Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

द्वन्द्वप्रभावितको सूचीमा नेपाल सातौं स्थानमा

nepal-1

काठमाडौं, १ मंसिर । द्वन्द्वप्रभावितको सूचीमा नेपाल सातौं स्थानमा परेको छ । एशियाली विकास बैंक (एडीबी) ले एशिया–प्रशान्त क्षेत्रका कमजोर अवस्था र द्वन्द्वप्रभावित १२ देशमा गरेको अध्ययनले नेपाल सातौं स्थानमा रहेको देखाएको छ ।

एडीबीले प्रकाशित गरेको अध्ययन प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ । एडीबीले आर्थिक, सामाजिक, राजनीतिक र संस्थागत मुद्दाहरूमा आधारित भएर गरेको अध्ययनपछि उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

एशिया–प्रशान्त क्षेत्रका कमजोर अवस्था र द्वन्द्वप्रभावितको सूचीको पहिलो स्थानमा अफगानिस्तान रहेको छ भने दोस्रो र तेस्रो स्थानमा क्रमशः किरिवाती र मार्सल टापु रहेका छन् । चौथो स्थानमा माइक्रोेनेशिया, पाँचौंमा म्यानमार र नाउरो रहेका छन् । यसैगरी नेपाल सातौं, पपुवा न्यूगिनी आठौं, सोलोमान टापु नवौं, टिमोर दशौं, तुभालु एघारौं र भानुआटु अन्तिममा रहेका छन् ।

प्रतिवेदनअनुसार यी सबै देशले आर्थिक अवस्थाको व्यवस्थापनमा थोरै मात्र उपलब्धि प्राप्त गरेका छन् । यस्तै यी देशले नीतिगत संरचना र सामाजिक समावेशितामा पनि निकै कम मात्र उपलब्धि प्राप्त गरेको पनि प्रतिवेदनमा उल्लेख छ । बैङ्कले सन् २००६ देखि २०१५ सम्मकोे १० वर्षको अवधिमा गरिएको प्रयासको अध्ययन र मूल्याङ्कनपछि यो प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनले कमजोर अवस्था र द्वन्द्वप्रभावित देशमा सम्बन्धित देशका सरकार र विकास साझेदारको प्रयासले निकै फाइदा पुगेको पनि उल्लेख गरेको छ । साझेदारहरूले यातायात, विद्युतीय शक्ति, शिक्षा, स्वास्थ्य, निजीक्षेत्रकोे विकास र अन्य क्षेत्रमा समेत सहयोग गरिरहेका छन् तर दिगो विकास प्राप्त गर्न अझ धेरै बाँकी रहेको पनि बताएको छ ।

विकास साझेदारहरूले दिगो विकासलाई प्रवद्र्धन गर्न कमजोर र द्वन्द्वप्रभावितको पहुँचमा सुधार गर्नुपर्ने देखिएको प्रतिवेदनले बताएको छ । त्यस्तै बैङ्कले विकास साझेदार र सरकारलाई केही प्रमुख क्षेत्रमा अझ सहायता बढाउन सुझाव दिएको छ । यी क्षेत्रमा लैङ्गिक समानता, सार्वजनिक स्रोतप्रति उत्तरदायित्व, शिक्षा र स्वास्थ्यमा लगानी वृद्धि, वातावरणीय संस्थाहरूको क्षमता विकास, भूमिसुधार र वित्तीय तथा व्यापारमा सुधार गर्नुपर्ने प्रतिवेदनको निष्कर्ष रहेको छ ।

प्रकाशित मिति: Nov 16, 2016

प्रतिक्रिया दिनुहोस्