Logo
७ बैशाख २०८१, शुक्रबार
(December 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्दर्भ भूपिजयन्ती: यस्ता थिए शेरचन !

आजको दिन वि.सं. १९९२ सालमा मुस्ताङको थाक टुकुचेमा कवि भूपि शेरचनको जन्म भएको थियो । भूपिका कविता अहिले पनि बारम्बार उद्धृत हुने नेपाली कवितामा पर्छन् ।

सरल तर अत्यन्त प्रभावकारी तथा प्रभावशाली कविता लेख्ने भूपि व्यक्तिगत जीवनमा मृदुभाषी तथा सहज भएको उनीनिकट बताउँछन्। नयाँ पुस्तालाई अत्यन्त माया गर्ने भूपिको स्वभाव थियो। तीमध्ये एक हुन्, नाट्यकर्मी अशेष मल्ल। भूपिजयन्तीको सन्दर्भ पारेर नयाँ पत्रिकाले भूपिका स्वभावबारेमा तयार पारेको सामग्री छ।

सहज हुनुहुन्थ्यो

यो ०३४–०३५ सालको कुरा हो । म त्यतिवेला त्रिभुवन विश्वविद्यालयमा एमए पढ्दै थिएँ । हामीले कलेजमा विभिन्न कार्यक्रम गथ्र्यौं । त्यस्तै, एकपटक हामीले कवि गोष्ठी आयोजना गर्ने भयौँ । त्यो कवि गोष्ठीको संयोजन मैले नै गर्दै थिएँ । त्यसमा हामीले त्यतिवेलाका प्रभावशाली कविहरूलाई बोलाउने भयौँ । केदारमान व्यथित, माधव घिमिरेलगायतलाई बोलाउन म गएँ । हामीले कार्यक्रममा भूपि शेरचनलाई पनि बोलाउने भएका थियौँ ।

म यो अनुरोध गर्न उहाँको निवासमा पुगेँ । तर, उहाँलाई त्यसअघि मैले भेटेकै थिइनँ । मैले त्यो कार्यक्रमबारे उहाँलाई बताएँ । उहाँलाई कार्यक्रममा सहभागी हुन अनुरोध पनि गरेँ । उहाँले अत्यन्त सहजै त्यसलाई स्वीकार गर्नुभयो । उहाँले सहर्ष स्वीकार गरेकाले म खुसी हुनु स्वाभाविक थियो ।

माया गर्नुहुन्थ्यो

भूपि दाइको सबैभन्दा राम्रो बानी भनेको उहाँ अत्यन्त माया गर्ने स्वभावको हुनुहुन्थ्यो । उहाँले आफूभन्दा सिनियरलाई जसरी सम्मान गर्नुहुन्थ्यो, त्यस्तै आफूभन्दा पछिल्लो पुस्ताकालाई पनि अत्यन्त माया गर्नुहुन्थ्यो । मलाई पनि उहाँले अत्यन्त माया गर्नुभयो । मलाई उहाँसँग भेट्दा आफ्नै दाजुसँग भेटेजस्तो लाग्थ्यो । मसँग उहाँले सधैँ एउटै परिवारको जस्तो व्यवहार गर्नुहुन्थ्यो ।

चिन्ता गर्नुहुन्थेन

सहज र सरल स्वभावको भएकाले पनि होला, भूपि दाइ धेरै चिन्ता गर्नुहुन्नथ्यो । उहाँ आफ्नैबारे पनि उति धेरै चिन्ता गर्ने व्यक्ति होइन । उहाँ भेटहरूमा भन्नुहुन्थ्यो, ‘म त रोगको घर हुँ ।’ हुन पनि उहाँलाई विभिन्न रोग लागेका थिए । तर, निस्फिक्री भएर उहाँ आफूलाई सबै रोग भएको स्वीकार गर्नुहुन्थ्यो । त्यसमा चिन्ता लिनुहुन्थेन ।

प्रचुर सेन्स अफ ह्युमर

भूपि दाइ जे कुरामा पनि छिटो जवाफ फर्काउन सक्नुहुन्थ्यो। त्यस्ता जवाफमा व्यंग्य र हास्यरस प्रचुर हुन्थे। उहाँ बिरामी भएपछि वीर अस्पतालमा भर्ना हुनुभयो। श्रीमतीसहित म उहाँलाई भेट्न गएँ। त्यहाँ अर्का एकजना कवि पनि पहिल्यै पुग्नुभएको रहेछ। उहाँहरू कुरा गर्दै हुनुहुन्थ्यो ।

ती कविले भूपि दाइलाई भन्नुभयो, ‘दाइसँग त भेटघाट नै हुन छाड्यो आजभोलि ।’ भूपि दाइले जवाफ दिनुभयो, ‘आज आउनुभयो, ठिकै भयो । नत्र एक–दुई दिनपछि त मलाई भेट्न भेटघाटको भेट काटेर घाटमा आउनुपथ्र्यो ।’

यो त उहाँले गरेको जोक थियो । तर, यही जोक वास्तविकतामा परिणत भयो । केही दिनपछि उहाँ हामीमाझ रहनुभएन। त्यस्तै, अर्को प्रसंग पनि म सम्झिन्छु।

यो तिहारको समय हो । हामी उहाँको घरमा देउसी–भैलो खेल्न गएका थियौँ । राति पुगेका हामीले बिहानसम्मै त्यहाँ रमाइलो गरेर मनायौँ । उहाँले त्यतिवेला पनि फ्याट्ट जवाफ दिनुभएको थियो । ‘अनुमान छैन दाइ’ भन्दा उहाँले भन्नुभयो– अनुमान त हनुमानले पनि गर्न सक्दैन । यस्तो जीवन्त र हसमुख कवि मैले अरू कोही भेटेको छैन ।

विचारमा अडिग

म विराटनगरमा थिएँ, बिए पढ्दै थिएँ। उहाँको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ भन्ने कविता संग्रह हात प-यो । त्यो संग्रह मेरा लागि ‘गीता’ भयो । त्यसका प्रत्येक कविता जीवन्त छन् । हाम्रो जेनेरेसनका प्रायःलाई ती कविता कण्ठस्थ पनि थियो । त्यसैले पनि भूपि अत्यन्त प्रिय लाग्न थाल्यो। मोहन कोइराला र भूपि शेरचन मेरा प्रिय कवि हुन् ।

भूपि दाइका कविताको विषय र प्रस्तुतिले छोयो, प्रभावशाली रूपमा। त्यस्तो कविलाई काठमाडौंमा भेट्न पाउँदा म अत्यन्त खुसी भएँ। तर, उहाँलाई हामीले कविका रूपमा मात्र होइन, विद्रोही कविका रूपमा लिन्थ्यौँ। तर, विश्वविद्यालयको कविता गोष्ठीमा उहाँले राजाका पक्षमा पो कविता सुनाइदिनुभयो।

हामीले त्यस्तो आशा गरेकै थिएनौँ। त्यस्तो ठूलो विद्वान् कविले त्यस्तो गर्नुहोला भन्ने सोचेका पनि थिएनौँ । मलाई पनि लाग्यो– भूपि दाइले यस्तो कविता नलेखेको भए हुन्थ्यो नि। पछि हामीले उहाँलाई यो कुरा पनि भन्यौँ। तर, उहाँले विचार परिवर्तन गर्नुभएन। त्यस्तो विचार किन उहाँमा आयो भन्नेचाहिँ पछिसम्म पनि थाहा पाउन सकेनौँ।

काठमाडौंमा स्ट्यान्डर्ड बसाइ

भूपि दाइ चिटिक्क परेर हिँड्न रुचाउनुहुन्थ्यो। जहिले पनि आफ्नो स्ट्यान्डर्ड मेन्टेन गर्नुहुन्थ्यो। उहाँको घरमा पनि त्यस्तै वातावरण थियो। काठमाडौंको खानदानीको घरजस्तो लाग्थ्यो। आएका पाहुनालाई दिल खोलेर खुवाउनुहुन्थ्यो। एकपटक म पनि पुगेको थिएँ।

केहीअघि मात्र खाजा खाएर गएकाले उहाँलाई भनेँ, ‘दाइ, मैले भर्खर खाएर आएको, अहिले खान्नँ।’ उहाँले फ्याट्टै भन्नुभयो, ‘तिमी गरिब छौ, खाऊ भनेको त कहाँ हो र ?’ उहाँले रक्सी खाएको विषयमा धेरै कुरा चल्छन्। तर, मैले उहाँलाई रक्सी पिए पनि तल्लो स्तरमा पुगेर पिएको चाहिँ कहिल्यै देखिनँ।

दुई ‘क’ ले बिग्रिएँ भन्नुहुन्थ्यो

उहाँ अत्यन्त बौद्धिक मान्छे हुनुहुन्थ्यो। अध्ययन त्यस्तै गहिरो गर्नुहुन्थ्यो, कुराकानी पनि अत्यन्त गहिरा। उहाँहरू एकपटक रुस जानुभएको थियो। फर्केर आएपछि त्यहाँका कुरा धेरै समयसम्म गरिरहनुहुन्थ्यो। त्यतिवेला म ‘गरिमा’ पत्रिकामा निरन्तर लेखकहरूसँग अन्तर्वार्ता गरिरहेको हुन्थेँ। एकपटक त्यही स्तम्भका लागि मैले भूपि दाइको अन्तर्वार्ता लिएँ।

उहाँले भन्नुभयो, ‘मलाई दुई ”क” ले बिगा‍र्‍यो। एउटा कवि भएर म बिग्रिएँ, अर्को कम्युनिस्ट भएर म बिग्रिएँ ।’ उहाँलाई सबैले कम्युनिस्टका रूपमा बुझ्थे, तर पछि त उहाँले नै आफूलाई ‘कम्युनिस्ट होइन’ भनेर घोषणा गर्नुभयो ।

कविता सुन्न उत्सुक

भूपि दाइ जहिले भेट्दा पनि कविता सुनाउन भन्नुहुन्थ्यो । उहाँ जहिले पनि ‘ल कविता सुना त’ भन्नुहुन्थ्यो । त्यसैले उहाँलाई भेट्न जाँदा म सधैँ एउटा कविता लिएरै जान्थेँ । उहाँले कविता सुनिसकेपछि त्यसमाथि कमेन्ट पनि गर्नुहुन्थ्यो । उहाँका धेरै कविता त मलाई कण्ठस्थ आउँथ्यो । त्यसैले पनि म उहाँबाट धेरै प्रभावित थिएँ । आफू प्रभावित भएको मान्छेलाई कविता सुनाउन पाउँदा म पनि खुसी हुन्थेँ।

मेरो एउटा अपूरो चाहना

उहाँको हामी कविता मलाई अत्यन्त मन पर्ने कवितामध्ये एक हो । म त्यो कवितामाथि नाटक मन्चन गर्न चाहन्थेँ । मेरो चाहना थियो, भूपि दाइलाई पनि त्यो नाटक देखाउँ । तर, म त्यसमा सफल भइनँ । मेरो त्यो चाहना पूरा भएन । यो कुराको मलाई थकथकी लागिरहन्छ ।

प्रकाशित मिति: Dec 27, 2016

प्रतिक्रिया दिनुहोस्