Logo
७ बैशाख २०८१, शुक्रबार
(November 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिचौलियाको बिगबिगीः भारु नोट साटिदिने भन्दै ५० लाख ठगी

bharu-newsकाठमाडौं । भारु ५ सय र एक हजारका नोट साटिदिने भन्दै बजारमा गिरोह बिचौलियाको बिगबिगी रहेको भन्दै प्रहरीले त्यस्ता व्यक्तिको कुरा नपत्याउन आग्रह गरेको छ । ५ सय र एक हजारका नोट भारतमा प्रतिबन्ध लागेपछि नेपालमा पुराना नोट भएकाहरुलाई ठग्नका लागि बजारमा संगठित रूपमा नै गिरोह सक्रिय भएको भेटिएपछि महानगरीय अपराध महाशाखाले राष्ट्र बैंकको सल्लाहबेगर भारतीय नोट साट्ने खेलमा नलाग्न सर्वसाधारणलाई आग्रह गरेको हो ।

रौतहट झुनखुनवा–७ का माछा व्यापारी अब्दुल रहिमलाई भारत पश्चिम बंगाल सितलकोची कोचबिहारका हरेकृष्ण साहले ५ सय र १ हजारका पुराना नोट साटिदिने भन्दै ४८ लाख ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।  अपराध महाशाखाको ठगी उजुरी छानबिन शाखाका प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीका अनुसार भारतीय नागरिक हरेकृष्णले भारु सयका नोट दिने भन्दै १६ लाख ५० हजार नेपाली रुपैयाँ र २० लाख भारतीय रुपैयाँ ठगी गरेका हुन् ।

उनका अनुसार अब्दुलसँग भारतमा ठूलो मात्रामा भारतीय नोट रहेछन् । त्यो कुरा हरेकृष्णले थाहा पाएछन् । उनले अब्दुललाई भारतबाटै फोन गरी नेपालमा तपाईंलाई पैसा दिन्छु, भारतमा मेरो मान्छेलाई २० लाख भारतीय नोट दिनु भनेपछि अब्दुलका आफन्तले भारतमा पैसा बुझाए । त्यसपछि हरेकृष्ण नेपाल आए । नेपाल आएको दिन बिरामी भएको भन्दै हरेकृष्णले अब्दुललाई भेट्न मानेनन् । भोलिपल्ट भेटेपछि हरेकृष्णले भारतबाट ल्याएको रकम ट्याक्सीवालाले लुटिदियो, प्रहरीलाई खबर गरेको छैन, प्रहरीलाई खबर गर्दा कालो धनका बारेमा थाहा हुन्छ ।

त्यसैले मलाई २० लाख भारतमा दिएको र बाँकी नेपालमा गरी ५० लाख पुर्याई दिनुहोस्, म एकमुष्ट रकम दिन्छु भनेर हरेकृष्णले अब्दुललाई भनेपछि उनले थप १६ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरी निरिक्षक पन्थीले बताए । उनका अनुसार हरेकृष्णले ग्लोबल आईएमई बैंकमा चन्द्रबहादुर गुरुङको खातामा त्यो पैसा जम्मा गर्न लगाएका थिए ।  अब्दुलबाट रकम ठगी गरेर भारत भाग्ने तयारी गरेको थाहा पाएपछि अब्दुलले महाशाखामा उजुरी दिएका थिए ।

महाशाखाको टोलीले हरेकृष्णलाई कलंकीबाट पक्राउ गरेको छ । पक्राउ परेका हरेकृष्णलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: Nov 22, 2016

प्रतिक्रिया दिनुहोस्