Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान संशोधनमा राप्रपाको पूर्ण समर्थन हुन्छः राणा

Pasupatiकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताएका छन् । उनले संशोधन प्रस्तावमा धेरै भन्दा धेरै दलहरुको सहमति जुटाउनको लागि केही ढिलाई भएपनि प्रस्ताव चाँडै दर्ता हुने विश्वास व्यक्त गरे ।

राणाले ४ वटा महत्वपूर्ण विषयमा संशोधन हुन गैरहेको उल्लेख गरे । उनका अनुसार प्रदेशको सिमांकनमा सहमतिको आधारमा संशोधन गर्ने, भाषाको विवाद समाधानको लागि अहिलेभन्दा केही फराकिलो बनाउने, माथिल्लो सदनमा जनसंख्याको आधारमा र नागरिकताको सवालमा अंगीकृतलाई संवैधानिक पदबाहेक अरुमा स्थान दिने गरी संशोधनको तयारी भैरहेको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय अध्यक्ष राणाले मधेशको मुद्दा सम्बोधन गर्नको लागि पनि संविधान संशोधन अनिवार्य भएको उल्लेख गर्दै सरकारले ल्याउन लागेको संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताएका हुन् । उनले आफ्नो पार्टीले हिन्दूराष्ट्रको लागि जनमतसंग्रह गर्नुपर्छ भन्ने माग अघि सारिरहेको भएपनि अहिलेको संविधान संशोधनमा यो विषयमा कुनै कुरा नहुने स्पष्ट पारे ।

उनले थपे,‘अहिले हामी संसदमा थोरै संख्यामा छौं, पास नहुने संशोधन हामी हाल्दैनौं, हिन्दुत्वको लागि हामी जनमतसंग्रहको लागि संघर्ष गरिरहेका छौं, यसको पक्षमा व्यापक जनमत बनिरहेको छ ।’ राणाले हिन्दुराष्ट्रको पक्षमा ठूला पार्टीमा पनि व्यापक बहस भैरहेको जिकिर गरे । राष्ट्रिय अध्यक्ष राणाले अहिले राप्रपा सरकारमा भएकोले राप्रपा नेपालसँगको एकतापछि आफ्नो पार्टीको संख्या वृद्धि भएकोले सरकारमा रहेको पार्टीको प्रतिनिधित्व केही फराकिलो हुने दाबी गरे ।

प्रकाशित मिति: Nov 28, 2016

प्रतिक्रिया दिनुहोस्