Logo
७ बैशाख २०८१, शुक्रबार
(November 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले अध्यक्ष ओली अन्ततः झर्न सकेनन् मधेस !

KP-Sharma-Oli-

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो एक वर्षभन्दा बढी समययता मधेस झर्न सकेका छैनन् । उनी मधेस जाने विभिन्न कार्यक्रम तय भए पनि अन्तिम समयमा रद्द हुने गरेका छन् । मधेसबिरोधी छवि बनाएका ओली मधेस आन्दोलन शुरु भएयता मधेसमा पाइला टेकेका छैनन् ।

त्यही भएर उनी कहिले मधेस पुग्छन् भन्ने विषयलाई महत्वका साथ हेरिएको छ । तर, उनले मधेस झर्ने एक पछि अर्को कार्यक्रम अन्तिम समयमा रद्द गर्दै आएका छन् । जानकारहरु मधेसमा हुने विरोधका कारण ओली अझै मधेस झर्न नसकेको बताउँछन् । जनकपुरको कार्यक्रम पनि सुरक्षाको दृष्टिले कार्तिक १८ गते राखिएको थियो । भारतीय राष्ट्रपतिले जनकपुर भ्रमण गर्ने पूर्व सन्ध्या जनकपुरमा सुरक्षा व्यवस्था कडा हुने भन्दै पार्टीले कार्तिक १८ गते कार्यक्रम तय गरेको थियो ।

बिहिबार जनकपुरमा पार्टीको २ नम्बर प्रदेशले आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने भनिए पनि अन्तिम समयमा उनी सहभागी भएनन् । जिल्लाका पार्टी अध्यक्ष राजकिशोर यादवले अध्यक्ष ओली कार्यक्रममा सहभागी हुन आउने कुरा भए पनि आज आउने वा नआउने यकिन नभएको बताए । ‘चियापानमा वहाँ आउने तयारी थियो तर अहिलेसम्म वहाँ आउने या नआउने भन्ने यकिन भएको छैन,’ यादवले भने ।

ओलीको स्थानमा पार्टीका नेता माधव कुमार नेपाल, महासचिव ईश्वर पोखरेल, योगेश भट्टराई लगायतका नेताहरु चियापानमा पुगेका छन् । केही नेताहरु हिजै जनकपुर पुगेका थिए भने नेपाल आज जनकपुर पुगेका हुन् । ओलीले यसरी मधेस झर्ने कार्यक्रम रद्द गरेको पहिलो पटक भने होइन । यसअघि बारामा हुने जिल्ला सम्मेलनमा ओली जाने भनेर व्यापक प्रचार गरिए पनि अन्तिम समयमा उनले कार्यक्रम रद्द गरेका थिए । भन्दै रातोपाटीमा समाचार पोष्ट गरिएको छ ।

त्यस्तै लाहन र विराटनगरमा युवा संघको कार्यक्रममा ओली जाने भनिए पनि उनी त्यहाँ पुगेनन् ।  तर, मधेसी मोर्चाका नेताहरुले ओलीको विरोध गर्ने तयारी गरेपछि आजको कार्यक्रम पनि ओलीले रद्द गरेको मोर्चाका स्थानीय नेताहरु बताउँछन् । यद्यपि, जिल्ला अध्यक्ष यादव भने मधेसी मोर्चाको विरोधका कारण ओलीको भ्रमण रद्द नभएको बताउँछन् । ‘राजनीतिमा विरोध भन्ने सामान्य हो । त्यही कारणले वहाँको भ्रमण रद्द भएको होइन । भारतीय राष्ट्रपति नेपाल आउनुभएकोले वहाँ आउन नपाउनु भएको हुनसक्छ,’ यादवले भने ।

प्रकाशित मिति: Nov 3, 2016

प्रतिक्रिया दिनुहोस्