Logo
१३ बैशाख २०८१, बिहीबार
(December 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिला भएकैले मलाई राम्रोसँग काम गर्न दिइएको छैन

ओनसरी घर्तीमगर, सभामुख ।

सभामुख कुनै लिङ्गका लागि निर्धारण गरिएको पद होइन । सधैं पुरुषले सम्हाल्दै आएको सभामुख पदमा अहिले महिलाका रुपमा म रहँदा कुनै पनि आधारभूत रुपमा फरक छैन र हुनु पनि हुँदैन । जुनसकुै लिङ्ग, वर्ग, क्षेत्र, जातिको मान्छेले सभामुखको पद सम्हाल्न सक्छन् र अगाडि बढाउन सक्छन् ।

तर, कहिले काहीँ म आफू महिला भएका कारण कतिपय सवालमा मैले गरेका कार्यलाई मिनिमाइज भएको महसुस गरेको छु । जसको उदाहरण सरकार परिवर्तनको बेलामा सभामुख आफ्नो श्रीमान्बाट सञ्चालन हुन्छन् भनेको सुन्दा दुःख लागेको थियो । मर्माहत भएको थिएँ ।

विशौं-तिशौं वर्षदेखि मैले पनि नेपाली राजनीतिक यात्रामा विभिन्न मोर्चा सम्हाल्दै आएको छु । सभामुख पदमा बसेर काम गर्न योग्य थिएँ । छापामारको रुपमा काम गर्दा होस् या अहिले सभामुख पदमा रहेर काम गर्दा किन नहोस् सधैं आफूलाई अग्नी परीक्षाका रुपमा होमेँ ।

यी जिम्मेवारी जतिसुकै नयाँ हुन् सबैलाई सफलता पूर्वक सम्पन्न गरेको छु । सभामुख पदको जिम्मेवारी सफलतापूर्व अगाडि बढाउनु पर्ने मेरो कर्तव्य हो । म एउटा व्यक्तिको रुपमा मात्रै छुइन मसँग सिङ्गो मुलुक र नागरिक जोडिएका छन् ।

प्रत्येक दिनहरु गतिवान् छन् । गतिवान् समयलाई हामीले कसरी प्रयोग गर्छाैं भन्ने कुरा महत्वपूर्ण हो । समयले हामीलाई पर्खेर बसेको हुँदैन । हिजोको तुलनामा आज केही फरक त हुन्छ नै । प्रत्येक दिन नयाँ छ । नयाँ अभ्यास गर्नुछ । राजनीतिक गर्दा जस्तो सुकै जिम्मेवारी आइपर्न सक्छ भने थाहा भएकाले आफू तयार रहन्थे, तर, प्राविधि कुरा भने निश्चित व्यक्तिबाट सिकिँदो रहेछ । सबैले गर्ने पनि यही नै हो ।

यसैक्रममा संसद्भित्र आइसकेपछि उपसभामुखको हैसियतमा दुई बर्ष काम गरेँ । र पूर्वसभामुखबाट आफूले प्राविधिक कुराहरु सिक्ने अवसर पाएँ । साथै विभिन्न राजनीतिक दलका नेताहरुबाट पनि धेरै कुरा सिकेँ । संसद्भित्र रहेका सदस्यहरुसँग मेरो धेरै विचार विमर्श हुने गरेको थियो । यसबाट पनि धेरै विषयमा जानकार हुने अवसर पाएँ ।

राजनीतिक यात्रालाई अगाडि बढाउन मेरो श्रीमान् (वर्षमान पुन)लाई मैले धेरै सहयोग गरेको छु । र मलाई पनि उहाँले थुप्रै सहयोग गर्नुभएको छ । यो स्वभाविक हो । मलाई दुःख लागेको कुरा त के हो भने– समान्तवाद त गइसक्यो, त्यसले निर्धारण गरेको एउटा पाटोको रुपमा रहेको पितृसत्तावादी राज्य प्रणालीको मानसिकता र दृष्टिकोण गइसकेको रहनेछ ।

त्यसैले जहिले पनि महिलालाई असक्षम देख्ने, पुरुषबाट महिला सञ्चालित हुन्छन् भन्ने, पुरुषले नै यो संसार चलाउँछन् भन्ने कोणबाट अभिव्यक्ति आउँदा दुःख लाग्छ ।

मैले सभामुख पद सम्हालेको एक वर्ष पूरा भयो । यो एक वर्षको अवधिमा थुप्रै उत्तारचढाप आए, धेरै प्रकारका चुनौतीहरु व्यहोरेँ । मसँग मूख्य मूख्य घटनाक्रमलाई सफलतापूर्वक सम्पन्न गरेको अनुभव छ । यी घटनाक्रमले नै मलाई दिशानिर्देश गर्छ ।

सभामुखको कार्यसञ्चालनका क्रममा कहिले काहीँ अक्कमक्किएको भन्ने टिप्पणीलाई सकारात्मक रुपमा लिएको छु । अहिले जे बोलिरहेको छु, यो मेरो दोस्रो भाषा हो । पहिलो भाषा त मेरो मगरभाषा हो । यदी मैले मगर भाषाबाट सबै कामकाज गर्नुपरेको खण्डमा गल्ती गर्दिनथेंहूँला ।

राष्ट्रपति (विद्यादेवी भण्डारी), प्रधानन्यायाधीश (सुशीला कार्की) र सभामुख पदमा नै अहिले महिला छन् । यो महत्वपूर्ण तथा संवैधानिक जिम्मेवारी हुन् । हामी महिलाले यी गरिमामय पदको जिम्मेवारी पाउँदा गर्व लाग्छ ।

भेट हुँदा आपसमा आफूले सोचेको जस्तो भन्न नसकिने, भन्न नमिल्ने, भन्नका लागि साँध सीमाना हुने हुँदा औपचारिक सम्बन्ध र पदीय दायित्वको रुपमा रहँदारहेछन् । तर, बेलाबखत हामीहरुबीच एक दमै महत्वपूर्ण विषयमा कुराकानी पनि गर्ने गरेका छौं । तीनै जनाको कामको चापले गर्दा अनौपचारिक भेटघाट भने हुन पाएको छैन् ।

हामी तीन जना महिला उच्च पदमा पुगेपनि धेरै नेपाली महिलाहरुको अवस्थामा भने परिवर्तन आउन सकेको छैन् । मुलुकमा रहेको राज्य प्रणाली, सामाजिक मूल्यमान्यता र संस्कृति भन्ने वित्तिकै परिवर्तन हुँदैनन् । तर, मलाई विश्वास छ, यो परिवर्तन हुनेछ । जसको सुरुवात संविधानमा व्यवस्था गरेर कार्यान्वयनसँगै गर्नेछौं ।

संविधान कार्यान्वयन हुँदाको दिन, संविधानभित्रको प्रावधानहरु नेपाली महिलाहरुले बुझेको दिन, अवश्य पनि समानताको कार्यान्वयनको सफलता हात पर्नेछ ।

हामीले महिला पनि शासन प्रशासनमा योग्य छन् भन्ने सन्देश भने दिएका छौँ । हामीले आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्यौं भने करोडको संख्यामा रहेका नेपाली महिलाहरुले आफ्नो स्थानमा आफ्नो प्रतिभा प्रस्फुटन गर्ने मौका पाउनेछन् ।

महिला भएकै कारण हामीमाथि अनावश्यक टिकाटिप्पणी हुनेगरेका छन् । हामीमाथि आशंका गरिएको हुन्छ । हामीले कुनै काम गर्न पो सक्दैनौँ की भने आशंका गरिएको हुन्छ । साथै सफलतापूर्वक जिम्मेवारी पूरा गर्छन त ? भन्ने कोणबाट हामीलाई हेरिएको अनुभव गरेको छु ।

यद्यपी यसको जवाफ हामीले सफलतापूर्वक दिइरहेका छौं । हामी पनि आफ्नो जिम्मेवारी वहन गर्न सक्छौ भने जवाफ दिएका छौं ।

म ग्यारेन्टीसाथ भन्न सक्छु, देशको अहित हुने, जनताको अहित हुने, नेपाली जनताले भोलि जसले गर्दा आज हामीले यस्तो दूरदशा भोग्नु पर्यो भन्ने परिस्थिति आउने काम गर्दैनौं ।

(सभामुख घर्तीसँग बीबीसी नेपाली सेवाले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: Dec 8, 2016

प्रतिक्रिया दिनुहोस्