Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुरक्षा योजना तयार: यस्तो छ मुखर्जीको भ्रमण कार्यक्रम

pranaw-mukharjiविषेश संवाददता, काठमाण्डौ । भारतीय राष्ट्रपति प्रवण मुखर्जीको कात्तिक १७ देखि १९ सम्मको नेपाल भ्रमणको लागि विशेष सुरक्षा योजना तयार पारिएको छ । गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले राष्ट्रपति मुखर्जीको भ्रमणका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताए । राष्ट्रपति आउने र जाने क्रममा विमानस्थलदेखि बस्ने होटल तथा कार्यक्रमस्थलसम्मको सुरक्षासम्बन्धी कार्ययोजना तयार पारिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणब मुखर्जीले यही कार्तिक १७ देखि १९ गतेसम्म नेपालको राजकीय भ्रमण गर्नुहुने भएको छ । परराष्ट्र मन्त्रालयले शनिवार प्रकाशित गरेको सूचना अनुसार, काठमाडौं आगमनको लगत्तै पछि मुखर्जीले शीतल निवासमा राष्ट्रपति भण्डारीसित भेटवार्ता गर्नु हुनेछ। त्यसअघि भण्डारीले नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय पाहुनाको स्वागत गर्ने कार्यक्रम छ। बेलुकी विशिष्ट अतिथिको सम्मानमा राजकीय भोजको आयोजना हुँदैछ ।

उप-राष्ट्रपति नन्दबहादुर पुन तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुखर्जीसित शिष्टाचार भेट गर्ने कार्यक्रम छ। विहिवार काठमाडौं विश्वविद्यालयले मुखर्जीलाई मानार्थ उपाधि प्रदान गर्ने भएको छ। अपरान्ह मुखर्जीले एक सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। बिहान उहाँ पशुपति जानु हुनेछ । शुक्रवार अपरान्ह स्वदेश फर्किनुअघि मुखर्जीले जनकपुर र पोखराको संक्षिप्त भ्रमण गर्नुहुने कुरा परराष्ट्रको सूचनामा परेको छ।

केही दिन अघिदेखिनै नेपाल– भारत सीमानाकामा समेत विशेष निगरानी र कडाइ सुरु गरिएको छ । काठमाडौँ उपत्यका भित्रिने प्रमुख नाकामा यात्रुको जाँचमा कडाइ गरिएको छ । प्रवक्ता पन्थीले भने-“भ्रमणको विशेष सुरक्षा योजना बनिसकेको छ, त्यसको कार्यान्वयन समेत सुरु भइसकेको छ । ” उनले भ्रमणको क्रममा चारै सुरक्षा निकायलाई एकीकृत सुरक्षा योजना अन्तर्गत परिचालन गरिने जानकारी दिए ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सुरक्षा घेरा बनाइने छ भने राष्ट्रिय अनुसन्धान विभागलाई पनि भ्रमणको क्रममा परिचालन गरिनेछ । राष्ट्रपतिका लागि काठमाडौँसहित उनी जाने पोखरा र जनकपुरका लागि जामर सहितको सवारी साधनको व्यवस्था गरिएको छ ।सो जामरले सय मिटर वरपरको क्षेत्रमा मोबाइल सेट, डिजिटल डिभाइसलगायतका विद्युतीय माध्यमलाई निष्क्रिय पारी सञ्चार सम्पर्क बिच्छेद गरिदिन्छ । राष्ट्रपति यात्रा गर्ने स्थलमा गुणस्तरीय सिसिटिभीको व्यवस्था गरी नेपाली सेनाको समन्वय केन्द्र र महानगरीय प्रहरी आयुक्त कार्यालयबाट सिसिटिभीको माध्यमबाट कार्यक्रम र सवारीको गतिविधि नियाल्ने तयारी गरिएको छ ।

विशेष सुरक्षा योजना अन्तर्गत सुरक्षाका सबै अङ्गलाई आ–आफ्नो ठाउँमा जिम्मेवारी तोकेर परिचालन गरिने तय भएको छ । भारत र पाकिस्तानबीच अहिले देखिएको चिसोपन र नेपाल– भारत खुला सिमानाका कारण पनि राष्ट्रपतिको भ्रमणमा विशेष सुरक्षा संवेदनशीलता अपानाइएको हो । भ्रमणको सुरक्षा व्यवस्था बुझ्न आजै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, सुरक्षा निकायका प्रमुख पोखरा र जनकपुर जाने कार्यक्रम छ । भ्रमणको क्रममा मुखर्जीको पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाल प्रहरी रहनेछ । सुरक्षाको मुख्य जिम्मेवारी नेपाली सेनाले लिएको छ ।

भारतीय राष्ट्रपतिको सुरक्षा गार्डसमेत केही सङ्ख्यामा नेपाल आउने बताइएको छ । नेपाल प्रहरीका नायब महानिरीक्षक हेमन्त पालले पोखरा र जनकपुरका लागि आवश्यक सवारीसधान काठमाडौँबाट पठाइन लागेको जानकारी दिए। राष्ट्रपतिको सवारी अवधिभर सवारी हुने रुटको सडक पूर्णरुपमा खाली गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति: Oct 29, 2016

प्रतिक्रिया दिनुहोस्