Logo
१५ चैत्र २०८०, बिहीबार
(December 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘संशोधन नभए  संविधान संशोधन नभए खारेज गछौं’

विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले केही सीमित व्यक्तिले बनाएको एकल जातीय संविधान नस्वीकार्ने चेतावनी दिएका छन् । मधेशी जनजाति लगायत समग्र उत्पीडित समुदायको मागलाई उपेक्षा गरेर जारी गरिएको संविधान मुलुकको हितमा नभएकोले यसलाई स्वीकार गर्न नसकिने यादवले बताए ।

‘केही व्यक्तिको स्वार्थले जारी गरिएको एकल जातीय संविधानलाई उत्पीडित समुदायले स्वीकार गर्दैर्नौ’ –शनिबार संघीय समाजवादी फोरम नेपाल मोरङ जिल्लाको एकता अधिवेशन समारोहलाई सम्बोधन गर्दै यादवले भने,– ‘यसअघि सात वटा विभेदकारी संविधान खारेज भइसकेको छ, संशोधन गरिएन भने यो संविधान पनि खारेज हुन्छ ।’

विश्व समुदायले समेत यो संविधानलाई त्रुटिपूर्ण छ भनिसकेको अवस्थामा सबैलाई मान्य र सर्वस्वीकार्य हुनेगरि संशोधन गर्नुको विकल्प नभएको यादवले जिकिर गरे । उनले भने,– ‘व्यक्तिगत स्वार्थको लहडमा संविधान जारी गर्दा भएको गल्ती सुधान गर्न आलटाल किन ? हरेक वर्ग, जात, समुदायको माग सम्बोधनका लागि यदि तीन दल गम्भीर छन् भने सबैलाई मान्य हुनेगरि संविधान संशोधन गर्नुको विकल्प छैन ।’
संशोधन मार्फत् सर्वस्वीकार नहुञ्जेलसम्म संविधान कार्यान्वयन हुनै नसक्ने दाबी गर्दै अध्यक्ष यादवले सहमतिका आधारमा संशोधनमा ढिलाई गर्न नहुने सुझाव दिए । ‘मधेशी, जनजाति लगायत उत्पीडित समुदायलाई अधिकार नदिन एमालेले लुम्बिनी क्षेत्रमा प्रायोजित ढंगले आन्दोलन थालेको छ’– जातीय सद्भाव बिथोल्न एमाले खुलेरै लागेको आरोप लगाउँदै अध्यक्ष यादवले भने,– ‘मधेशको शान्तिपूर्ण प्रदर्शन अन्धाधुन्ध गोली हानी सर्वसाधारण जनताको हत्या गर्ने प्रहरी प्रशासनले बुटवलको कृतिम आन्दोलनमा उल्टै सहयोग गरिरहेको छ, यो भन्दा ठूलो विभेद् अरु के हुन सक्छ ।’

यसैबीच, विराटनगरको एकता अधिवेशनमा फोरम नेपालका तीन जना शीर्ष नेताहरुलाई ३५ किलोको माला लगाएर भव्य स्वागत गरिएको छ । फोरमका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र वरिष्ठ उपाध्यक्ष युवराज कार्कीलाई ३५ किलोको माला लगाइदिएको हो ।
प्रथम एकता अधिवेशनलाई सम्बोध गर्न विराटनगरको हाटखोला मैदानमा आयोजना गरिएको आमसभालाई फोरम मोरङका अध्यक्ष राजकुमार यादवले नेतात्रयलाई माला लगाइ दिएका थिए ।

पार्टी एकीकरणपछि पहिलो पटक मोरङ फोरमको जिल्ला अधिवेशन विराटनगरमा जारी छ । अधिवेशनमा मधेसी समूदाय सहित थुप्रै संख्यामा आदिवासी–जनजाति र खस समुदायको उल्लेख्य सहभागिता छ । अधिवेशनको उद्घाटन समारोहमा आदिवासी–जनजातिहरुले आफ्नो मौलिक बाजा र नाचगान समेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: Dec 25, 2016

प्रतिक्रिया दिनुहोस्