Logo
१५ चैत्र २०८०, बिहीबार
(December 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१ घण्टा कुरेर मात्र ओलीलाई भेटन पाए प्रचण्ड र देउवाले

काठमाडौं, मंसिर २८ ।  एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एक घण्टा बालुवाटारमा कुराएका छन् । बालुवाटारमा बिहान साढे ९ बजेको लागि बोलाइएको बैठकमा ओली साढे १० बजेमात्रै पुगेका थिए । जवकी देउवा साढे ९ बजेनै बालुवाटार पुगेका थिए । ओली निर्धारित समयमा नआएपछि देउवा र प्रचण्ड एक घण्टासम्म कुरेर बस्न बाध्य भएका थिए ।

ढिलागरी बालुवाटार पुगेका ओली मुसुमुसु हाँस्दै बैठककक्षभित्र प्रवेश गरेका थिए । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा प्रतिपक्षी दल नेकपा एमालेबीच चिसिएको सम्बन्ध सुधारको प्रयास भएको छ । कांग्रेसको बलियो समर्थनमा सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेसँगै चिसिएको सत्तारुढ दल र प्रतिपक्षीदलबीच सम्बन्ध सुधारको प्रयास भएको हो ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका  देउवा र एमाले अध्यक्ष  ओलीबीच बालुवाटारमा छलफल भएको छ । छलफल संविधान संशोधन, स्थानीय तहको निर्वाचन र जारी राजनीतिक गतिरोध अन्त्यका विषयमा केन्द्रीत रहेको बताइएको छ ।

सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएसँगै एमालेले सडक र सदनमार्फत संघर्ष गर्दै आएको छ । विशेषगरी सीमांकनमा एमालेको तीब्र असन्तुष्टि रहेको छ । पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई टुक्र्याएको विरोधमा एमाले आन्दोलिन मात्रै बनेको छैन उसले सरकारले ‘राष्ट्रघात’ गर्न खोजेको समेत आरोप लगाएको छ ।

सरकारले संशोधन प्रस्ताव फिर्ता लिनु पर्ने अडानमा एमाले रहेको बेला आज प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल भएको हो ।
बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रतिक्रिया दिए । शीर्ष नेताहरुबीच ‘पानी बाराबार’ को सम्बन्ध रहेको बेला ओलीले छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको भन्दै सकारात्मक प्रतिक्रिया दिएका हुन् ।

उनले छलफल संविधान संशोधन र निर्वाचनको विषमया केन्द्रीत भएको भन्दै संशोधनलाई थाती राखेर निर्वाचनमा जानुपर्ने आफूले बैठकमा धारणा राखेको सञ्चारकर्मीहरुलाई बताए । आफ्नो प्रस्तावलाई प्रचण्ड र देउवाले सकारात्मक रुपमा लिएको आफूले पाएको दाबी गर्दै ओलीले फेरि अर्को बैठक बसेर सहमति खोजिने जानकारी दिए ।

‘निर्वाचनमा जानको लागि आवश्यक निर्वाचनसम्बन्धी कानुनहरु संशोधन गरेर जाने विषयमा पनि छलफल भएको छ ’, ओलीले भने, ‘ निर्वाचनको कुरालाई एमालेले स्वीकार गरेको छ । प्रधानम्न्त्रीले पछि निर्वाचनमा जाने कुरा गरेकाले यसमा सहमति जुट्ने विस्वास व्यक्त गरे । बैठकपछि कांग्रेस सभापति देउवाले संशोधन प्रस्ताव फिर्ता नहुने प्रतिक्रिया दिए । यसबारे पुन छलफल गरेर एमालेलाई पनि मनाउने प्रयास हुने उनको भनाई थियो ।

प्रकाशित मिति: Dec 13, 2016

प्रतिक्रिया दिनुहोस्