Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय अर्थतन्त्रले बेलायतलाई उछिन्यो

विश्वका ६ ठूला अर्थतन्त्र- अमेरिका, चीन, जापान, जर्मनी, फ्रान्स र भारत
एजेन्सी, कुनै समय भारतलाई आफ्नो उपनिवेश बनाएको बेलायतको अर्थतन्त्रलाई हालै भारतले पछि पारेको छ। गत १ सय ५० वर्षमा भारतीय अर्थतन्त्रले पहिलो पल्ट बेलायती अर्थतन्त्रलाई उछिनेको जनाइएको छ।

‘फोर्ब्स’ म्यागेजिनमा प्रकाशित एक रिपोर्टअनुसार बेलायतको कुल ग्रार्हस्थ उत्पादन २.२९ ट्रिलियन डलर र भारतको कुल ग्रार्हस्थ उत्पादन २.३० ट्रिलियन डलर रहेको छ।

भारत र बेलायतको कुल ग्रार्हस्थ उत्पादनबीचको यो फरक आउँदो दिनमा फराकिलो हुँदै जाने भविष्यवाणी सो रिपोर्टमा गरिएको छ। सन् २०२० सम्ममा भारतको वृद्धिदर ६ देखि ८ प्रतिशतको बीचमा रहने अनुमान गरिएको छ भने बेलायतको वृद्धिदर १ देखि २ प्रतिशतको बीचमा रहने जनाइएको छ। यसैकारण पनि भारत र बेलायतको अर्थतन्त्रको आकारमा फरक पार्ने विश्लेषण गरिएको छ।

गत २५ वर्षमा भारतीय अर्थतन्त्रमा आएको वृद्धि र खासगरी ‘ब्रेक्जिट’ पछि बेलायती पाउन्डमा आएको गिरावटका कारण भारतीय अर्थव्यवस्था बेलायती अर्थव्यवस्थाभन्दा ठूलो हुन पुगेको हो। यसअघि सन् २०२० सम्ममा भारतीय अर्थव्यवस्थाले बेलायतलाई उछिन्ने अपेक्षा गरिएको थियो।

फोर्ब्सको रिपोर्टले अन्तर्राष्ट्रिय मुद्राकोषको हवाला दिँदै विश्वव्यापी रुपमा मालसामानको मूल्यमा आएको गिरावट र आशा गरिएभन्दा कम मुद्रास्फितिका कारण पनि भारतको अर्थतन्त्र फाइदामा गएको जनाएको छ।

भारतका गृहराज्यमन्त्री किरण रिजुजुले ‘टाइम्स अफ इन्डिया’ सँग भनेका छन्, ‘भारतले बेलायतलाई पछि पार्दै कुल ग्रार्हस्थ उत्पादनका आधारमा अमेरिका, चीन, जापान र जर्मनी, फ्रान्सपछिको छैटौँ ठूलो अर्थतन्त्र बनेको छ। भारतमा जनसंख्या धेरै भए पनि यो एउटा ठूलो छलाङ हो।’

भारतीय अर्थतन्त्रको इतिहासमा यो कोशेढुंगो हुने पनि सो रिपोर्टमा उल्लेख गरिएको छ। यद्यपि प्रतिव्यक्ति आय भने भारतको भन्दा बेलायतको पाँच गुणा बढी रहेको छ। उक्त रिपोर्टमा सन् १९०५ मा रुसमाथि जापानको सैन्य विजयले पूर्वका देश कमजोर छन् भन्ने मान्यतालाई तोडेको उदाहरण दिँदै भनिएको छ, ‘भारतको कुल ग्रार्हस्थ उत्पादनले बेलायतलाई २०१६ मा उछिन्नुले त्यस्तै क्षणलाई दर्शाउँछ। एजेन्सी

प्रकाशित मिति: Dec 23, 2016

प्रतिक्रिया दिनुहोस्