Logo
१३ बैशाख २०८१, बिहीबार
(November 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अकुत सम्पत्ती कमाउने २० अधिकारीमाथि छानविन सुरु

ciaa_nepal___383413268_779088891काठमाडौं । देशको उच्चपदमा रही अकुत सम्पत्ती कमाएको भन्दै २० जना माथि छानविन सुरु भएको छ ।

अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्की निलम्वनमा परेपछि निष्क्रिय देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो सक्रियतालाई फेरी बढाउँदै देशका उच्च पदमा रहेका २० जना अधिकारीको सम्पती छानविन गर्न लागेको हो ।

कार्की निलम्वनमा परेपछि दीप बस्न्यातको नेतृत्वमा रहेको अख्तियारले अकुत सम्पत्तीको छानविनलाई तिव्रता दिएको स्रोतले बतायो ।
स्रोतका अनुसार, अख्तियारको बैठकले अकुत सम्पत्ती आर्जनको मुद्दामा २० जनाभन्दा माथि छानविन गर्ने निर्णय गरेको बताइएको छ । अख्तियारको छानविनको सूचीमा रहेका अधिकांश सरकारी कर्मचारी रहेको दावी स्रोतले गर्यो ।

अकुत सम्पत्ती छानविन गर्न पत्राचार गरिएको सूचीमा नेपाल ट्रष्टको कार्यालयमा रहेका सचिव अर्जुनबहादुर कार्की, सिंचाई सचिव गजेन्द्र ठाकुर, आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मा, एआइजी विरेन्द्रवावु श्रेष्ठ लगायत छन् ।

चाडपर्व सकियो अब काम देखाउनुपर्ने चुनौती पनि छ, त्यसैले अब अख्तियार एक्टिभ भएको छ, स्रोतले भन्यो । अख्तियारका प्रवक्ता गणेशबहादुर कार्कीले नेतृत्वविहिनताका कारण अख्तियार केही समय अल्मलिए पनि अहिले काम अघि बढेको बताए । उनले भने, हिजो मात्रै हामीले दुई जना माथि मुद्दा चलाउने निर्णय गरेका छौं ।

के अकुत सम्पत्तीको मुद्दामा छानविन सुरु भएको हो ? भन्ने प्रश्नमा भने उनले जवाफ दिएनन् । उनले भने अख्तियारको छानविनमा रहेको विषय डिस्क्लोज गर्न मिल्दैन, छानविन गोप्य हुन्छ, उनले भने ।

अकुत सम्पत्तीको छानविनमा परेका अधिकांश कर्मचारी लोकमानसिंह कार्की निकट छन् । एनसेलको कर छली प्रकरणमा समेत मुछिएका चुडामणी शर्मा कार्कीका भित्रिया मध्ये एक हुन् । उनले एनसेलको कर उठाउनमा ढिलासुस्ती गरेका थिए । अहिले पनि एनसेलको कर निर्धारण प्रक्रिया उनैका कारण रोकिएको छ ।

त्यसैगरी शर्मामाथि कर फर्छयौट आयोगमार्फत राज्यलाई प्राप्त हुने अर्वौं रुपैयाँ माफि मिनाहा समेत दिएका थिए । आयोगले गरेका निर्णय एक वर्ष वितिसक्दा समेत निक्कै गोप्य राखिएको छ । सदस्य सचिवका हैसियतमा रहेका शर्माले कर फर्छयौट आयोगबाट भुक्तानी गरिसकेका कर समेत फिर्ता गरेर राज्यलाई अर्वौं रुपैयाँ नोक्सानमा पारेको स्रोतले दावी गरेको छ ।

त्यसैगरी अकुत सम्पत्तीको छानविन काण्डमा रहेका अर्जुन कार्की पनि लोकमान सिंह निकटका हुन् । भुकम्पपछि राहातका लागि ल्याइएको त्रिपाल काण्डमा उनी मुछिएका थिए ।

११ करोड रुपैयाँभन्दा बढीको खरिद प्रक्रियासँग सम्वन्धित यो छानविनमा अख्तियारले कार्कीलाई विभागीय कारवाहीको मात्रै सिफारिश गरेको थियो । जबकि यो प्रकरणमा तल्लो तहका कर्मचारीमाथि भने करोडौं रुपैयाँ विगो दावी गर्दै अख्तायरले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: Nov 17, 2016

प्रतिक्रिया दिनुहोस्