Logo
८ चैत्र २०८१, शनिबार
(December 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भूकम्पपीडितले तत्काल नयाँ ट्याक्सी नपाउने

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १९ मंसिर   । फाराम वितरण गरेको साढे तीन महिना हुँदा पनि सरकारले भूकम्पपीडितलाई ट्याक्सीको दर्ता नम्बर दिन सकेको छैन । सरकारले भूकम्पपीडितका लागि एक हजार पाँच सय वटा ट्याक्सी वितरण गर्न गत ५ साउनदेखि २ भदौसम्म फाराम भराएको थियो । यातायात व्यवस्था कार्यालयमार्फत वितरण गरेर भराइएका फाराम व्यवस्थापन गर्न झञ्झटिलो भएकाले दर्ता नम्बर दिन ढिलाइ भएको हो । नम्बर वितरण गर्न अझै साढे तीन महिनाभन्दा बढी समय लाग्ने बताइएको छ ।

कम्प्युटर इन्ट्री गर्न समस्या
साना–ठूला सवारीसाधन यातायात व्यवस्था कार्यालयका अनुसार ट्याक्सीको नम्बर वितरण गर्न अझै तीन महिना लाग्नेछ । सबै फाराम व्यवस्थित गर्न नयाँ कम्प्युटर सर्भर बनाउनुपर्ने भएकाले समय लागेको कार्यालय प्रमुख वसन्त अधिकारीले बताए । उनले भने, ‘ट्याक्सी लिन फाराम भर्नेको संख्या धेरै भएकाले सबैलाई कम्प्युटरमा इन्ट्री गर्दा सर्भर नै नयाँ बनाउनुपर्ने देखियो,’ कार्यालय प्रमुख अधिकारीले भने, ‘यी सबै काम गर्न अझै तीन महिना लाग्न सक्छ । त्यसपछि मात्रै ट्याक्सी वितरण गरिनेछ ।’
यसकारण बढ्यो अवेदन
सरकारले भूकम्पपीडितलाई सित्तैँमा ट्याक्सी दिन लागेको गलत सूचनाका कारण फाराम भर्नेको भीड बढेको यातायात व्यवस्था विभागले जनाएको छ । त्यसैगरी, ट्याक्सी दर्ताको नम्बर प्लेट सजिलै बेच्न पाइने हुनाले पनि फाराम भर्नेको भीड बढेको विभागको बुझाइ छ ।
‘भूकम्पपीडितमा केही भ्रम भएको पाइयो । उनीहरूलाई के लागेको छ भने सरकारले सित्तैँमा ट्याक्सी दिने व्यवस्था गरेको छ, तर त्यस्तो होइन,’ अधिकारीले भने, ‘ट्याक्सी खरिद गर्न १८ लाख रुपैयाँसम्म लाग्छ । यो सबै रकम व्यक्ति आफैँले व्यहोर्ने हो ।’
विभागका अनुसार सरकारले ट्याक्सीको नम्बर दर्ता मात्रै गरिदिने हो । तर, गलत बुझाइका कारण ट्याक्सीको माग गर्दै फाराम भर्नेको संख्या अत्यधिक भएको हो । अर्कोतर्फ त्यसरी दर्ता गरिएको नम्बर प्लेट नगद ६ लाख रुपैया“सम्ममा बिक्ने लोभमा पनि फाराम भर्नेको संख्या बढेको बताइन्छ । ‘दलालहरूले यसमा गलत फाइदा उठाउन खोजेका छन् । यसो हुनाले पनि फाराम भर्नेको संख्या बढेको हो । तर, यसलाई हामी नियन्त्रण गर्छौं,’ कार्यालय प्रमुख अधिकारीले भने ।
फारामबाट मात्रै १ करोड ५० लाख
कार्यालयले ट्याक्सी वितरणको फाराम बेचेर एक करोड ५० लाख रुपैयाँ संकलन गरेको छ । कार्यालयले प्रतिफाराम सय रुपैयाँका दरले फाराम वितरण गरेको थियो । भूकम्प अतिप्रभावित जिल्लाहरू दोलखा, गोरखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुंगाका स्थानीयले फाराम भरेका छन् ।
माग गर्ने धेरै हुँदा समस्या
ट्याक्सी माग गर्नेको संख्या अत्यधिक भएकाले व्यवस्थित गर्न समस्या देखिएको छ । नयाँ ट्याक्सीको माग गर्दै एक लाख ५० हजार फाराम पेस बुझाइएको छ । प्रत्येक फारामको रजिस्ट्रेसन गर्न समय लाग्ने भएकाले तीन महिनापछि मात्रै ट्याक्सीको नम्बर वितरण हुने यातायात व्यवस्था कार्यालयको भनाइ छ । कार्यालय प्रमुख अधिकारीले भने, ‘१५ हजारदेखि २० हजार मात्रै फाराम संकलन होला भन्ने विभागको अनुमान थियो । तर, डेढ लाखभन्दा धेरै फाराम दर्ता भएकाले व्यवस्थापन गर्न कठिन छ ।’ आजको नयाँपत्रिकामा समचार छ ।

प्रकाशित मिति: Dec 4, 2016

प्रतिक्रिया दिनुहोस्