Logo
६ बैशाख २०८१, बिहीबार
(December 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षितले नै गर्नेगरेकाछन जातीय आधारमा दुर्ब्यवहार

काठमाडौं । कथित बोक्सीको आरोपमा काभ्रे सानोवाङथलीकी लक्ष्मी परियारलाई गाउँकै शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले दिसा खुवाउँदै २२ मंसिरमा निर्घात कुटपिट गरे । यही कारण लक्ष्मीको २४ मंसिरमा मृत्यु भयो । त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम रिपोर्टअनुसार कुटाइकै कारण लक्ष्मीको मृत्यु भएको पुष्टि भएको छ । घटनामा संलग्नलाई काभ्रे प्रहरीले पक्राउ गरेर मुद्दा चलाउने तयारी गरेको छ, लक्ष्मीको शव शिक्षण अस्पतालमा छ, आजको नयाँ पत्रिकामा खबर छ ।

आठ वर्षअघि ललितपुरमा यही प्रकृतिको घटना भएको थियो । ७ चैत ०६५ मा प्युटार–७ की ४५ वर्षीया कल्लीकुमारी विकलाई भञ्ज्याङ प्राथमिक विद्यालयकी प्रधानाध्यापिका विमला थापाको टोलीले दिसा खुवाउँदै कुटपिट गरेको थियो । यद्यपि, उनी बाँच्न सफल भइन् । पीडक थापा पक्राउ परिन्, तर अदालतले सामान्य धरौटीमा रिहा गर्‍यो ।

राष्ट्रिय दलित आयोग र समता फाउन्डेसनले तयार गरेका अनुसन्धान विवरणहरूमा जातीय छुवाछुतका घटनामा अपेक्षित कानुनी कारबाही हुन नसकेको उल्लेख छ । शिक्षित भनिएकाहरू नै दुव्र्यवहारका घटनामा संलग्न रहेको र कतिपय घटनामा प्रहरीले उजुरी नै लिन मानेको देखिँदैन । देश छुवाछुमुक्त भइसक्दा पनि जातीय विभेद तथा बोक्सीको नाउँमा कुटपिट गर्ने, दिसा खुवाउने, गाउँबाट बहिष्कार गर्नेदेखि बर्बरतापूर्वक हत्या गर्नेसम्मका दर्जनौँ उदाहरण छन् ।

उजुरी नै लिन मान्दैन प्रहरी
उदाहरण : काभ्रे पाँचखालका अजित मिजार र पराजुली थरकी युवतीबीच २५ असार ०७३ मा प्रेमविवाह भयो । युवतीको परिवारले मिजारविरुद्ध प्रहरीमा बालविवाहको उजुरी दियो । २७ असारमा उनीहरूबीच सम्बन्धविच्छेद गराइयो । २८ असारमा मिजार बेपत्ता भए । केही दिनमै धादिङ गजुरीमा उनको शव फेला प-यो । प्रहरीले परिवारलाई जानकारी नदिई मिजारको शव गाड्यो । तर, दलित अधिकारकर्मी र आफन्तको दबाबमा शव उत्खनन गरी ३ साउनमा शिक्षण अस्पतालमा पोस्टमार्टम गरियो । मिजारको हत्या पुष्टि भए पनि प्रहरीले लामो समयसम्म मुद्दा दर्ता गर्न मानेन । अहिले प्रहरीले युवतीकी आमालाई मात्र थुनामा राखेको छ । मिजारको शव पाँच महिनादेखि शिक्षण अस्पतालमै छ ।

प्रकाशित मिति: Dec 17, 2016

प्रतिक्रिया दिनुहोस्