनिधिहरु लगायत कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । तमलोपाले ले आफ्नो स्थापनाकालको ९औं वार्षिकोत्सव मनाउँदैछ । तमलोपाले काठमाडौंलगायत हरेक जिल्लामा स्थापना दिवसको अवसरमा संकल्प दिवसको रुपमा लिएको छ ।

प्रकाशित मिति: Dec 28, 2016

प्रतिक्रिया दिनुहोस्