Logo
१३ बैशाख २०८१, बिहीबार
(October 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज घटस्थापनासगै दशै औपचारिक रुपमा सुरु: जनकपुरमा झिल्कमिलिक

jankpur-news
जनकपुरधाम, १५ असोज । हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजयादशमी शनिबार (आज) देखि सुरु भएको छ । असत्यमाथि सत्यको विजयको रुपमा मनाइने विजयादशमी अर्थात दशैको पहिलो दिन शनिबार शक्तीपीठहरुमा घटस्थापना गरिदै छ ।  नौ रात र दस दिनसम्म मनाइने यस पर्वमा जनकपुर लगायत मिथिलाञ्चलको विभिन्न शक्तिपीठहरुमा देवी दुर्गाको विभिन्न स्वरुपको पुजा आराधना गरिन्छ । आश्विन शुक्ल पक्षको परेवा तिथिबाट सुरु हुने नवरात्रा आश्विन शुक्ल दशमी तिथिका दिन सकिन्छ ।

यस दस दिनको अवधिमा माता दुर्गाको नौ वटा स्वरुपको पुजा अर्चना गरिन्छ । प्रत्येक दिन भगवतीको फरक फरक स्वरुपको पुजा हुन्छ ।तराई मधेशमा नवरात्रालाई दुर्गा पुजा पनि भनिन्छ । मिथिलाञ्चलमा भव्यताका साथ दुर्गा आराधना गरिन्छ । घर घरमा जमरा राख्नुको साथै टोल टोलमा भगवतीको प्रतिमा अर्थात मुर्ती बनाई दस दिनसम्म नै भव्य पुजा आराधना र भजन किर्तन गरिन्छ । नेपालीहरूको महान् चाडको रुपमा रहेको वडा दशैंको पहिलो दिन मिथिलाञ्चल सहित अन्य ठाउंमा समेत घरघरमा जमरा राखिन्छ ।

जमरा राख्नुपूर्व ग्रामिण भेकतिर रातो तथा कमेरोको माटोले र शहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने जन विश्वास रहिआएको छ ।  देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौं, गहुं तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने प्रचलन छ । जनकपुर टुडेमा समाचार छ ।

जमरालाई समृद्धिको प्रतीक मानिन्छ,त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेंलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गर्ने गरेको जनविश्वास रहिआएको छ । घटस्थापनाको पहिलो दिन झिसमिसेमै आत्माशुद्धि पछि नदी खोला, बगर अथवा आफूलाई पायक पर्ने स्थानबाट वालुवा या माटो ल्याई जमरा राखिन्छ । तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा जमरा राख्नुपूर्व पूजा कोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन छ । घटस्थापनाको अवसरमा जनकपुरको विभिन्न शक्तिपीठहरुमा विभिन्न कार्यक्रमको समेत सुरुवात भएको हो ।

दशैंभरिका लागि जनकपुरको राजदेवी मन्दिर, दुर्गा मन्दिर, काली मन्दिर लगायत विभिन्न शक्तिपीठहरुलाई नवदुल्ही जस्तै सजाइएको छ । महाविर युवा कमिटिले प्रत्येक बर्षझै राजा जनकका कुल देवी माता राजदेवीको मन्दिरलाई झकिझकाउ बनाएको छ भने यसपाली विशेष आकर्षणका लागि माता बैष्णो देवीको कृतिक गुफा समेत तयार गरेको हो । बाहिरबाट आउने पर्यटकहरुका लागि माता बैष्णोदेवीको गुफा निर्माण गरिएको जनाइएको छ ।

प्रकाशित मिति: Oct 1, 2016

प्रतिक्रिया दिनुहोस्