Logo
१२ बैशाख २०८१, बुधबार
(November 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ प्रवधानः सुनचाँदीमा ठगी गर्नेलाई कडा कारबाही गर्न मस्यौदा !

Sunn News

काठमाडौं ।  सुनचाँदीको अनुगमन गर्न सरकारले अनुगमन तथा नियमन निर्देशिकाको मस्यौदा पारित गरेको छ । लामो समयदेखि रोकिएको सुनचाँदी अनुगमनलाई पुनः सुचारू गर्न सरकारले सो सम्वन्धि निर्देशिका पारित गरेको हो ।

आपूर्ति मन्त्रालयले सुन, चाँदी, हिरा तथा बहुमूल्य धातुका गहना (अनुगमन तथा नियमन) निर्देशिकाको मस्यौदा पारित गरेसँगै अब सुनचाँदीको अनुगमन हुने जनाएको छ । निर्देशिकाको अभावमा गत झण्डै चार वर्षयता सुनचाँदीको अनुगमन रोकिँदै आएको थियो । बिना निर्देशिका अनुगमन गर्दा व्यवसायीको चर्को दवाबका कारण झण्डै चार वर्षअघि सरकारले अनुगमन रोकेको थियो । त्यसयता सुनचाँदीको अनुगमन हुन सकेको छैन ।

सरकारले २०६९ सालमै निर्देशिका तयार गरे पनि राजनीतिक परिवर्तन लगायतका कारण अघि बढ्न सकेको थिएन । मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले भने, ‘सुनचाँदी निर्देशिकाको मस्यौदा मन्त्रालयले पारित गरेको छ ।’

उनका अनुसार मन्त्रालयले पारित गरेको उक्त मस्यौदा मन्त्रिपरिषद्बाट पास भएसँगै कार्यान्वयनमा आउनेछ । सरकारले २०७१ सालमा तयार गरेको मस्यौदामाथि केही थपघट गर्दै हालै मन्त्रालयले पारित गरेको हो । यससँगै अब सुनचाँदी किनबेचको अनुगमन हुनेछ । व्यवसायीले सुनचाँदी कारोबारमा व्यापक ठगी गर्दै आएका उपभोक्ताको गुनासो छ । गुणस्तर तथा नापतौल विभागले तयार गरेको सुनचाँदी कारोबारको मापदण्ड र उक्त निर्देशिकाको आधारमा अब सुनचाँदी अनुगमन हुनेछ ।

सुनचाँदी कारोबारमा हाल भइरहेको ठगी रोक्न अनुगमन टोलीलाई पनि थप बलियो र प्रभावकारी बनाउने निर्देशिकामा उल्लेख छ । टोलीले गहनाको उत्पादन, आपूर्ति, मूल्य, नापतौल, गुणस्तर र विक्री वितरणका सम्बन्धमा अनुगमन गर्नेछ ।

त्यस्तै, टोलीले गहना निर्माणमा प्रयोग गरिने जर्ति (अदृष्य नोक्सानी), रसायन, निर्माण प्रक्रिया, कच्चा पदार्थको मौज्दात लगायतमा पनि अनुगमन गर्नेछ । गहनाको उत्पादन, विक्री वितरणबाट उपभोक्ताको स्वास्थ्य, सुरक्षा र सम्पत्तिमा प्रतिकूल असर परे/नपरेको र कारोबारमा कानूनी प्रक्रिया पूरा गरेरनगरेको लगायतका विषयमा पनि टोलीले अनुगमन गर्ने बताइएको छ ।

प्रकाशित मिति: Nov 10, 2016

प्रतिक्रिया दिनुहोस्