Logo
१३ बैशाख २०८१, बिहीबार
(December 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश टुक्राउने संशोधनविरुद्ध लुम्बिनी ठप्प, बुटवलमा तनाव

butbal-newsबुटवल, मंसिर २० ।  पाँच नम्बर प्रदेश टुक्राउने संविधान संशोधन प्रस्तावविरुद्ध लुम्बिनी क्षेत्र सोमबार बिहानदेखि तनावमा छ। बुटवलमा बिहानैदेखि जनप्रदर्शन भइरहेको छ । प्रदर्शनमा जनसहभागिता बढ्दै गएपछि सुरक्षाकर्मी पनि बाक्लो रुपमा खटाइएको छ। सडक यातयात ठप्प छ भने स्थानीय बजार पनि खुलेको छैन। सडक अवरोध गर्ने क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीहरुबीच विवाद बढेपछि कतिपय स्थान तनाव भएको छ। झडप नहोस् भनेर सुरक्षा सतर्कता अपनाइएको छ।

संयुक्त संघर्ष समितिको आव्हानमा छ दिनदेखि लुम्बिनी क्षेत्र बन्द छ।शैक्षिक संस्थाहरु समेत खुलेका छैनन्। बुटवलको राजमार्ग चौहारामा बिहानै प्रदर्शन भएको छ । सयौं नागरिकहरु सहभागी भएको प्रदर्शन बसपार्क हुदै पुष्पलाल पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्ने बत्ताहरुले सरकारले प्रस्ताव फिर्ता नलिदासम्म नागरिकहरु आन्दोलन जारी राख्ने बताए । कुनै राजनीतिक दलको आन्दोलन नभई प्रदेश ५ मा बस्ने नागरिकहरुको आन्दोलन भएकाले कमजोर नठान्न उनीहरुले चेतावनी दिए ।

बुटवल क्षेत्रमा लागेको वाक्लो हुस्सुका वावजुद पनि सर्बसाधारणहरु सडकमा उत्रिएका छन् । बुटवल, भैरहवा, सालझण्डी, देवदह क्षेत्रका भित्रि सडकहरुमा मोटरसाइकल चल्न पनि अवरोध गरेका छन् । रुपन्देहीको शंकरनगरमा महिलाहरुले मात्रै बिरोध प्रदर्शन गरेका छन्। नयाँमिलबाट राष्ट्रिय झण्डा लिएर निस्किएका महिलाहरुले योगिकुटी चोकमा पुगी शंकरनगर फर्किएका थिए । महिलाहरुले आफ्नो माइती र घरलाई दुई प्रदेश बनाउन नहुने माग गरेका छन् ।

सात्तारुड कांग्रेस र माओवादी पनि आन्दोलनमा
यसैबीच नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरु पनि सडकमा उत्रिएका छन् । कांग्रेसमा आन्दोलनमा सहभागी हुने र नहुनेमा दुईधार देखिए पनि कार्यकर्ताहरु स्वतः स्फूर्त रुपमा सडकमा आएका छन् । सोमबार पनि शैक्षिक संस्था बन्द छन् । पूर्व-पश्चिम महेन्द्र राजमार्ग र उत्तर-दक्षिण सिद्धार्थ राजमार्गमा कुनै पनि गाडी गुडेका छैनन् । दुध, तरकारी, पर्यटक, बिरामी बोकेका गाडीहरु भने सञ्चालन भएका छन् । छ दिनसम्म बन्द हुँदा जनजीवन प्रभावित बनेको छ ।

प्रकाशित मिति: Dec 5, 2016

प्रतिक्रिया दिनुहोस्