ओलीले भने ‘एमालेले चुनाव गराउछ’ मधेशी पार्टी ‘सर्लाही र महोत्तरीको पार्टी’
काठमाडौं , पुस १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान अनुसार गर्नुपर्ने निर्वाचन एमालेले गराउने बताएका छन् । सरकारले निर्वाचन वैशाखमा गर्न अन्य दलसँग सहमतिको प्रयास गरिरहेको अवस्थामा ओलीले एमालेले निर्वाचन गराउने घोषणा गरेका हुन् ।
वर्तमान सरकार जति उफ्रेपनि निर्वाचन गराउन नसक्ने अध्यक्ष ओलीको भनाइ थियो। धुम्बाराहीस्थित पार्टी कार्यालयमा रिपोर्टस क्लबको ज्ञापन पत्र बुझ्दै उनले सरकार निर्वाचनप्रति गम्भीर नभएको आरोप लगाए । एमालेले मुलुकलाई कुबाटोतर्फ जान नदिने र निर्वाचनको मिति घोषणा गर्ने ओलीको भनाइ छ। सरकारको अवधि धेरै बाँकी नरहेको भन्दै उनले मुलुकमा एमालेलेनै चुनाव घोषणा गर्ने बताए।
‘सरकार उफ्रने उपद्रो गर्ने चार महिना मात्रै हो हामी त्यसपछि मुलुकलाइ निर्वाचनमा धकेल्छौं,’ ओलीले भने। सञ्चाकर्मीहरुले प्रतिपक्षीमा रहेको एमालेले कसरी निर्वाचन गर्छ भन्ने जिज्ञासामा ओलीले प्रतिक्षा गर्न आग्रह गरे।’हेर्दै जानोस् न हामी चुनाव घोषणा गरेरै छाड्छौं,’ ओलीले भने।
मोर्चालाई भने सर्लाही र महोत्तरीको पार्टी एमाले अध्यक्ष ओलीले मधेसी मोर्चालाई महोत्तरी र सर्लाहीको पार्टीको संज्ञा दिएका छन्। मधेसी मोर्चासँगको तीन बुँदे सहमतिका आधारमा सरकारले संविधान संशोधन गर्न लागेको प्रसंगमा उनले मोर्चालाई सर्लाही र महोत्तरीको पार्टीको संज्ञा दिएका हुन्।
‘महोत्तरी र सर्लाहीतिरको पार्टीसँगको सहमति अनुसार सरकारले संविधान संशोधन गर्न लागेको छ यो अनुपयुक्त छ,’ओलीले भने। फरक प्रसंगमा ओलीले संसदमा एमालेले गरेको अवरोधबाट निर्वाचनको मिति घोषणा गर्न कुनै बाधा नपरेको उल्लेख गरे।