Logo
८ बैशाख २०८१, शनिबार
(December 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वराजा ज्ञानेन्द्रको वक्तव्य पछि मन्त्रिपरिषद्मै उत्पात !

काठमाडौं,७ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले वक्तव्य दिएको २४ घण्टा नबित्तदै मन्त्रीपरिषद्मा उत्पात मच्चिएको छ । पूर्वराजा शाहले राजनीतिक दल र जनआन्दोलनको उपलब्धीप्रति प्रश्न उठाउँदै राजनीतिक वक्तव्य दिएको २४ घण्टा नबित्तदै मन्त्रीपरिषद्मा उत्पात मच्चिएको हो ।

ज्ञानेन्द्रको वक्तव्यलाई लिएर सरकारका गृहमन्त्रीलेनै बिहीबारको मन्त्रिपरिषद् बैठकमा दरबार हत्याकाण्डको पुनः छानबिनको प्रस्ताव ल्याए भने अन्यले पनि यस विषयमा सहमत जनाएको उच्च स्रोतको दावी छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दरबार हत्याकाण्डको छानविन गरिनुपर्ने कुरा उठाएका हुन् ।

नारायणहिटी दरबारभित्र ०५८ जेठ १९ गते राति गोलीकाण्ड हुँदा तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको थियो । सो घटना छानबिन गर्न भन्दै तत्कालीन सरकारले पूर्वसभामुख तारानाथ रानाभाटको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

समितिले दरबार हत्याकाण्डमा पूर्वयुवराज दीपेन्द्रको हात रहेको निष्कर्ष निकालेको थियो, जुन आम जनताले पत्याएका छैनन् । अकल्पनीय यस घटनाको १५ वर्षपछि पुनः छानविनको कुरा उठेको हो ।

बिहीबारको मन्त्रिपरिषद बैठकमा मन्त्रालयगत एजेण्डाहरुमाथि निर्णय भएपछि समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । सुरुमै उपप्रधान एवम् गृहमन्त्री निधिले पूर्वराजा ज्ञानेन्द्रबाट जारी गरिएको विज्ञप्तिको प्रसंग कोट्याए ।

उनले अब दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने बताए । बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारी अनुसार मन्त्री निधीले दरबार हत्याकाण्डको छानविन प्रतिवेदन त्यत्तिकै थन्किएको भन्दै अब त्यसलाई खोतल्नुपर्ने बताए ।

तर, कांग्रेसकै मन्त्रीहरु रमेश लेखक र नविन्द्रराज जोशीले मन्त्री निधीको कुरा जायज भए पनि अहिले संविधान कार्यान्वयनतर्फ केन्द्रित हुनुपर्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले पनि पूर्वराजाको वक्तव्य आउनु, राजनीतिक दलहरुले संघीयता विरोधी अभिव्यक्ति दिँदै हिँड्नु र संविधान संशोधनको विरोधमा आन्दोलन हुनुलाई सामान्यरुपमा लिन नहुने विश्लेषण मन्त्रीहरुलाई सुनाएको स्रोतको दावी छ ।

‘पछिल्ला जे जति गतिविधिहरु भएका छन, ती सबै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक जस्ता उपलब्धीविरुद्ध छन्,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘हामी सबै संविधान कार्यान्वयनमा केन्द्रित होऔं, षडयन्त्रलाई चिरौं ।’ यससँगै पछिललो राजनीति अझ तंरगित हुने सम्भावना बढेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति: Dec 22, 2016

प्रतिक्रिया दिनुहोस्