Logo
१५ चैत्र २०८०, बिहीबार
(December 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चाइनाले एनटीसीलाई आईपी सेवा उपलब्ध गराउने

काठमाडाैं ।  नेपाल टेलिकम(एनटीसी) र चाइना टेलिकम ग्लोबल(सीटीजी)बीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबुल मार्गबाट जोड्न नेपाललाई आईपी सर्भिस उपलब्ध गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । चीनसँग स्थल मार्ग हुँदै जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज टेलिकमले जनाएको छ ।

भारत हुँदै प्रयोग गरिएको रुट बाहेक अन्तराष्ट्रिय अन्तरआबद्धताका लागि यो अर्को महत्वपूर्ण र समानान्तर विकल्प हुने टेलिकमले जनाएको छ।  सम्झौता पत्रमा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकम ग्लोबल लिमिटेड (सीटीजी) का कार्यकारी उपाध्यक्ष ओउ यानले हङकङमा आयोजित एक कार्यक्रममा मंगलबार हस्ताक्षर गरेको नेपाल टेलिकमले जनाएको छ।

केही समयअघि मात्र एनटीसी र सीटीजी अप्टिकल फाइबरमार्फत जोडिएका थिए। यसअघि नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकसँग जोडिएकोमा अब चिनियाँ बाटोबाट समेत नेपाल अन्तराष्ट्रिय इन्टरनेटमा आवद्ध हुन सक्ने भएको हो।

सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्यले, नेपाल टेलिकमले यो थप रुटबाट लाभ लिन सक्ने विश्वास ब्यक्त गरेको टेलिकमले जनाएको छ। चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबको रुपमा स्थापित गर्न सकिने अपेक्षा समेत अमात्यले व्यक्त गरेका थिए।

त्यस्तै सीटीजीका कार्यकारी उपाध्यक्ष ओउ यानले चाइना टेलिकमले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार कार्य गरिरहेको र यसबाट नेपाल–चीन रुटमा सेवा प्रदान गर्नुका साथै भारतबाट समेत ट्रान्जिट सेवा प्राप्त गर्न सहयोग पुग्ने बताए। उनले नेपाल टेलिकमलाई अत्याधुनिक सुविधासहितको रुट प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए।

प्रकाशित मिति: Dec 11, 2016

प्रतिक्रिया दिनुहोस्