Logo
१३ बैशाख २०८१, बिहीबार
(October 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी इटहरीमा समस्याः जोगबनी–धरान व्यापारिक मार्गको विवाद

jogwani

सुनसरी ।  भारत र तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि विराटनगरको रानी जोगबनी नाकादेखि धरानसम्मको ५० किलोमिटर व्यापारिक मार्ग छ लेनको विस्तार गर्ने योजना रहे पनि सो सम्भावना न्यून हुँदै गएको छ । जोगबनी विराटनगर पहडगाछलगायतका क्षेत्रमा छ लेनको सडक हुने आयोजनाले भन्दै आए पनि सो मार्गमा पर्ने दुहबी र इटहरीको मुख्य बजार क्षेत्रको सडकको दायाँबायाँ रहेका भवन भत्काउने विवादका कारण सो सम्भावना न्यून हुँदै गएको हो ।

सडक विस्तार हुँदा दुहबीमा पक्की र कच्ची गरी १७७ घर र इटहरीको मूलचोकबाट दक्षिण तर्फका केही घर भत्काउनुपर्छ । यी दुवै स्थानमा ठूलठूला पक्की घर रहेका छन् । मुलुकको व्यापार विस्तार तथा भारत र तेस्रो मुलुकसँगको आयात निर्यातका लागि अहिले जोगबनी विराटनगर हुँदै धरानसम्म छ लेन सडक विस्तार गर्ने भनिए पनि त्यो यथार्थमा चार लेनमा नै सीमित हुने भनाइ आयोजनाका कर्मचारीको छ ।

सडकमा दायाँबायाँ तीन–तीन लेन हुने र मध्यभागमा दुईतिर सडक विभाजित गर्ने कङ्क्रिटका डिभाइडरको संरचनासँगै सडकको दुवैतिर बिरुवा रोपेर हरियाली पारिने योजना रहेको छ । सडकसँगै पैदलयात्राका लागि फुटपाथ र ढलसमेत रहने योजना छ । तर मुख्य बजार क्षेत्रमा भने जग्गा अभावले गर्दा हरियाली नहुने र फुटपाथ पनि साँघुरो हुने सम्भावना बढेको देखिन्छ ।

निर्धारण गरिएअनुसार छ लेन सडक विस्तार गर्दा आयोजनाले सडकको केन्द्रबाट दायाँबायाँ २५÷२५ मि विस्तार गर्ने योजना बनाएर काम अघि बढाए पनि जग्गा अपुग भएपछि डिजाइन परिवर्तन गरेर पछि केन्द्रबाट दायाँबायाँ १५÷१५ मि मात्र विस्तार गर्ने कार्य गरिरहेकाले अब सडक छ लेनको होइन चार लेनमा मात्र सीमित हुनेमा कुनै शङ्का नरहेको स्थानीयबासिन्दाको दाबी छ । “दुहबी बजार क्षेत्रमा अहिले भएको सडकको जग्गाबाहेक अरु दुई बिगाहा जग्गा चाहिन्छ र त्यहाँ बनेका घर पनि भत्काउनुपर्छ”– सडक आयोजना प्रमुख दीपक भट्टराईले भन्नुभयो, “जग्गा उपलब्ध गराई दिन भनी सडक विभागलाई पत्रचार गरिसकिएको छ ।”

उहाँका अनुसार बजार क्षेत्रको केही जग्गा नगरपालिकाको समेत स्वामित्वमा रहेका र कतिपय जग्गा व्यक्तिको व्यक्तिगत रहेकाले घर जग्गाभन्दा पनि घर भत्काउँदा ठूलो क्षति हुने हुँदा यसबारे सरकारको निर्णय नआएकाले दुहबी बजार क्षेत्रमा ठेक्का लगाउन बाँकी छ । सरकारले घर जग्गाको मुआब्जा दिने वा अन्य कुनै वैकल्पिक उपाय गर्ने त्यसबारे निर्णय आएपछि मात्र सो क्षेत्रको सडक निर्माणसम्बन्धी ठेक्का लगाउन सकिने धारणा आयोजना प्रमुख भट्टराईको छ ।

सडक विस्तारका लागि चालु आर्थिक वर्षमा दुहबीको उत्तरदेखि इटहरीको मूलचोकभन्दा केही दक्षिणसम्मको ठेक्का लागेको छ । दुहबीदेखि इटहरी र विराटनगर बजार क्षेत्रको सडक निर्माणका लागि यसवर्ष रु दुई अर्ब २३ करोडमा ठेक्का लागेको हो । यसअघि विराटनगरको रानीदेखि १५ किलोमिटर सडक रु दुई अर्ब ८२ करोडमा ठेक्का लागेको थियो । विराटनगरदेखि इटहरीसम्मको २९ किलोमिटर सडक ठेक्का लागिसकेको छ । ठेक्का लागेको सडकमध्ये २०६९÷७० देखि अघिल्लो वर्षसम्म लागेको १५ किलोमिटर सडकमध्ये सातवटा प्याकेजमा ठेक्का लागेको थियो ।

“अघिल्लो वर्षसम्ममा ठेक्का लागेको १५ किलोमिटरको सातवटा प्याकेजमध्ये तीनवटा प्याकेजको ६० प्रतिशत र अरु चारवटाको २० प्रतिशत काम सकिएको छ”–प्रमुख भट्टराईले भन्नुभएको छ । जोगबनी विराटनगरदेखि धरानसम्म रु १० अर्ब ९८ करोडको लागतमा सात वर्षभित्रमा व्यापारिक सडक विस्तार गर्ने लक्ष्य राखिए पनि त्यो अवधिमा इटहरीसम्म मात्र सडक पूरा हुने वर्तमान अवस्थाले देखाएको छ । “२०७६ असार मसान्तसम्म विराटनगरको रानीदेखि इटहरीसम्म सडक विस्तार हुनेछ”–आयोजना प्रमुख भट्टराईले भन्नुभयो, “अब इटहरीदेखि धरानसम्म अर्को वर्षदेखि गृहकार्य अघि बढ्ने छ ।” आव २०६९÷७० देखि सुरु भएर २०७५÷७६ सम्ममा यो सडक निर्माण पूरा गर्ने लक्ष्य राखिएपनि जग्गा अभावका कारण विगतको सर्भे डिजाइनमा केही परिवर्तन गर्नु परेकाले यसको निर्माणमा ढिलाइ हुन गएको हो । रासस

प्रकाशित मिति: Oct 29, 2016

प्रतिक्रिया दिनुहोस्