Logo
११ बैशाख २०८१, मंगलबार
(December 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘म प्रधानमन्त्री रहेसम्म संशोधन फिर्ता हुँदैन’

काठमाण्डौ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन् । आन्दोलनकारी सहमतिमा आए त्यसलाई परिमार्जन गर्न सकिने उनको भनाइ थियो । दाङको देउखुरी सिसहनिया र गोबरडिहा जोड्ने पुलको शिलान्याश गर्न बुधबार यहाँ आएका प्रधानमन्त्री दाहालले भने, ‘संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता हुँदैहुन्न, म प्रधानमन्त्री हुँदासम्म प्रस्ताव फिर्ता हुन्न, बरू परिमार्जन गर्न सकिन्छ, त्यसका लागि आन्दोलनकारी संवादमा आउनुपर्‍यो ।’

यो प्रस्ताव आफ्नो नयाँ आविष्कार नभएको भन्दै उनले कांग्रेस र एमाले मिलेर पहिला नै तयार गरेको संशोधन प्रस्तावलाई नै अहिले केही हेरफेर गरेर दर्ता गरेको बताए । ‘यो मेरो आफ्नो कुनै नयाँ आविष्कार होइन, बरू यो त खड्गप्रसाद (केपी ओली) जीकै पालामा तयार भएको प्रस्ताव पो हो त’ उनले भने ‘केपी जीले त्यो प्रस्ताव कहाँबाट ल्याउनुभएको हो मलाई थाहा भएन, मैले त उहाँबाटै ल्याएको प्रस्ताव दर्तामात्रै गराएको हुँ तर, अहिले आएर प्रस्ताव विदेशीको इशारामा आएको भनेर आन्दोलन गरेको देख्दा अचम्मै लागेको छ ।’

उनले संविधानलाई कार्यान्वयन गर्ने, एकता कायम गर्ने र संविधानलाई अझैं फराकिलो बनाएर सबैको सर्वस्विकार्य बनाउनुभन्दा संशोधन प्रस्तावको अर्को कुनै स्वार्थ नभएको बताए । ‘यो मेरो कुनै व्यक्तिगत स्वार्थ वा कसैको कुनै स्वार्थमा दर्ता भएको प्रस्ताव होइन, अनि यो कसरी राष्ट्रघाती हुन्छ ? ‘ दाहालले भने ‘यदि हामीले राष्ट्रघात नै गरेका हौँ भने हामीले पहिला नै २ नम्बर प्रदेशको पुनसंरचनामा राष्ट्रघात गरिसकेका छौँ, अहिले केही पहाडी जिल्लाहरूलाई टुक्राउँदा कसरी राष्ट्रघात हुन्छ ? ‘ पहिला नै एमाले र कांग्रेसले तयार गरेको संशोधन प्रस्तावका सबै पानाहरूमा केपी ओली आफैंले हस्ताक्षर गरेको उनको दाबी थियो । ‘

पहाड पहाडमै राख्ने अनि तराईका जिल्ला छुट्टाउने जस्ता आइडियाहरू मेरा कुनै नयाँ आइडिया हैनन्’ उनले भने ‘सबै संशोधन प्रस्ताव पहिला नै ओलीजीहरूले तयार पार्नुभएको थियो, अहिले हामीले त्यो अघि बढाएको मात्रै हो, अनि फेरि उहाँहरू आफैं आन्दोलन गर्दै हुनुहुन्छ यो कस्तो कुरा हो, अचम्म लाग्छ ।’ प्रधानमन्त्री दाहालले राष्ट्रलाई एकतामा बाँध्न खोज्दा, संविधानलाई कार्यान्वयन गर्न खोज्दा अनि संविधानलाई अझैं फराकिलो बनाउँदा आन्दोलनको ‘बितन्डा’ गरेर एमालेले अबरोध गर्न खोजेको आरोप लगाए ।

‘र, मलाई के विश्वास छ भने एक दिन एमालेलगायतका सबै आन्दोलनकारी साथीहरू हामीले त बितन्डा पो गरिरहेका रहेछौँ, यो गलत रहेछ भनेर संवादमा आउनुहुनेछ’ उनले भने ‘सरकारले हिमाल, पहाड, तराई जोडेर एकता गर्न खोजेको रहेछ, राष्ट्रिय एकता मजवुत गराउन खोजेको रहेछ, संविधानलाई सबैको बनाउन खोजेको रहेछ तर, हामीले आन्दोलनको वितन्डा गरेर गल्ती गरेका रहेछौँ भनेर एमालेका साथीहरू आउनुहुनेछ ।’

पहाड र तराई छुट्याउने आइडिया मेरो होइन । प्रस्ताव पहिला नै ओलीजीहरुले तयार पार्नुभएको थियो । हामीले अघि बढाएको मात्र मात्रै हौं ।
प्रधानमन्त्री दाहालले यसमा आफ्नो कुनै दोष र स्वार्थ नभएको भन्दै आफ्नोमात्रै लाग्ने भए संशोधन प्रस्ताव अझैं अर्कैखालको हुने बताए । ‘मेरो बटम लाइन, हाम्रो पार्टीको प्रस्ताव त दश प्रदेशको हो’ प्रधानमन्त्री दाहालले भने ‘मेरोमात्रै लाग्ने भए, मैलेमात्रै दर्ता गरेर प्रस्ताव पास हुने भए त मैले दशै प्रदेशको प्रस्ताव गर्थेँ नि, सहमतिमा जाउँ भनेरै यसो गरिएको हो ।’ उनले अहिलेको आन्दोलनले कसैलाई पनि कुनै मदत नगर्ने भन्दै आन्दोलन रोकेर वार्ता र संवादमा आउन सबैलाई अपिल गरे ।

पाँच नम्बर प्रदेशलाई हेरफेर गरेर हिमाल, पहाड, तराई, मधेस सबैलाई न्याय भएको भन्दै प्रधानमन्त्रीले यो नयाँ प्रस्तावित सिमाङ्कनले दाङ केन्द्र बन्ने सम्भावना अझैं बलियो भएको बताए । ‘हामीले त दाङलाई नै केन्द्र मानेको हो, अहिले प्रधानमन्त्रीको हैसियतले राजधानीको कुरा म गर्दिनँ तर, दंगाली जनताले यो सत्यलाई बुझ्नुस् यो प्रस्तावले अझै केन्द्र बन्ने सम्भावना बढेको छ ।’ प्रधानमन्त्रीले बुधबार शिलान्यास गरेको पुल नेपालकै दोस्रो लामो पुल हुनेछ ।

करिब ९ सय ५० मीटर लामो यो पुलले करिब ४ गाविसका लाखौं जनतालाई जोड्नेछ । करिब ९२ करोड लागत स्टिमेट गरिएको यो पुल ४ वर्षभित्र निर्माण सम्पन्न हुने बताइएको छ । पुल शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले सरकारको पहिलो प्राथमिकता विकास र संविधान कार्यान्वयन भएको बताएका थिए । अन्नपुर्ण पोष्टमा समाचार छ ।

प्रकाशित मिति: Dec 8, 2016

प्रतिक्रिया दिनुहोस्