Logo
१२ बैशाख २०८१, बुधबार
(December 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जयकृष्ण गोइतः भारतमा लुकेर मधेशको आन्दोलन !

काठमाडौं, पुस १२ । घटना नम्बर १ः २०७३ मंसिर २३ गते बिहान करिब दुई बजेतिर सिराहाको मिर्चैयामा प्रेसर कुकर बम विष्फोट भयो । पेट्रोलपम्प अगाडि गराइएको विष्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका अध्यक्ष जयकृष्ण गोईतले लिए ।

घट्ना नम्बर २ः मिर्चैया विष्फोटको ठिक ११ दिनअघि (२०७३ मंसिर १२ गते) जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रेसर कुकर बम भेटिएको थियो । सिडिओ कार्यालमा बम भेटिएको केही मिनेटमै जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ती निकालेर बम आफ्नै समुहले राखेका प्रष्टिकरण दिए ।

माथिका दुईओटा घटना पछिल्लो समय जयकृष्ण गोईतसँग जोडिएका प्रतिनिधिमुलक घटना मात्र हुन् । विशेषगरी विष्फोटक पदार्थसँग जोडिएका धेरैजसो घट्नाको जिम्मा लिँदै आएको गोइत समुहको ‘बम आतंक’ को कारण प्रहरी हैरान भएको छ । यता स्थानियहरु त्रासमा बाँच्न बाध्य छन्, उद्योगी ब्यवसायीहरु मोटो चन्दाको शिकार भएका छन् ।

सप्तरीको झुट्की प्रहरी चौकीको असई हत्यादेखि राजविराज स्थित सांसद शुरेन्द्र यादवको घरमा राखिएको सिलिन्डर बमको जिम्मेवारी लिने जयकृष्णले भारतमा बसेर तराईमा बम आतंक मच्चाउँदै आएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार भारतको पटनामा बसेर आफ्नो समुहका सदस्यहरु मार्फत बम आतंक मच्चाउने गोईतले तराईका उद्योगी–ब्यवसायीहरुबाट मासिक लाखौं चन्दा असुली गरिरहेका छन् ।

तिनै आतंकवादको नाईकेलाई प्रहरी लामो समयदेखि खोजिरहेको छ ।
‘जयकृष्ण गोईत हाम्रो फरार अभियुक्तको सुचिमा छन्’ जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख (एसपी) दिवेश लोहनीले भने, ‘हामी खोजिरहेका छौं ।’

सप्तरीको त्रिकोल गाविस स्थायी घर भएका गोईत २०४८ सालमा नेकपा एमाले सप्तरीको जिल्ला नेता थिए । सप्तरी जिल्ला विकास समितीको सभापतीमा चुनाव लड्नका लागी पार्टीले टिकट नदिएपछि नेपाली कांग्रेसका उम्मेद्वार दिनेश यादवलाई जिताउन भुमिका खेलेका गोईत त्यसपछि माओवादी युद्धमा होमिए ।

युद्धकालमा मधेश राष्ट्रिय मुक्तिमोर्चाको संयोजक भए । पछि माओवादीले मात्रिका यादवलाई मधेश राष्ट्रिय मुक्ति मोर्चाको संयोजक बनाएपछि माओवादी छाडेका गोइतले आफ्नै नेतृत्वमा सशस्त्र समुह गठन गरेका थिए ।

लामो समयदेखि भारत बस्दै आएका गोइतलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्युरोले गरेको पटक–पटकको प्रयत्न सफल हुन सकेको छैन । ‘गोइत पटनामा बसेको छ, हामीले त्यहाँ गएर पक्राउ गर्न मिल्दैन’ नेपाल प्रहरीका एक उच्च अधिकारीले रातोपाटीसँग भने, ‘भारतीय पक्ष गोइतलाई पक्राउ गर्न चाहँदैन ।’

विशेष ब्युरोले आतंकवादीको सुचिमा राखेको गोईतका एक दर्जनभन्दा बढी मुद्धा जिल्ला प्रहरी कार्यालय सप्तरीमा थाती रहेका छन् ।
‘हत्या, अपहरण, चन्दा असुली तथा संगठीत अपराध सम्बन्धी गोईतका धेरै केस हामीसँग छ’ सप्तरीका एसपी दिवेश लोहनीले भने, ‘उनले चन्दा असुल्नकै लागि बम आतंक सिर्जना गरेको देखिन्छ ।’ रातोपाटीमा समाचार छ ।

प्रकाशित मिति: Dec 27, 2016

प्रतिक्रिया दिनुहोस्