Logo
१५ चैत्र २०८०, बिहीबार
(November 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुखर्जीको जनकपुर भ्रमणः अभिनन्दनदेखि पुजा-अचार्नासम्म (फोटो फिचर)

mukharjee-in-jankpur-1

एस क्रान्ति महतो,

जनकपुर  । नेपाल भ्रमणको क्रममा शुक्रबार जनकपुर पुगेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई त्यहाँका नागरिकको तर्फबाट भव्य अभिनन्दन गरिएको छ । जनकपुरधाममा भएको विशेष समारोहमा उनलाई  उहाँलाई मिथिलाका बासिन्दाको तर्फबाट अभिनन्दन गरिएको हो ।

यसैगरी भारतीय राष्ट्रपति मुखर्जी बुद्ध एयरको चार्टर विमानस्थलबाट जनकपुरधाम आइपुग्नु हुँदा जनकपुर विमानस्थलमा उपप्रधान एवम् गुहमन्त्री विमलेन्द्र निधिले स्वागत गरेका थिए ।भारतीय राष्ट्रपति मुखर्जी जनकपुर विमानस्थलबाट जानकी मन्दिर र जानकी मन्दिरबाट अभिनन्दनस्थल तिरहुतिया गाछी आउनु हुँदा सडक किनारमा उभिएका सर्वसाधारण नागरिक र विद्यार्थीले हात हल्लाएर स्वागत गरेका थिए ।

उनलाई नेपाली, अंग्रेजी र मैथिली भाषामा अभिनन्दन पत्र दिइएको छ । अभिनन्दनपत्रमा उनलाई विश्वशान्ति र विश्वबन्धुत्वका लागि समर्पित विश्वविख्यात नेता भनिएको छ । यस्तै लोकतान्त्रिक मूल्यका निष्ठावान पुरुष, उत्पीडित एवं प्रताडित मानवताका उन्मुक्तिनायक, सामाजिक न्याय तथा कानुनी राज्यको अवधारणामा आधारित विभेदमुक्त समतामूलक समाजका प्रखर अभियन्ता भन्दै प्रशंसा गरिएको छ।

भारतीय राष्ट्रपति मुखर्जीले आज प्राचीन मिथिलाको राजधानी जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजाअर्चना गरे । सो मन्दिरमा भारतीय राष्ट्रपतिले पूजा गर्नेमध्ये उनी तेस्रो हुन् । यसअघि भारतीय राष्ट्रपति निलमसञ्जीवा रेड्डी र ज्ञानी जेल सिंहले जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए। मुगल ,हिन्दू र मैथिल वास्तुशैलीको अनुपम सङ्गमबाट बनेको सो मन्दिर वास्तु कलाकारिताको विलक्षण सम्पदा मानिन्छ । नौलखा, जानकी भवन, सीसमहल र नेपालको ताजमहल भनेर यो मन्दिर प्रख्यात छ ।

सो मन्दिर ४९ हजार ५५५ वर्गफिटमा फैलिएको र ५० फिट अग्लो छ । यसमा साठी कोठा छन् । मन्दिरको भव्य कलात्मक गर्भ भवन अत्यन्त आकर्षक रहेको छ, भने जगमोहन मन्दिरको चारैकुनामा तीन, तीनवटाका दरले बनाइएका १२ वटा कलात्मक बुर्जाका साथै अन्य साना– ठूला बुर्जा र गुम्बजमाथि रहेका सुनौला गजुर, फराकिलो परिसर तथा प्रवेशद्वारका दुबैतिर र माथि बनाइएका विभिन्न चित्रले मन्दिरको भव्यतालाई अझ बढाएको छ ।

मन्दिरको निर्माण भारतका ओरछा नरेश टिकमगढका महाराजा प्रतापसिंहकी पत्नी वृषभान कुँवरिले पुत्र प्राप्तिको खुसियालीमा विसं १९६७ माघ २८ मा निर्माण गराएकी थिइन् । मन्दिरको निर्माणमा त्यस बेलाको ब्रिटिस महारानीका चाँदीका सिक्का तीन –चारलाख खर्च भएको भनिए पनि मन्दिर बनाउन सुरूमा नौलाख सङ्कल्प गरिएको भनिन्छ । यो मन्दिर बनाउन जम्मा रु १५ लाख खर्च र बाह् वर्ष लागेको बताइन्छ ।

मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि बनाइएका पत्थरका सिंहका मूर्ति पनि आकर्षक रहेको छ । यस कलात्मक पत्थरमा कलात्मक ढङ्गबाट रोमनमा एसपी लेखिएको देखिन्छ । भारतीय राष्ट्रपति मुखर्जीले जानकी मन्दिरको गर्भगृहमा महात्मा सुरकिशोर दासद्वारा प्रतिष्ठापित स्वर्णमयी जानकीजी र भगवान रामका मूर्तिको शास्त्रसम्मत विधिले विशष पूजाअर्चना गरे ।

राष्ट्रपति मुखर्जीले सो मन्दिरमा रहेका प्राचीन मूर्तिको पनि पूजा गरे । यसअघि भारतीय राष्ट्रपति मुखर्जीलाई जानकी मन्दिरका महन्त रामतपेश्वर दासले वैदिक र मैथिल संस्कृति अनुसार स्वागत गरेका थिए ।

हेर्नुस,फोटो फिचर:

mukharjee-in-jankpur-1

mukharjee-in-jankpur-2

mukharjee-in-jankpur-3

mukharjee-in-jankpur-5

mukharjee-in-jankpur-2

mukharjee-in-jankpur-5

mukharjee-in-jankpur-7

mukharjee-in-jankpur-4

हेर्नुस् मुर्खजीलाई दिइएको अभिनन्दन पत्र :

mukharji-patra

mukharjee-in-jankpur-4

प्रकाशित मिति: Nov 4, 2016

प्रतिक्रिया दिनुहोस्