Logo
१३ बैशाख २०८१, बिहीबार
(December 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पानीको हाहाकार: ‘पिउने पानी छैन, के ले गारो माटो मुछ्नु ?’

धादिङ   । कुम्पुर भन्ज्याङ्ग निवासी दुर्गा नेपालीले भनिन्, ‘ल्याएको पहिलो किस्ता रकम लोग्नेमान्छेहरुले फुर्मासी गरेर सक्न थाले, पानी नभएर यता जग खनिएको समेत छैन, रकम जोगाउनै गाह्रो भो ।’  मंसिर २६, २०७३- भूकम्पपछिका पुनर्निर्माणको त कुरै छोडौं, धादिङ जिल्लाका मध्य र दक्षिणी भेगमा पिउने पानीकै हाहाकार भएको छ ।

यसै पनि वर्षौदेखि पानीको अभाव खेपिरहेका स्थानीयवासीहरुले भूकम्पले भत्काएको घर पुनर्निर्माण गर्न पहिलो किस्ता रकम त लिए तर सबै गाउँलेहरुले एकै पटक घर निर्माणको थालनी गर्दा पानीकै चरम अभाव देखिएको छ । गाउँवस्तीका स्वास्थ्यचौकी, विद्यालय र गाउँबस्तीमा भएका पुरानाधाराका मुहान सुक्दै जानु, भएका खानेपानी पाइपलाइनको सुरक्षा र मर्मत संभार नहुनु र सडक निर्माण गर्दा हुने पाइपलाइन क्षतिले समस्यामा झनै समस्या थपिँदै गएका छन् ।

बेलायती सहयोग नियोग (डिएफआईडी)को अनुदानमा कुम्पुर गाविसमा निर्माणाधिन खानेपानी आयोजना अध्ययन, अनुगमन गर्न गएका बेलायती राजदूत रिचर्ड चाल्र्स मोरिजलाई स्थानीय महिलाहरुले घेरेर खानेपानीकै समस्या सुनाए । डाँडामा रहेको कुम्पुरको ठूलो बस्ती, सानातिना मुहान र कुवा सबै बस्ती मुन्तिर । राजदूत मोरिज र डिएफआईडीकी काठमाडौंस्थित राष्ट्रिय निर्देशक जेल मार्जेटीसँग स्थानीय महिलाहरुले ‘पानी नभएसम्म पुनर्निर्माण गर्न नसकिने भन्दै निर्माणाधिन खानेपानी योजना तत्काल निर्माण गर्न आग्रह गरेका थिए । स्थानीय कुम्पुर भन्ज्याङ्ग निवासी दुर्गा नेपालीले भनिन्, ‘ल्याएको पहिलो किस्ता रकम लोग्नेमान्छेहरुले फुर्मासी गरेर सक्न थाले, पानी नभएर यता जग खनिएको समेत छैन, रकम जोगाउनै गाह्रो भो ।’

डिएफआईडीले करिब ६४ लाखको सहयोगमा ४ सय २४ घरधुरीलाई हुने गरी कुम्पुरमा ५ वटा खानेपानी आयोजना निर्माण गर्दैछ । उक्त दातृनिकायले स्थानीय संस्था एक्सन नेपाल र फोकस नेपालमार्फत् गजुरी, धुषा, दार्खा, सत्यदेवी, वेनीघाट लगायतका गाविसहरुमा भूकम्पपछि समस्या परेका बस्तीहरुमा २ करोड ७४ लाख अनुदानमा खानेपानी निर्माण तथा मर्मत गर्दैछ ।

जिल्लाका २ दर्जन गाविसहरुमा हिउँदे मौसमको आरम्भमै गाउँबस्तीमा खानेपानीको अभाव शुरु भएको छ । भूकम्प अगावै पानीको अभाव झेल्दै आएको पीडा–६, श्यामैडाँडा पृथ्वीराजमार्गको आदमघाटबाट ५ किमी टाढा दूरी रहेको स्यामैडाँडाका २ सय घरधुरीमध्ये १ सय ६१ घरपरिवार चेपाङ्ग मात्रै छन् । गाविसस्तरकै नीति निर्माण तहमा चेपाङ्गहरुको पहुँच नभएपछि बस्ती छ, पिउने पानी छैन । भएका ४ वटा कुवाका मुहान पनि भूकम्पले सुकाएकै डेढ वर्ष भइसक्यो ।

भूकम्प जानुअघि पनि यस गाउँका चेपाङ समुदायले तिर्खा मेटाउन सकेका थिएनन् । भूकम्पपछि त उनीहरूले तिर्खा मेटाउन आशै मारे । भूकम्पपछि २ सय घरधुरीको पानी खाने चारवटा धारा कुवा सुक्यो । उनीहरू झनै समस्यामा परे । के बालबालिका, के वयस्क, के वृद्धवृद्धा जोकोही पनि पानी ओसार्न एकाविहानै खटिनु परेपछि पूरा निन्द्रा कोही पनि सुत्न पाउँदैनन् ।

‘बिहान ४ बजेदेखि बेलुका ११ बजेसम्म पानी कहाँ छ भनेर खोज्दै हिँड्नु पर्छ, हाम्रो समस्या कसले बुझने ? लोग्ने मान्छेहरु पनि पानी माग्न कतै जाँदैनन्’ खानेपानी र खाद्य समस्या व्यहोर्ने श्यामैडाँडामा गठित खाद्यअधिकार समूहकी अध्यक्ष विमला चेपाङ । ‘भूकम्पले भत्केको घर बनाउन सरकारले पैसा दिन्छ रे, खानेपानी त छैन कसरी घर बनाउने, पानी बोकेर घर बनाउन पर्‍यो भने पानी बोक्ने ज्याला पुग्दैन’ समूहकी सदस्य संगीता चेपाङले भनिन्, ‘सरकारले पहिला गाउँमा पानी ल्याउने योजना सञ्चालन गर्न पर्‍यो अनी बल्ल घर बनाउने ।’
यस्तो समस्या श्यामैडाँडामा मात्र होइन ।

सल्यानटार गाविसका हुनेखानेले पनि ट्यांकरमा पानी २६ सय रुपैयाँमा किनेर गुजारा गरिरहेका छन् । विपन्नवर्ग भने पानीकै अभावमा टार वरिपरिका रैथाने कुवा र मुहान धाउदै दिन बिताई रहेका छन् ।‘ सल्यानटारमा रहेका २३ सय घरधुरीमध्ये दुई हजार २ सय घर निर्माण गर्नुपर्नेमा खानेपानी समस्याले नै पुनर्निर्माणको लागि प्रमुख समस्या देखा परेको’ पूर्वगाविस अध्यक्ष फणिकान्त छत्कुली बताउँछन् । कान्तिपुरमा समाचार छ ।

प्रकाशित मिति: Dec 11, 2016

प्रतिक्रिया दिनुहोस्