Logo
१३ बैशाख २०८१, बिहीबार
(November 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आमरण अनशनमा रहेका डा. केसी थप गम्भीर

drgovindakcकाठमाडौं । सोह्र दिनदेखि आमरण अनशनमा रहेको डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जोखिमपूर्ण अवस्थामा पुगेको छ। केही दिनदेखि घाँटीको संक्रमण (फनेन्जाइटिस) देखिएका केसीको संक्रमण फोक्सोमा सरेको आशंका उपचारमा संलग्न चिकित्सकले गरेका छन् ।

 फोक्सोमा अक्सिजनको मात्रा कम भएको र शरीरमा सेता रंगकोषको संख्या घटेको हुँदा संक्रमणको जोखिम बढेको चिकित्सकले बताएका छन्। संक्रमण फैलिने जोखिम देखिएपछि चिकित्सकले आइसियु तयारी अवस्थामा राखेका छन्। उनले अटेरी गरिरहे हस्तक्षेप गरेरै आइसियु सार्ने चिकित्सकले बताए पनि डा. केसीले होस हुँदासम्म कुनै उपचार नलिने अडान लिएका छन्।

यसको यकिन गर्न एक्स–रे गर्नुपर्ने र घाँटीकै संक्रमण नियन्त्रणका लागि एन्टिबायोटिक्स चलाउनुपर्ने अवस्था आए पनि डा. केसीले इन्कार गरेका छन्। डा. केसीको स्वास्थ्य अवस्थालाई नजिकबाट नियालिरहेकी वरिष्ठ चिकित्सक डा. दिव्यासिंह शाहले घाँटीको संक्रमण र रोगप्रतिरोधात्मक क्षमता अत्यन्तै कमजोर भएका कारण जोखिम निकै बढेको बताइन्।

छातीको दुखाइ, अत्यधिक रिंगटा, रक्तचाप कम हुने, बोल्दा अक्सिजनको मात्रा कम हुने समस्या केसीमा देखिएको छ। अक्सिजन लगाइरहेको अवस्थामा पनि शरीरमा अक्सिजनको मात्रा ९२ हाराहारी मात्रै छ। चौथो दिनदेखि नै मुटुको चालमा सुरु भएको गडबडीबाट चिकित्सक बढी चिन्तित छन्।

पछिल्लोपटक सरकारसँगको वार्तामा समेत सकारात्मक परिणाम आउने नदेखिएको र डिनले राजीनामा नदिने अडान दोहोर्‍याइरहँदा चिकित्सकहरु अनशन लम्ब्याउँदा शरीरले साथ दिन सक्ने अवस्था नरहेको निष्कर्षमा पुगेका छन्।

राष्ट्रिय मानवअधिकार आयोगले डा. केसीको जीवनरक्षाका लागि सार्थक वार्ता गरेर समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ। आयोग प्रवक्ता मोहना अन्सारीले विज्ञप्तिमार्फत् स्वास्थ्योपचार जीवनको अधिकारसँग जोडिएकाले जीवनरक्षाप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

आयोगले डा. केसीसँग वार्ता र संवादबाटै समस्याको समाधान खोजी यसप्रकारको घटनालाई पुनरावृत्ति हुन नदिनसमेत सरकारलाई आग्रह गरेको छ।

विज्ञप्तिमा पटक–पटकको अनशनका कारण केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको, मुटुको चाल घटबढ भएको, रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै गएको आयोगको अनुगमनका क्रममा बुझिएको उल्लेख छ।

राजनीतिक भागबन्डामा पदाधिकारी नियुक्त नगरी वरिष्ठताका आधारमा त्यो पनि गैरराजनीतिक व्यक्ति सम्मिलित समितिको सिफारिसमा हुनुपर्ने डा. केसीको माग अनशनकै बीचमा उल्लंघन भएको छ। प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका उपकुलपति पुष्पकमल दाहालको अध्यक्षतामा बसेको केयु सभाले निकट भविष्यमै रिक्त हुन लागेको उपकुलपति पदमा सिफारिस गर्न शिक्षामन्त्रीको अध्यक्षतामा समिति बनाएको हो।

सोमबार भएको केयु दीक्षान्तअगाडि बसेको सभाले शिक्षामन्त्री धनीराम पौडेलको अध्यक्षतामा दमननाथ ढुंगाना र सुरेशराज शर्मा सदस्य रहेको समिति बनाएको हो। विभिन्न अनशनका क्रममा सरकारले विश्वविद्यालय एवं काउन्सिल पदाधिकारी नियुक्तिका लागि शिक्षामन्त्रीको नभई राजनीतिक संलग्नता नभएका स्वतन्त्र विज्ञ सम्मिलित समिति बनाउने सम्झौता गरेको थियो।

प्रकाशित मिति: Nov 29, 2016

प्रतिक्रिया दिनुहोस्