Logo
७ बैशाख २०८१, शुक्रबार
(December 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

०७४ जेठसम्ममा देशभर लोडसेडिङ मुक्त गराउने तयारी !

काठमाडौं, १२ पुष । १८/२२ घण्टासम्म लोडसेडिङ्ग झेलेका नेपालीले भने अब यो झण्झटबाट मुक्त हुने भएका छन । नेपाल विद्युत् प्राधिकरणले २०७४ जेठपछि देशभर विद्युत् कटौती (लोडसेडिङ) अन्त्य गर्ने तयारी अघि बढाएको हो । पछिल्लो समय काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा प्राधिकरणले प्राप्त गरेको सफल अनुभवसमेतका आधारमा देशभर विद्युत् कटौती अन्त्य गर्ने तयारी भइरहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए। परीक्षणका रुपमा दशैंपछि काठमाडौं उपत्यकाको लोडसेडिङ अन्त्य गरेको प्राधिकरणले आउँदो जेठपछि देशभरको विद्युत् कटौती हटाउने तयारी अघि बढाएको हो।

उनका अनुसार भारतबाट आयात हुने ढल्केबर–मुजफ्फरपुर, कटैया–कुशाहा, रक्सौल–परवानीपुर, टनकपुर–महेन्द्रनगरजस्ता अन्तरदेशीय लाइनका पूर्वाधार सुधार गर्ने काम चलिरहेको र जेठपछि आन्तरिक उत्पादन पनि पूर्ण क्षमतामा हुने भएकोले देशभर लोडसेडिङ अन्त्य गर्न सकिने अवस्था छ । यसका लागि प्राधिकरणले तीव्र रुपमा विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारको काम अघि बढाएको उनले बताए।

पुस ११ गते भएको विद्युत् खपतको तथ्यांकलाई आधार मान्दा जडित वितरण प्रणालीमा हाल देशभरको विद्युत माग १२ सय ७३ मेगावाट छ । यस मध्ये विद्युत् प्राधिकरणको ३६१ मेगावाट, निजी ऊर्जा उत्पादकको २०८ मेगावाट र आयातित २९९ मेगावाट गरी कुल ८६८ मेगावाट विद्युत् आपूर्ति भएको छ। देशभर कुल ४०५ मेगावाट विद्युत् अपुग छ। यसै अभावलाई पूरा गर्न नसक्दा हाल काठमाडौं उपत्यकाबाहेक देशका अन्य भूभागमा लोडसेडिङ जारी रहेको छ।

‘सुख्खायाममा पानीको सतह अझ घट्ने भएकोले बगेका खोलामा आधारित स्वदेशी ९प्राधिकरण र निजी क्षेत्रका आयोजनाहरुको उत्पादन करिब १२५ मेगावाट जति कम हुन जान्छ,’ उनले भने, ‘सबैभन्दा खराब अवस्था हुने माघ–फागुनमा करिब ५ सय ३० मेगावाटको हाराहारीमा विद्युत् अपुग हुन जान्छ।’

यो अभावलाई पूरा गर्न प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रशारणलाईनमार्फत आयात भइरहेको नियमित ८० मेगावाटमा ४० मेगावाट थप हुने गरी जनवरी १ देखि मे महिनासम्म १२० मेगावाट आयात गर्ने पूरक सम्झौता भारतसँग सम्पन्न गरेको छ।

यति गर्दा पनि हालको नियमित आपूर्तिमा करिब ८५ मेगावाट विद्युत् माघ र फागुनमा कम हुन्छ। विद्युत् उत्पादन र आपूर्ति घटे पनि प्राधिकणले काठमाडौं उपत्यकामा भने माघ र फागुनमा पनि लोडसेडिङ नगर्ने योजना बनाएको छ।

प्रकाशित मिति: Dec 27, 2016

प्रतिक्रिया दिनुहोस्