Logo
७ बैशाख २०८१, शुक्रबार
(December 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले अध्यक्ष ओली: एमाले बाहेकले देश चलाउन सक्दैन

काठमाडौं, मङ्सिर २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचन नगर्ने षडयन्त्र गरिरहेको बताएका छन् । संघीय समाजवादी फोरम नेपाल परित्याग गरेर एमालेमा प्रवेश गरेकाहरुलाई स्वागत कार्यक्रममा एमाले अध्यक्ष ओलीले निर्वाचन नगराउने षडयन्त्रमा रहेकाहरु सरकारमा बस्न नहुने धारणा राखे ।

अध्यक्ष ओलीले एकतावद्ध राष्ट्रले मात्रै विकास सम्भव भएको बताउँदै पहिचानका नारा नक्कली भएको बताए । “पहिचानको कुरा गर्ने प्रचण्ड भारत जाँदा किन दौरा सुरवाल लगाएनन् ?,” ओलीको प्रश्न थियो । उनले त्यसैले पहिचानका नक्कली कुरा नगर्न सुझाव दिएका थिए । उनले भारतप्रति संकेत गर्दै नेपालको आन्तरिक मामलामा अरुले भनेको कुरा मान्न जरुरी नभएको बताए । ओलीले संविधान संशोधन प्रस्तावको विरोधमा उत्रिएकालाई वितण्डाकारी भनिएको भन्दै आक्रोश पोखे  “पाँच नम्बर प्रदेशका जनतालाई वितण्डा भन्ने ?,” उनले भने, “निर्वाचन नगराउने षडयन्त्र हुँदैछ ।”

उनले अघिल्लो सरकारले लोडसेडिङ हटाउछौं भन्दा हाँसेको उल्लेख गर्दै भने,“अघिल्लो वर्ष लोडसेडिङ हटाउँछौ भन्दा मान्छे हाँसे, अहिले भयो त । भारतबाट बिजुली आयातित र निजी क्षेत्रलाई प्रोत्साहित गरेर लोडसेडिङ हट्यो । सरकारले जादु गरेको होइन।” ओलीले लुटिएका पैसाले खोलेका सञ्चारमाध्यमले एमालेविरुद्ध विष बमन गरेको भन्दै आक्रोश पोखेका थिए । उनले कांग्रेस–माओवादीले गियर फसाएको उल्लेख गर्दै एमाले बाहेकले अब देश चलाउन नसक्ने धारणा राखे ।

प्रकाशित मिति: Dec 8, 2016

प्रतिक्रिया दिनुहोस्