महाभियोग कार्यविधि: जुनसुकै बेला खानतलासी गर्न सक्ने अधिकार !
काठमाडौं । व्यवस्थापिका संसद अन्र्तगत महाभियोग सिफारिस समितिले खानतलासी समेत गर्न सक्ने अधिकारसहितको कार्यविधि ल्याएको छ । संसद अन्र्तगत गठित महाभियोग सिफारिस समितिले आवश्यक परेको अवस्थामा कुनै पनि कार्यालय, व्यक्तिको घर लगायत स्थानको खानतलासी गर्न सक्ने व्यवस्था सहितको विधि विहिबार पारित गरेको हो ।
विहिबार विहान सिंहदरबारमा बसेको समितिको बैठकले कार्यविधि उपसमितिले तयार पारेको कार्यविधिलाई सामान्य परिमार्जन सहित सर्वसम्मतिले पारित गरेको हो । व्यवस्थापिका संसदबाट समितिमा आएको महाभियोग प्रस्तावका सम्बन्धमा कारवाही प्रक्रिया अघि बढाउने सवालमा आरोपितलाई सफाईको मौका दिनुको साथै बयानका आधारमा विषयसंग सम्बन्धित रहेका पक्षलाई समितिमा बोलाउने तथा आवश्यक ठानिएको अवस्थामा खानतलासी सम्म गर्न सक्ने प्रावधान कार्यविधिमा छ ।
त्यसैगरी समितिले व्यवस्थापिका संसदलाई पठाउने प्रतिवेदन सकभर सर्वसम्मति र नभएको अवस्थामा सामान्य वहुमतको आधारमा गर्ने विधि तय गरेको छ । व्यावस्थापिका संसद संञ्चालन नियमावलि र नेपालको संविधानले प्रयोग गरेको अधिकारलाई प्रयोग गर्ने सम्बन्धमा समितिले आन्तरिक कार्यविधि तयार पारेको हो । कात्तिक ३ गते गठित महाअभियोग सिफारिस समितिले एक महिना पछि बल्ल कार्यविधिलाई अन्तिम किनारा लगाएको हो ।
संम्बन्धित आरोपित व्यक्तिलाई बढीमा ७ दिनको म्याद दिएर स्पष्टिकरण माग गर्ने, आरोपितलाई सफाईको मौका दिने र आरोपितको बयान सुनेर आवश्यक अनुसन्धान गर्नुपर्ने भए सम्बन्धित व्यक्तिलाई बोलाएर बयान लिने, बकपत्र गराउने लगायत अधिकार कार्यविधिमा राखिएको कार्यविधि उपसमितिका संयोजक नारायण विडारीले जानकारी दिए ।
खानतलासी गर्न सक्ने प्रावधान राख्ने– नराख्ने भन्ने विषय विवादित बनेको थियो । अघिल्लो बैठकमा समिति सदस्य अमनलाल मोदीले खानतलासीको प्रावधान राख्नुपर्ने भन्दै नोट अफ डिसेन्ट लेखेका थिए । अधिकांश समिति सदस्य खानतलासी गर्न पाउने अधिकारको विपक्षमा रहेपनि कार्यविधि भने खानतलासी गर्न पाउने अधिकार सहित सर्वसम्मति पारित भएको हो ।